नेपालीहरूको महान् चाड विजयादशमी अर्थात् दशैँ र उज्यालोको पर्व तिहारको रौनक सुरु भइसकेको छ । यतिबेला घरपरिवार, आफन्त र इष्टमित्रसँग भेटघाट गर्ने, टीका–जमरा लगाउने, आशीर्वाद लिने, देउसी–भैलो खेल्ने र मिठामिठा परिकारको स्वाद लिने चलन छ । टाढा रहेका परिवारका सदस्यहरू घर फर्कने र वर्षौंपछि आफन्तसँग भेट हुने भएकाले यी पर्वले हाम्रो जीवनमा विशेष खुसी र आत्मीयता थप्छन् ।
दशैँ–तिहारमा नेपाली भान्साको आफ्नै मौलिकता छ । सेलरोटी, खसीको मासु, चिउरा, अचार, खीर, मिठाई, फलफूल तथा विभिन्न परम्परागत परिकारले पर्वलाई अझ स्वादिलो बनाउँछन् । तर, चाडपर्वको रमाइलोमा खानपानको मात्रा, पोषण र स्वास्थ्यलाई बेवास्ता गर्दा अपच, ग्यास्ट्रिक, कब्जियत, तौल वृद्धि तथा रगतमा चिनी र बोसोको मात्रा बढ्ने समस्या आउन सक्छ । त्यसैले स्वादसँगै स्वास्थ्यलाई पनि प्राथमिकता दिनु आवश्यक छ ।
चाडपर्वमा कस्तो खानपान अपनाउने
१. सन्तुलित भोजनलाई प्राथमिकता दिऔँ
दशैँमा मासु र तारेका परिकार बढी खाने चलन छ । मासु खानै हुँदैन भन्ने होइन तर मात्रा मिलाएर खानुपर्छ । सम्भव भएसम्म बोसो कम भएको मासु रोजौँ । खानामा दाल, सागसब्जी, सलाद र अन्य पौष्टिक खानेकुरा पनि समावेश गरौँ । भात, रोटी वा चिउरा, प्रोटिन र तरकारीको सन्तुलन मिलाऔँ ।
२. सेलरोटी, मिठाइ र गुलियो खानेकुरा सीमित गरौँ
सेलरोटी र मिठाइ नेपाली संस्कृतिका स्वादिला परिकार हुन्। तर धेरै तेल, चिनी र घिउ भएका खानेकुरा पटकपटक धेरै मात्रामा खाँदा अतिरिक्त क्यालोरी शरीरमा जम्मा हुन सक्छ । स्वादका लागि खानुहोस् तर मात्रा र आवृत्तिमा ध्यान दिनुहोस् । मधुमेह भएका व्यक्तिले विशेष सावधानी अपनाउनुपर्छ ।
३. मासु र चिल्लो खानेकुरा सोचविचार गरेर खाऔँ
खसीको मासुमा प्रोटिन र अन्य पोषक तत्त्व पाइन्छन् तर बोसोयुक्त मासु धेरै खाँदा स्याचुरेटेड फ्याटको मात्रा बढ्न सक्छ । मासुको बोसो घटाएर पकाउने, कम तेल प्रयोग गर्ने र एकैपटक धेरै मासु नखाने बानी बसालौँ । उच्च कोलेस्ट्रोल वा मुटु सम्बन्धी समस्या भएका व्यक्तिले आफ्नो स्वास्थ्यअनुसार खानपान मिलाउनु राम्रो हुन्छ ।
४. फलफूल र हरियो सागसब्जी नबिर्सौँ
चाडपर्वमा मासु, चिउरा र मिठाइमा बढी ध्यान जाँदा फलफूल र तरकारी कम खाने बानी हुन सक्छ । स्याउ, सुन्तला, अम्बा, मेवा तथा मौसमी फलफूल र हरियो सागसब्जीले फाइबर, भिटामिन र खनिज तत्त्व उपलब्ध गराउँछन् । हरेक मुख्य भोजनमा तरकारी वा सलाद समावेश गर्ने प्रयास गरौँ ।
५. पर्याप्त पानी पिऔँ
चाडपर्वमा पाहुना सत्कार र रमाइलोमा व्यस्त हुँदा पानी पिउन बिर्सन सक्छौँ । शरीरलाई आवश्यकताअनुसार नियमित पानी पिऔँ । अत्यधिक गुलियो पेय पदार्थ र चिनी मिसाइएका पेयको सट्टा सादा पानी रोज्नु राम्रो हुन्छ ।
खानपानको सरसफाइ र सुरक्षित भोजन
चाडपर्वमा धेरै परिकार एकैपटक पकाउने र लामो समयसम्म राख्ने चलन हुन्छ । यसले खानाबाट हुने संक्रमणको जोखिम बढाउन सक्छ ।
- मासु राम्ररी पकाएर मात्र खाऔँ ।
- काँचो मासु र पाकेको खानालाई छुट्टाछुट्टै राखौँ ।
- पकाएको खाना कोठाको तापक्रममा लामो समयसम्म नराखौँ । बाँकी खाना समयमै फ्रिजमा राखौँ ।
- सफा पानी प्रयोग गरौँ र खाना खानुअघि तथा पकाउनुअघि साबुनपानीले हात धोऔँ ।
- बासी, दुर्गन्ध आएको वा बिग्रिएको शङ्का भएको खाना नखाऔँ ।
चाडपर्वमा शारीरिक गतिविधि पनि आवश्यक छ
दशैँ–तिहारमा लामो समय बसेर खाने, गफ गर्ने र आराम गर्ने बानी बढ्न सक्छ । तर, शरीरलाई सक्रिय राख्नु पनि उत्तिकै महत्त्वपूर्ण छ ।
- भोजनपछि सहज महसुस हुने गरी १०–१५ मिनेट हल्का हिँडौँ ।
- परिवारसँग बिहान वा साँझ पैदल हिँड्ने बानी बसालौँ ।
- बालबालिकासँग खेलौँ र पारिवारिक गतिविधिमा सहभागी बनौँ ।
- नियमित व्यायाम गर्ने व्यक्तिले आफ्नो क्षमता र स्वास्थ्यअनुसार व्यायामलाई निरन्तरता दिऔँ ।
- पर्याप्त निद्रा र आरामलाई पनि महत्त्व दिऔँ ।
- चाडपर्वमा रमाइलो गर्न व्यायाम पूर्ण रूपमा छोड्नु पर्दैन् । सामान्य दिनचर्या कायम राख्नु नै पर्याप्त सहयोगी हुन सक्छ ।
विशेष स्वास्थ्य अवस्था भएका व्यक्तिले के ध्यान दिने
मधुमेह, उच्च रक्तचाप, उच्च ट्राइग्लिसराइड, कोलेस्ट्रोल, मिर्गौला वा मुटुसम्बन्धी समस्या भएका व्यक्तिले चाडपर्वको खानपानमा थप सावधानी अपनाउनुपर्छ ।
– मधुमेह भएका व्यक्तिले गुलियो खानेकुरा र कार्बोहाइड्रेटको मात्रा मिलाउनुपर्छ ।
– उच्च रक्तचाप भएका व्यक्तिले नुनिलो अचार, चिप्स र अत्यधिक नुन भएका परिकार सीमित गर्नुपर्छ ।
– कोलेस्ट्रोल वा ट्राइग्लिसराइड बढी भएका व्यक्तिले अत्यधिक चिल्लो, तारेको खाना, गुलियो पेय र धेरै परिष्कृत कार्बोहाइड्रेट सेवन कम गर्नुपर्छ ।
– नियमित औषधि सेवन गर्ने व्यक्तिले पर्वका कारण औषधि छुटाउनु हुँदैन् ।
आफ्नो स्वास्थ्य अवस्था र चिकित्सकको सल्लाहअनुसार खानपानमा परिवर्तन गर्नु सबैभन्दा उपयुक्त हुन्छ ।
स्वस्थ चाडपर्वको अर्थ स्वाद त्याग्नु होइन्
हामीले बुझ्नुपर्ने मुख्य कुरा के हो भने स्वस्थ रहनका लागि आफ्ना परम्परागत परिकार त्याग्नु पर्दैन । हाम्रो संस्कृति, पारिवारिक आत्मीयता र खानाको स्वादलाई जोगाउँदै स्वस्थ विकल्प रोज्न सकिन्छ । कम तेलमा पकाउने, परिकारको मात्रा मिलाउने, तरकारी र फलफूल थप्ने तथा खाना खाँदा हतार नगर्ने जस्ता साना बानीले ठूलो फरक पार्न सक्छन् ।
दशैँ–तिहारको वास्तविक खुसी महँगो भोज वा धेरै खाना खानुमा मात्र छैन । परिवारसँग बिताएको समय, ज्येष्ठ नागरिकबाट प्राप्त आशीर्वाद, बालबालिकाको हाँसो, आफन्तसँगको भेटघाट र एकअर्काप्रतिको माया नै यी पर्वका वास्तविक सम्पत्ति हुन् ।
दशैँ–तिहारले हामीलाई एकता, सद्भाव, प्रेम, सम्मान र पारिवारिक सम्बन्धको महत्त्व सिकाउँछन् । यी अमूल्य सांस्कृतिक परम्परालाई स्वस्थ जीवनशैलीसँग जोड्न सक्यौँ भने हाम्रो चाडपर्व अझ सुखद र अर्थपूर्ण बन्न सक्छ।