२०८३ मंसिर ३, बिहिवार
Health Aawaj logo
गृहपृष्ठ ∕ अन्तर्वार्ता / विचार ∕ डा. चन्द्रभाल झा भन्छन्, ‘कोशी अस्पतालमा ६ महिनाभित्रै मिर्गौला प्रत्यारोपण सेवा सुरु हुन्छ’

डा. चन्द्रभाल झा भन्छन्, ‘कोशी अस्पतालमा ६ महिनाभित्रै मिर्गौला प्रत्यारोपण सेवा सुरु हुन्छ’


कोशी प्रदेशको सबैभन्दा ठूलो सरकारी अस्पताल हो—विराटनगरस्थित कोशी अस्पताल । कोशी प्रदेश र मधेश प्रदेशसहित छिमेकी मुलुक भारतसम्मका बिरामीहरू उपचारका लागि कोशी अस्पतालमा आउने गर्छन् । अस्पतालले अबको ६ महिनाभित्रै मिर्गौला प्रत्यारोपण (किड्नी ट्रान्सप्लान्ट) सेवा सुरु गर्ने तयारीका साथ काम अगाडि बढाएको छ । यसका लागि आवश्यक दक्ष जनशक्ति तयार पार्नुका साथै प्रत्यारोपणमा खटिने नर्सिङलगायतका स्वास्थ्यकर्मीहरूलाई आवश्यक तालिमका लागि सहिद धर्मभक्त माथेमा राष्ट्रिय प्रत्यारोपण केन्द्रमा समेत पठाइसकिएको छ । मिर्गौला प्रत्यारोपणको तयारी र अस्पतालको वर्तमान अवस्थाका विषयमा केन्द्रित रहेर कोशी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. चन्द्रभाल झासँग हेल्थआवाजका लागि अनिल श्रेष्ठले गरेको विस्तृत कुराकानी :

कोशी अस्पतालमा अब मिर्गौला प्रत्यारोपण सेवा सुरु गर्ने विषयमा के–कस्तो तयारी भइरहेको छ ?
हामीले कोशी अस्पतालमा मिर्गौला प्रत्यारोपण सेवा सुरु गर्नका लागि तीव्र रूपमा तयारी गरिरहेका छौँ । यसका लागि अस्पतालमा ट्रान्सप्लान्ट सम्बन्धी विभिन्न कमिटीहरू निर्माण गरिसकेका छौँ । मिर्गौला प्रत्यारोपण केन्द्रमा तालिम लिनका लागि हाम्रा स्टाफ नर्स तथा ट्रान्सप्लान्टसँग सम्बन्धित जनशक्तिलाई पठाउने काम भइरहेको छ । तालिमका लागि उताबाट पत्रसमेत आइसकेको अवस्था छ । यस काममा स्वास्थ्य मन्त्रालय र स्वयं स्वास्थ्यमन्त्री निशा मेहताज्यूको पनि विशेष सक्रियता रहेको छ । अब अस्पताललाई ट्रान्सप्लान्ट सेन्टरका रूपमा संस्था दर्ता गर्ने प्रक्रिया अगाडि बढाउँदै छौँ । संस्था दर्ता गरेर जतिसक्दो चाँडो मिर्गौला प्रत्यारोपण सेवा सुरु गर्ने हाम्रो योजना रहेको छ ।

प्रत्यारोपण सेवा सुरु गर्नका लागि अहिलेसम्म के–कस्ता तयारी र जनशक्तिको व्यवस्था भइसकेको छ ?
सबैभन्दा प्रमुख कुरा दक्ष जनशक्ति अर्थात् म्यानपावर हो । हामीसँग अहिले प्रत्यारोपणका लागि आवश्यक पर्ने युरो सर्जन उपलब्ध हुनुहुन्छ । त्यस्तै, यस सेवाका लागि आवश्यक पर्ने फिजिसियन अर्थात् डिएम नेफ्रोलोजिस्ट पनि हामीसँग हुनुहुन्छ । हाम्रो टिममा डा. गौरव क्षेत्री, डा. पुरुषोत्तम पराजुली र डा. सुनिल रेग्मीलगायतका चिकित्सकहरू रहनुभएको छ । उहाँहरू टिमकै रूपमा काम गरिरहनुभएको छ ।

प्रत्यारोपणका लागि चिकित्सकसँग विशेष अनुभवलगायत लाइसेन्स पनि आवश्यक पर्छ, त्यो जनशक्ति कोशीमा उपलब्ध छ ?
हो, मिर्गौला प्रत्यारोपण शल्यक्रिया गर्नका लागि सामान्य सर्जन मात्रै भएर पुग्दैन् । त्यसका लागि मान्यताप्राप्त ट्रान्सप्लान्ट सेन्टरमा काम गरेको अनुभवसहितको विशेष लाइसेन्स प्राप्त भएको हुनुपर्छ । हामीसँग त्यस्तो लाइसेन्स प्राप्त जनशक्ति पनि हुनुहुन्छ । डा. पुरुषोत्तम पराजुलीसँग मिर्गौला ट्रान्सप्लान्टको लाइसेन्स छ । त्यसैगरी, डा. गौरव क्षेत्री पनि लाइसेन्स लिने प्रक्रियामा हुनुहुन्छ ।

जनशक्तिबाहेक पूर्वाधार र स्थानको व्यवस्थापन कसरी गर्दै हुनुहुन्छ ?
हामी कहाँ जहिले पनि मुख्य अभाव भनेको स्थान वा ठाउँकै हुने गर्छ । तर, अहिले पनि हामीले त्यसको विकल्प खोजेका छौँ । अस्पताल परिसरमा रहेको आँखा अस्पताल उता सरेपछि खाली हुने आँखा विभागका अप्रेसन थिएटर (ओटी) तथा त्यहाँकै ठाउँमा मिर्गौला प्रत्यारोपण सेवालाई विस्तार गर्ने हाम्रो योजना छ । अहिले हामी यस विषयमा व्यापक गृहकार्य गरिरहेका छौँ । नियमित रूपमा बैठकहरू बसिरहेका छन् र प्रत्यारोपण सम्बन्धी प्रशासनिक तथा प्राविधिक प्रक्रियाहरू सुरु भइसकेका छन् । स्वास्थ्य मन्त्रालयले पनि यसमा अत्यन्तै चासो दिइरहेको छ । मन्त्रीज्यू आफैँले पनि मलाई दुई–तीन पटक फोन गरेरै यो सेवा छिटो सुरु गर्नुस् भन्नुभएको छ । त्यसैले पनि हामी यसमा एकदमै गम्भीरतापूर्वक लागिरहेका छौँ ।

प्रत्यारोपण केन्द्रका रूपमा सरकारी स्वीकृति लिनका लागि प्रक्रिया कहाँ पुगेको छ नि ?
स्वीकृति लिने प्रक्रिया पनि सँगसँगै अगाडि बढिरहेको छ । यसका लागि कानुनबमोजिम केही दस्तुरहरू तिर्नुपर्ने हुन्छ । हामीले अस्पताल विकास समितिको बैठकबाट उक्त प्रस्ताव पास गराएर स्वास्थ्य सेवा विभागमा पठाउने तयारी गरेका छौँ । त्यसपछि विभागबाट अनुगमन टोली आउनुहुन्छ । अनुगमन र स्वीकृतिको त्यो पाटो स्वाभाविक रूपमै पूरा भइहाल्छ । हामी त्यसतर्फको प्रक्रियामा पनि निरन्तर लागिरहेका छौँ ।

अबको कति समयभित्र कोशी अस्पतालमा मिर्गौला प्रत्यारोपण सेवा सुरु हुन्छ ?
हामीले यो सेवा सुरु गर्नका लागि तीनदेखि ६ महिनाको समयसीमा राखेका छौँ । किनभने जनशक्तिलाई तालिममा पठाउनुपर्ने हुन्छ । विशेषगरी अप्रेसन थिएटर (ओटी) मा खटिने नर्सिङ स्टाफलाई तालिमको खाँचो छ । हामीसँग दक्ष चिकित्सकहरू भए पनि नर्सिङ जनशक्ति भने ट्रान्सप्लान्टसम्बन्धी तालिमप्राप्त हुनुहुन्न । एक जनाले मात्र तालिम लिएर नपुग्ने भएकाले सहिद धर्मभक्त ट्रान्सप्लान्ट सेन्टरमै पठाएर उहाँहरूलाई तालिम दिलाउने काम भइरहेको छ । यसका लागि हामीले आन्तरिक रूपमा सूचना नै जारी गरेर खुला गरेका थियौँ । अस्पतालकै स्टाफहरू जो–जो इच्छुक हुनुहुन्छ, उहाँहरूलाई आवेदन दिन नोटिस दिएका थियौँ ।

इच्छुक नर्सिङ जनशक्तिलाई तालिमका लागि पठाइसक्नुभएको छ कि पठाउने क्रममा हुनुहुन्छ ?
हामीले केही नर्सिङ स्टाफलाई तालिमका लागि पठाइसकेका छौँ । अहिलेलाई चिकित्सक होइन, नर्सिङ जनशक्तिलाई नै पठाइएको हो । अन्य थप केही स्टाफलाई पनि पठाउने क्रममै छौँ ।

प्रत्यारोपण सेवा सञ्चालनका लागि त्यस्तो तालिमप्राप्त नर्सिङ जनशक्ति कति जना आवश्यक पर्छ ?
कम्तीमा पनि चारदेखि पाँच जना तालिमप्राप्त नर्सिङ जनशक्ति त न्यूनतम रूपमा चाहिन्छ नै । त्यहीअनुसार हामीले पठाउने क्रमलाई निरन्तरता दिएका छौँ । तीनदेखि छ महिनाको अवधिमा उहाँहरू तालिम लिएर दक्ष भई फर्किसक्नुहुन्छ । यता हामीले अन्य भौतिक तथा प्राविधिक व्यवस्थापनका कामहरू गर्दै जानेछौँ । प्रक्रियाहरू अगाडि बढिसकेका छन् । हामीले एउटा ह्वाट्सएप ग्रुप नै बनाएर नियमित संवाद र व्यापक बैठकहरू गरिरहेका छौँ । भौतिक रूपमै पनि बैठकहरू बसिरहेका छन् भने अनौपचारिक रूपमा पनि समन्वय भइरहेको छ । केन्द्रमा स्वास्थ्य मन्त्रीज्यू र ट्रान्सप्लान्ट सेन्टरका निर्देशकज्यूसँग पनि निरन्तर कुराकानी भइरहेको छ । त्यसैले अबको तीनदेखि छ महिनाभित्र यो सेवा सुरु हुन्छ भन्नेमा हामी विश्वस्त छौँ ।

सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र र मन्त्रालयबाट चाहिँ कस्तो प्रतिक्रिया र सहयोग पाइरहनुभएको छ ?
एकदमै सकारात्मक प्रतिक्रिया र सहयोग मिलिरहेको छ । स्वयं स्वास्थ्य मन्त्रीज्यू नै सक्रिय भएर लाग्नुभएपछि सबै निकाय सकारात्मक भएका छन् । ट्रान्सप्लान्ट सेन्टरका निर्देशकज्यूले नै मलाई आफैँ फोन गरेर तालिमका लागि मान्छे पठाइदिनुस् भन्नुभयो । हामीले नाम पठाएकै दिन उहाँहरूले तुरुन्तै तालिमको व्यवस्था मिलाइदिनुभएको छ । त्यहाँबाट एकदमै राम्रो समन्वय र सहयोग प्राप्त भइरहेको छ ।

कोशी अस्पतालमै मिर्गौला प्रत्यारोपण सेवा सुरु भएपछि यहाँका बिरामीहरूले कस्तो राहत पाउनेछन् ?
यसले बिरामीहरूलाई एकदमै ठूलो राहत मिल्नेछ । यहाँबाट उपचारका लागि बाहिर जानुपर्ने बाध्यता हट्नेछ र यो यस क्षेत्रकै लागि एउटा ठूलो उपलब्धि पनि हुनेछ ।

अहिले कोशी अस्पतालमा नियमित रूपमा सरदर कति बिरामी डायलाइसिस सेवा लिन आउँछन् ?
डायलाइसिसका लागि आउने बिरामीको संख्या त यहाँ अत्यन्तै धेरै छ । झन् बाहिरका निजी तथा अन्य स्वास्थ्य संस्थामा स्वास्थ्य बिमामार्फत हुने सेवा बन्द भएपछि त कोशी अस्पतालमा बिरामीको चाप अत्याधिक बढेको छ । तर, हामीसँग पर्याप्त क्षमता नभएका कारण सरदर दैनिक २० देखि २२ जना बिरामीको मात्रै डायलाइसिस गर्न सकेका छौँ । यदि हामीसँग पर्याप्त बेड र मेसिनको सुविधा हुने हो भने दिनमा ४० देखि ५० जनासम्मको डायलाइसिस गर्नुपर्ने अवस्था छ । त्यति धेरै संख्यामा बिरामीहरू नियमित रूपमा लाइनमा बसिरहनुभएको छ ।

पछिल्लो समय मिर्गौलासम्बन्धी समस्या बढ्दो क्रममा देखिन्छ । तर, कोशी अस्पतालमा डायलाइसिसका बिरामीलाई आवश्यक पर्ने ‘फिस्टुला’ बनाउने व्यवस्था नभएकाले निजी अस्पतालमा महँगो शुल्क तिर्न बाध्य छौँ भन्ने बिरामीको गुनासो छ नि । यति ठूलो प्रत्यारोपण सेवा सुरु गर्ने योजना बनाइरहँदा फिस्टुलाको समस्या समाधानमा चाहिँ के सोच्नुभएको छ ?
त्यस्तो होइन, कोशी अस्पतालमा फिस्टुला नबनाइने भन्ने होइन । यहाँका डाक्टर साबहरूले फिस्टुला बनाउनुहुन्छ । तर, कतिपय जटिल प्रकृतिको फिस्टुला बनाउनका लागि कार्डियोभास्कुलर सर्जन अर्थात् सीटीभीएस सर्जन नै चाहिने अवस्था हुन्छ । त्यस्तो जटिल केसबाहेक अन्यमा समस्या छैन । डा. पुरुषोत्तम पराजुलीले यही अस्पतालमै फिस्टुला बनाउँदै आउनुभएको छ र यहाँ धेरै बिरामीको फिस्टुला बनाइएको पनि छ । तर, सबै खालका केसहरू यहाँ सम्भव नहुन सक्छन् । यदि सीटीभीएस सर्जन नै यहाँ भइदिएको भए जस्तासुकै फिस्टुला पनि यहीँ सजिलै बनाइहाल्नुहुन्थ्यो ।

त्यसो भए कोशी अस्पतालमा सीटीभीएस सर्जनको दरबन्दी छ कि छैन ?
अस्पतालमा सीटीभीएस सर्जनको दरबन्दी छ, किन नहुनु । तर, अहिले चिकित्सक नहुनुभएको मात्र हो । पहिला एक जना चिकित्सक करारमा कार्यरत हुनुहुन्थ्यो । पछि उहाँले छोडेर जानुभएपछि अहिले त्यो पद रिक्त रहेको छ ।

त्यो रिक्त दरबन्दी पूर्तिका लागि अस्पतालले के–कस्तो पहल गरिरहेको छ ?
हामीले चिकित्सकको माग त गरेका छौँ । तर, सीटीभीएस सर्जन भनेको अलि दुर्लभ जनशक्ति नै मानिन्छ । कोशी प्रदेशमा मात्र होइन, काठमाडौँको गंगालाल राष्ट्रिय हृदय केन्द्रमै पनि यस्ता सर्जनको कमी छ । अचेल त चिकित्सकहरूले यो विषय पढ्नै छोडेका छन् । पढ्ने सिटसमेत खाली जान थालेको अवस्था छ, जुन आफैँमा चिन्ताको विषय हो । फिस्टुला बनाउने मात्र कुरा होइन, सीटीभीएस भनेको कार्डियोथोरासिक भास्कुलर सर्जन अर्थात् मुटु तथा रक्तनलीसम्बन्धी सबै शल्यक्रिया गर्ने विशेषज्ञ हो । रक्तनली (सम्बन्धी उहाँहरूको विशेष दक्षता हुने भएकाले जस्तोसुकै फिस्टुला पनि सहजै बनाउनुहुन्छ । हामीले मन्त्रालय र विभागमा माग गरिरहेका छौँ तर देशैभरि यो विषय पढेका चिकित्सककै अभाव छ ।

अन्त्यमा, कोशी अस्पतालमा अहिले मिर्गौला प्रत्यारोपणका लागि सम्पर्कमा आउने बिरामीहरूको अवस्था कस्तो छ ?
अहिले यहाँ प्रत्यारोपण सेवा सुरु भइनसकेको हुनाले सिधै प्रत्यारोपणकै लागि भनेर आउनेहरू कम हुनु स्वाभाविक हो । तर, सेवा सुरु भएपछि स्वाभाविक रूपमा बिरामीहरू आउनुहुन्छ । अहिले नियमित डायलाइसिस गराइरहेका धेरैजसो बिरामीलाई कुनै न कुनै चरणमा मिर्गौला प्रत्यारोपण गराउनुपर्ने आवश्यकता नै हुन्छ । त्यसैले बिरामी नहुने भन्ने कुरै छैन । अहिले भक्तपुरस्थित प्रत्यारोपण केन्द्रमा हेर्नुभयो भने प्रत्यारोपणका लागि बिरामीको लामो लाइन छ । त्यहाँको त्यो चाप र लाइन घटाउनकै लागि पनि देशका विभिन्न सरकारी अस्पतालहरूमा प्रत्यारोपण सेवा विस्तार गर्न लागिएको हो । कोशी अस्पतालमा यो सेवा सुरु भएपछि केन्द्रको चाप घट्नेछ भने कोशी प्रदेश र आसपासका जनताले आफ्नै घरआँगनमा सहज रूपमा यो सुविधा पाउनेछन् । यही उद्देश्यका साथ हामीले यो सेवा सुरु गर्न लागेका हौँ ।


क्याटेगोरी : अन्तर्वार्ता / विचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ