‘मैले त क्यान्सर लागेदेखि चामलको दाना मुखमा हालेको छैन ।’
‘मैले यस्तो गरेर जुस बनाएर मात्रै पिएको छु ।’
‘फलफुलभन्दा उता केहि खाएको छैन, त्यस्तो डाइट गरिदैंछ ।’
‘कहिले काहीँ कोक खानु हुन्छ कि हुँदैन ?’
क्यान्सरका बिरामीहरुलाई उपचार गर्दा उहाँहरुको विशेष जिज्ञासा सधैँ खानासँगैं जोडिने गरेको हुन्छ । नहोस पनि किन, आखिर खानाले हाम्रो आम-दैनिकी, सभ्यता र सामाजिक परिवेश सबैमा विशेष महत्व राख्छ । अरुबेला जे जसो गरे नि रोग लागे पश्चात हामी पनि खानापानलाई लिएर सजग हुन्छौँ ।
तर, क्यान्सरका बिरामीको सन्दर्भमा भने वरिपरिका मान्छेहरुले आफ्नो अनुभव र दक्षताभन्दा बाहिर गई खानकीबारे अनेक भ्रान्ति फैलाएको अनुभव बिरामीहरुका अजीव टिका टिप्पणी सुन्दा भइराख्छ । आज यो लेखको माध्यमबाट त्यसकै चर्चा गर्नेछौँ ।
थेरापीको बेला खानपान किन महत्त्वपूर्ण छ?
क्यान्सर उपचार आफैँमा एउटा लामो यात्रा हो । यस अवस्थामा बिरामीलाई बलियो बनाउन, उपचारको साइड इफेक्टसँग लड्न र रोग प्रतिरोधात्मक क्षमता बढाउन खानपानले निकै महत्त्वपूर्ण भूमिका खेल्छ ।
किमोथेरापी, रेडियोथेरापी वा अन्य क्यान्सर उपचारका कारण बिरामीको शरीरका स्वस्थ कोषहरूमा पनि असर पर्न सक्छ । यसले गर्दा भोक नलाग्ने, मुखमा घाउ हुने, स्वाद बिग्रने, वाकवाकी लाग्ने र तौल घट्ने समस्या देखिन्छ । यस्तो अवस्थामा शरीरलाई पर्याप्त ऊर्जा, प्रोटिन र भिटामिनको आवश्यकता पर्छ । पोषिलो आहारले शरीरको प्रतिरोधी क्षमता (इम्युनिटी) बढाउँछ, उपचारको असर सहने शक्ति प्रदान गर्छ र छिटो निको हुन मद्दत गर्छ।
यो बेलामा अपनाउनुपर्ने स्वास्थ्य खानपानका बानीहरु के-के हुन ?
– शरीरका तन्तुहरूको मर्मतका लागि दाल, अन्डा, माछा, कुखुराको मासु, गेडागुडी , भटमास्, पनिरजस्ता प्रोटिनयुक्त खानाहरु खाने ।
– रोग प्रतिरोधात्मक क्षमता कमजोर भएकाले ब्याक्टेरिया र अन्य किटाणुको संक्रमणबाट बच्न सधैं ताजा, राम्ररी पाकेको र सफा खानेकुरा मात्र खाने ।
– अझै उपचारका क्रममा केमोले सेतो रक्तकोष (WBC) घट्ने हुँदा संक्रमणको जोखिम उच्च हुनाले बासी खाना, काँचो सलाद, बाहिरको खुला खानेकुरा, नउमालेको दूध वा काँचो पनिर नखाने ।
– फलफुलहरु खाँदा बोक्रा मजाले निकालेर वा तासेर मात्र खाने ।
– रोग लाग्नु अगाडिको जस्तो भोक नलाग्ने हुँदा एकै पटक धेरै खानुको सट्टा दिनमा ५–६ पटक थोरै-थोरै मात्रामा पौष्टिक खाना खाने ।
– डिहाइड्रेशन (पानीको कमी) बाट बच्न पर्याप्त मात्रामा पानी, नरिवल पानी, ताजा फलफूलको रस र झोलिलो सुप पिउने ।
– केमो वा रेडियोथेरापीका कारण मुख र घाँटीमा घाउ आउँदा पिरो, अमिलो, धेरै तातो वा कडा खानेकुराले पोल्न सक्ने हुँदा यस्तो अवस्थामा नरम खिचडी, लिटो, मिचेको आलु, दही, केराजस्ता निल्न सजिलो हुने खानेकुरा दिने ।
– बजारमा पाइने महँगा पाउडर वा हर्बल औषधिहरूको सट्टा हाम्रै भान्सामा उपलब्ध हुने कोदो, फापर, गहुँको सातु, हरिया सागसब्जी, मौसमअनुसारका फलफूल र ड्राइ फ्रुट्स (ओखर, बदाम, किसमिस)जस्ता सर्वोत्तम पोषण ग्रहण गर्ने बानी बसाल्ने ।
– बजारमा पाइने प्रोसेस गरिएका खानेकुरा, सोडाजन्य पेय पदार्थ, प्याकेटका खानेकुरा, जाड्ँरक्सी, चुरोट बिडी नखाने ।
खानपान सम्बन्धी पभ्रम र यथार्थ:
भ्रम : क्यान्सरका बिरामीहरुले चिनी खानु हुँदैन् तर सक्खर र महा जति खाए नि हुन्छ ।
यथार्थ: यो एउटा ठूलो भ्रम हो । चिनीले सिधै क्यान्सर बढाउँछ भन्ने कुनै वैज्ञानिक प्रमाण छैन । क्यान्सरका कोषिकाहरु आफैँमा छिटो बढ्छन र त्यसको लागि थप उर्जा चाहिन्छ ।
सो कामको लागि उक्त कोषिकाहरुले ग्लुकोज पचाउने प्रणालीमा हेरफेर गर्छन् । हामीले खाने सबै खानाहरुबाटै टुक्रेर ग्लुकोज (glucose) बन्ने हो । त्यसैले चिनी खाएर सिधै क्यान्सर बढ्ने होइन् बरु प्रशोधित चिनीहरुले मोटोपन बढाउने र इन्सुलिन (insulin) को मात्रा हेरफेर गर्ने हुँदा त्यसको मात्रा कम गर्नु भनिएको हो । यसका साथै सक्खर र मह खाँदा पनि त्यसको मात्रा नियन्त्रण गरेर मात्र खाँदा उचित हुन्छ ।
भ्रम: शाकाहारी खाना मात्र खानुपर्छ, माछा-मासुले क्यान्सर बल्झाउँछ ।
यथार्थ: क्यान्सर बिरामीलाई प्रोटिनको अति आवश्यकता हुन्छ । यदि बिरामीले मांसाहारी भोजन पचाउन सक्छन् भने स्वच्छ तरिकाले पकाएको माछा, अन्डा र कुखुराको मासु खानु निकै लाभदायक हुन्छ । दाल, गेडागुडी र पनिरबाट मात्रै पर्याप्त प्रोटिन पाउन कठिन हुन सक्छ । चिकित्सक वा पोषणविद्को सल्लाहमा राम्ररी पाकेको माछा, कुखुराको मासु र अन्डा खानु बिरामीको शरीर बलियो बनाउन र मांसपेशीको क्षय (Cachexia) रोक्न सकिन्छ ।
भ्रम : घरेलु जडिबुटी वा फलफूलको रसले मात्र क्यान्सर निको पार्छ।
यथार्थ: धेरै मानिसहरू चिकित्सकको सल्लाहबिना विभिन्न जडिबुटी वा चमत्कारिक दाबी गरिने जुसहरू मात्र सेवन गर्छन् । यसले थेरापीको औषधिसँग प्रतिक्रिया (Drug Interaction) गरेर साइड इफेक्ट बढाउन सक्छ । तसर्थ, कुनैपनि नयाँ आहार वा सप्लिमेन्ट सुरु गर्नुअघि चिकित्सकको सल्लाह लिनै पर्छ । प्राकृतिक तरिकाले रोग निको पार्ने भन्ने होडबाजीमा बिरामीहरु जडिबुटीमा लागि आफ्नो चलिरहेको उपचार भङ्ग गरी पछि उल्टै रोगको स्टेज बढाएर आउने गरेको कतिपयलाई हामीले उपचारको सिलसिलामा भेट्ने गरेका छौँ ।
भ्रम : केमोथेरापी चलिरहेको बेला खाएको खानेकुराले क्यान्सरका कोषहरूलाई नै बल दिन्छ, त्यसैले कम खाए वा भोकै बसे हुन्छ ।
यथार्थ: यो सबैभन्दा खतरनाक भ्रम हो । खाना छोड्दा वा भोकै बस्दा क्यान्सर मर्दैन, बरु त्यसले आफ्नै शरीरको अरु स्वास्थ्य कोषिकाहरुलाई समेत उर्जा पुर्याउन नसकेर कमजोर बनाँउछ । अझै क्यान्सरले गर्दा हुने माशंपेशी क्षय, कमजोरी र घट्दो रोग प्रतिरोधात्मक क्षमताले उस्तै अवस्थामा बिरामीलाई केमोको डोज पुरै लिन समेत गाह्रो हुन सक्छ । थप उपचारको विषाक्ततासँग लड्न र स्वस्थकोषहरूको पुनर्निर्माणका लागि पनि बिरामीलाई भरपूर क्यालोरी र प्रोटिनयुक्त आहार दिनुपर्छ ।
भ्रम : क्यान्सरको उपचार गरुन्जेल दुध र दुधजन्य पदार्थ खानै हुँदैन् ।
यथार्थ: क्यान्सर उपचार गर्दा दुध र दुधजन्य पदार्थ बार्नुपर्छ भन्ने धारणा भ्रम मात्रै हो । केमो वा रेडिएसन गर्दा कहिलेकाहीँ अस्थायी रुपमा यस्ता परिकार पचाउन गाह्रो हुन सक्छ । यसका साथै यी खाद्य सामाग्री राम्ररी नबनाएमा सक्रंमणको जोखिम हुने हुँदा केही समय सावधानी अप्नाउनुपर्छ तर पूर्ण रुपमा बार्ने भन्ने चाहिँ होइन् ।
पहिला रोग नलागुन्जेल अन्धाधुन्ध जे पनि खाने हामी रोग लागेपछि खाना नै औषधि हो भनि भयभरको परिवर्तन खानामै गर्न खोज्छौँ । तर, यो सब पहरेजहरु रोग लाग्नु अघि गर्ने कुरा हुन् । रोग लागिसकेपछि अचानाक खान पिनमा एक्कासी परिवर्तन गरी धेरै अवरोध लगाउँदा बिरामीले अझै बिमार भएको महसुस गर्नुका साथै खानपानमा रुची समेत गुमाउने र त्यसले थप समस्या निम्ताउने देखिएको छ । छोट्करीमा भन्नुपर्दा आफैले घरमा बनाएको र आफुलाई पच्ने स्वच्छ र सरल खाना खान डराउनु पर्दैन् । धेरै कुरा जान्दा जान्दै पनि कहिलेकाहीँ उत्पन्न हुने दुविधाहरुका लागि आफ्नो चिकित्सक र पोषणविदसँग सल्लाह लिनु उचित हुन्छ ।
(डा. ओली हाल विराट टिचिङ्ग अस्पतालमा क्यान्सर रोग विभागमा मेडिकल अधिकृत हुन् ।)