अनुभवी कार्डियोलोजिष्ट, सैनिक स्वास्थ्य सेवाको लामो अनुभव, अनुशासित पृष्ठभूमि, संस्थागत सुधार र नेतृत्वकर्ताको रुपमा चिकित्सा क्षेत्रमा बेग्लै पहिचान बनाएका प्रा. डा. देवेन्द्र बहादुर खत्री गत मंगलबार नेपाली चिकित्सा शिक्षाको शिखर संस्था चिकित्सा शिक्षा आयोगको कार्यकारी उपाध्यक्षमा नियुक्त भएका छन् । प्रा.डा. खत्री २२ वर्षदेखि मुटुरोग विशेषज्ञका रुपमा कार्यरत छन् । सैनिक स्वास्थ्य प्रशासक तथा नेतृत्वकर्ताका रुपमा उनको नेतृत्व कौशल नेपाली सेनाको वीरेन्द्र सैनिक अस्पतालको नेतृत्वदेखि स्वास्थ्य सेवा महानिर्देशक (डिजीएमएस)सम्म झल्किन्छ ।
त्यसबाहेक चिकित्सा शिक्षाविद्का रुपमा उनले सैनिक सेवामा रहँदा पनि बेग्लै छवि निर्माण गरेका छन् । वि.सं. २०६८ सालमा नेपाली सेना स्वास्थ्य विज्ञान संस्थान सञ्चालनमा आउँदा मेडिसिन विभागको सह—प्राध्यापकका रुपमा प्राध्यापन सुरु गरेका उनी त्यसयता निरन्तर चिकित्सा शिक्षाको उन्नयनका योगदान गरिरहेका छन् ।
नियमनकारी निकाय चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष भएपछि मिडियालाई पहिलो पटक प्रतिक्रिया दिदैं प्रा.डा. खत्रीले चिकित्सा शिक्षाको नियमनका लागि भूमिका निर्वाह गर्नु आफ्नो पहिलो कर्तव्य भएको बताए । ‘चिकित्सा शिक्षा आयोगको उपाध्यक्षका रुपमा समग्र चिकित्सा शिक्षाको नियमनका लागि निष्पक्ष र प्रभावकारी भूमिका निर्वाह गर्नु मेरो कर्तव्य हुनेछ,’ उनले हेल्थआवाजसँग भने, ‘यस क्रममा विश्वविद्यालय, प्रतिष्ठान, शिक्षण संस्थालगायतका स्टेकहोल्डरसँग परामर्श गरेर सबैको साझा प्रयत्नबाट गुणस्तरीय चिकित्सा शिक्षा सुनिश्चित गरिनेछ ।’

उपाध्यक्ष प्रा.डा. खत्रीले आगामी वर्षमा चिकित्सा शिक्षाका क्षेत्रमा इनोभेसनलाई प्राथमिकता दिने, कम्प्युटर प्रणालीमा आधारित व्यवस्थापन प्रणाली लागु गर्ने, अनुसन्धान र विकासमा जोड दिने, एजुकेशन इन्फर्मेसनको डिजटलाइजेसन गर्ने र भिडियो कन्फ्रेन्स सुरु गर्नेलगायतका कार्यहरु अगाडि बढाउने बताएका छन् । यसबाहेक ‘कम्पिटेन्सी वेस्ड’ मेडिकल एजुकेशनलाई निरन्तरता, कम्प्युटरमा आधारित सिकाई तथा परीक्षा लाई ग्राहयता तथा इन्टरप्रोफेसनल टिचिङलाई पनि महत्वका साथ अगाडि बढाउने उनले जानकारी दिए । ‘यी कार्यक्रम कार्यान्वयन गर्ने गरी बजेट तथा कार्यक्रम प्रस्तावित भइसकेको छ,’ उनले थपे ‘चिकित्सा शिक्षाका क्षेत्रमा विद्यमान असल अभ्यासहरुलाई थप विस्तार गर्ने मेरो सोच छ । टिमवर्कबाट यी कामहरु गर्न सकिनेमा विश्वस्त छु ।’
सबैभन्दा महत्वपूर्ण त उनले नेपालको चिकित्सा शिक्षालाई अन्तर्राष्ट्रिय मान्यताका लागि आवश्यक कार्यहरु गर्ने बताएका छन् । ‘त्यसका लागि वर्ल्ड फेडरेसन फर मेडिकल एजुकेशनको मान्यता प्राप्त गरी नेपालको चिकित्सा शिक्षालाई अन्तर्राष्ट्रिय मान्यता दिलाउने काम गर्नुपर्नेछ,’ उनले भने । लामो समय चिकित्सा शिक्षा र स्वास्थ्य सेवामा तल्लीन अनुभवी नेतृत्व पाएपछि प्रचुर सम्भावना बोकेको नेपाली चिकित्सा शिक्षा क्षेत्रले नयाँ उचाइ लिने अपेक्षा गरिएको छ ।
अधिकृत क्याडेटदेखि नेपाली सेना स्वास्थ्य सेवाको महानिर्देशकसम्म
काठमाडौंको बानेश्वरमा वि.सं. २०२० सालमा जन्मिएका हुन् प्रा.डा. खत्री । उनको प्रारम्भिक शिक्षादीक्षा आदर्श विद्या मन्दिर मानभवनबाट भएको हो । त्यहीबाट उनले वि.सं. २०३५ सालमा एलएलसी उत्तीर्ण गरेका हुन् । त्यसपछि विज्ञान पढ्न अस्कल गएका उनले वि.सं. २०३९ सालमा प्रबिणता प्रमाणपत्र तह उत्तीर्ण गरे ।
वि.सं. २०४० कात्तिकमा उनी अधिकृत क्याडेटका रूपमा नेपाली सेनामा भर्ना भएर सैनिक सेवाको थालनी गरेका हुन् । सैनिक सेवामा रहँदा शिक्षा मन्त्रालय अन्तर्गतको छात्रवृतिमा छनोट भई प्रा.डा. खत्री एमबीबीएस अध्ययनका लागि बंगलादेश गए । वि.सं. २०५० सालमा बंगलादेशबाट एमबीबीएस तथा इन्टर्नसिप तालिम सकेर स्वदेश फर्किएपछि उनी नेपाली सेना मेडिकल कोरमा श्री वीरेन्द्र सैनिक अस्पतालमा मेडिकल अधिकृतका रुपमा कार्यरत रहे ।
नेपाली सेनाको प्राविधिकतर्फको लामो सैनिक जीवनमा प्रा.डा. खत्री, मेडिकल कम्पनी कमाण्डर, युनिफिल लेबनानमा मेडिकल प्लाटुन कमाण्डर हुँदैं सन् २००४ मा उनले बंगलादेशस्थित नेशनल इन्स्टिच्युट अफ कार्डियोभास्कुलर डिजिजबाट कार्डियोलोजीमा पोष्ट ग्रजायुसन पूरा गरेपछि लामो समय वरिष्ठ मुटुरोग विशेषज्ञका रूपमा हजारौं बिरामीको उपचारमा सक्रिय रहे । यो अवधिमा बिरामीसँगै उनको संस्थागत जिम्मेवारी पनि बढ्दैं गयो । उनले कार्डियोलोजिष्ट, सिनियर कन्सल्ट्यान्ट कार्डियोलोजिष्ट, क्लिनिकल रजिष्ट्रार, सैनिक स्वास्थ्य सेवा उपमहानिर्देशक, वीरेन्द्र सैनिक अस्पताल प्रमुख हुँदै नेपाली सेनाको स्वास्थ्य सेवाको महानिर्देशक (डिजीएमएस)सम्मको जिम्मेवारीमा रहेर पूर्णतयाः व्यवसायिक उत्कृष्टता प्रदर्शन गरे ।
प्रा.डा. खत्री वीरेन्द्र सैनिक अस्पतालको नेतृत्व रहँदा कोभिड—१९ को महामारी सुरु भयो । कोभिड—१९ संकटमा नियन्त्रणमा पनि उनको टिमको भूमिका महत्वपूर्ण रह्यो । उनले क्वारेन्टिन, आइसोलेसन, कोभिड वार्ड, छुट्टै कोभिड आईसीयू, एचडीयू तथा पीसीआर प्रयोगशालाको स्थापना र सञ्चालनमा निर्णायक भूमिका निर्वाह गरे । ‘सैनिक र सर्वसाधारण दुवैका लागि उपचार प्रणाली विस्तार गर्दै महामारी नियन्त्रणमा प्रभावकारी काम गर्न सक्यौं,’ उनले भने । उनकै नेतृत्वमा राष्ट्रिय कोभिड अस्पताल स्थापनामा सहकार्य भयो भने महामारीका बेला आवश्यक स्वास्थ्य सेवा, तालिम, खोप व्यवस्थापन तथा स्वास्थ्य मापदण्ड निर्माणमा उल्लेखनीय कामहरु भए ।
संयुक्त राष्ट्रसंघीय शान्ति मिसन दौरान प्रा.डा. खत्रीले सुडानस्थित युनामिड, डार्फरमा फोर्स मेडिकल अफिसरको जिम्मेवारीमा मेडिकल नेतृत्व प्रदान गर्दै नेपालको सैनिक स्वास्थ्य सेवाको प्रतिष्ठा अन्तर्राष्ट्रियस्तरमा उच्च राखेका छन् । उनको नेतृत्वमा अन्डफ सिरिया र अनमिल लिबियामा नेपालको लेवेल १ प्लस अस्पतालको स्थापना भएको थियो भने तत्कालीन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँगको सहकार्यमा महोत्तरीमा ऐतिहासिक स्वास्थ्य शिविर सम्पन्न भएको थियो । उक्त स्वास्थ्य शिविरबाट ३४ हजार गरिब तथा असहाय नागरिक लाभान्वित भएका थिए भने ३५० वटा मेजर शल्यक्रिया गरिएको थियो ।
यतिमात्र होइन् प्रा.डा. खत्रीले नेपाली सेनाको स्वास्थ्य सेवा महानिर्देशक जिम्मेवारीमा रहँदा नेपाली सेनाभित्र स्वास्थ्य सेवा विस्तारलाई नयाँ गति दिए । देशका विभिन्न स्थानमा तीन वटा ५० शय्याका कमाण्ड अस्पताल तथा तीन वटा २५ शय्याका फिल्ड अस्पताल स्थापना, वीरेन्द्र अस्पतालमा क्याथ ल्याब, हेमोडायलाइसिसको थप सेवा, एचडीयू सेवा सञ्चालन तथा नागरिक–सैनिक स्वास्थ्य सहकार्यलाई सुदृढ बनाउने कार्य उनकै नेतृत्वमा सम्पन्न भएका हुन् । उनले लामो समयदेखि थाँती रहेका प्रशासनिक तथा स्वास्थ्य व्यवस्थापन सम्बन्धी समस्या समाधान गर्दै संस्थागत सुधार, नीति निर्माण तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउन विशेष योगदान दिए ।
चिकित्सा शिक्षा बुझेका उपाध्यक्ष
सैनिक अस्पताल र स्वास्थ्य सेवा महानिर्देशकका रुपमा नेपाली सेनाको समग्र स्वास्थ्य सेवाको सफल नेतृत्वसँगै प्रा.डा. खत्री चिकित्सा शिक्षामा पनि उत्तिकै सक्रिय व्यक्तित्व हुन् । वि.सं. २०६८ मंसिरदेखि मेडिसिन विभागका सह—प्राध्यापकका हैसियतमा नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानमा अध्यापन सुरु गरेका उनी २०७५ असोजमा प्राध्यापक भएर हालसम्म अध्यापन कार्यमा संलग्न थिए ।
सबैभन्दा उच्च प्राज्ञिक पद प्राध्यापक भएर शैक्षिक कमाण्ड सम्हालेका उनले नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानमा लामो समय स्नातक तथा स्नातकोत्तर तहमा विद्यार्थीहरुको पठन पाठन गरेका हुन् । उसो त प्रा.डा. खत्रीले नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानअन्तर्गत चिकित्साशास्त्र महाविद्यालयको प्राचार्यको भूमिका सफलतापूर्वक निर्वाह गरिसकेका छन् ।
प्रा.डा. खत्रीले मेडिकल तालिमहरुका अलवा स्वास्थ्य शिक्षा तथा नेतृत्व विकास सम्बन्धी फेमर फेलोसीप, व्यवस्थापनसँग सम्बन्धित तालिमहरु गरेका छन्, जसमध्ये हाइयर कमाण्ड एण्ड म्यानेजमेन्ट, लिडरसीप एण्ड म्यानेजमेन्ट, एडभान्स कोर्स अन नेशनल सेक्युरिटी प्रमुख हुन् ।
सोसाइटी अफ इन्टरनल मेडिसिन, नेपाल कार्डियाक सोसाइटी, नेपाल हार्ट फाउण्डेसनका आजीवन सदस्य रहेका उनी साउथ इष्ट एसिया रिजनल एशोसिएसन फर मेडिकल एजुकेशनमा पनि आजीवन सदस्य हुन् । आफ्नो लामो सरकारी सेवाका अवसरमा प्रा.डा. खत्री उत्कृष्ट सेवा र नेतृत्वका लागि प्रधानसेनापति प्रशंसा पदक, रक्षा मन्त्रालयबाट सम्मान तथा राष्ट्रपतिबाट सुप्रबल जनसेवा श्री लगायतका सम्मानबाट विभूषित भएका छन् ।
चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा नियुक्त हुनुअघि प्रा.डा. खत्री पछिल्ला तीन वर्षदेखि नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानको कार्यकारी निर्देशकको भूमिकामा थिए, जहाँ उनले चिकित्सा शिक्षा, अनुसन्धान, अस्पताल सेवा तथा संस्थागत व्यवस्थापनलाई नयाँ उचाइमा पुर्याए ।