२०८३ मंसिर २, बुधवार
Health Aawaj logo
गृहपृष्ठ ∕ जनस्वास्थ्य ∕ फोक्सोलाई स्वस्थ राखौँ, सहज जीवन बिताऔँ

फोक्सोलाई स्वस्थ राखौँ, सहज जीवन बिताऔँ


प्रत्येक वर्ष नोभेम्बर महिनाको तेस्रो बुधबार विश्वभर ‘विश्व सीओपीडी दिवस’ मनाइन्छ । यस वर्ष ‘राम्रो जीवनका लागि शीघ्र पहिचान र व्यवस्थापन’ भन्ने नारासहित यो दिवस मनाइँदैछ । दीर्घकालीन श्वासप्रश्वाससम्बन्धी यो रोगबारे विश्वभर जनचेतना फैलाउनु र समयमै यसको रोकथाम तथा उपचार गर्नु यसको मुख्य उद्देश्य हो ।

हाम्रो समाजमा धेरैले दम, खोकी वा सास फेर्न गाह्रो हुने समस्यालाई सामान्य उमेर वा चिसो लागेर हुने समस्या भन्ने ठान्दछौं तर यो गम्भीर प्रकारको फोक्सोको रोग ‘सीओपीडी’ (COPD – Chronic Obstructive Pulmonary Disease) पनि हुन सक्दछ ।

१. सीओपीडी (COPD) भनेको के हो?

सीओपीडी भनेको फोक्सोको एक दीर्घकालीन (लामो समयसम्म रहने) र क्रमसः बढ्दै जाने श्वास नली र फोक्सोको रोग हो । यस रोगमा फोक्सोका वायुनलीहरू साँघुरा हुन्छन् र हावा थैलीहरू (Alveoli) बिग्रन्छन् ।

परिणामस्वरुप, फोक्सोमा हावाको आवत-जावतमा कठिनाइ आउँछ र बिरामीलाई श्वास फेर्न असहज हुन्छ।

मुख्य लक्षणहरू:
* लामो समयसम्म खोकी लाग्ने: विशेष गरी बिहान उठ्ने बित्तिकै बढी खोकी लाग्ने ।
* खकार आउने: खोकीसँगै बाक्लो खकार आउनु ।
* श्वास फुल्ने: अलिकति हिँड्दा, भर्याङ वा उकालो चढ्दा वा भारी बोक्दा अस्वभाविक रूपमा सासमा कठिनाइ हुनु ।
* घ्यारघ्यार आवाज आउनु: सास फेर्दा छातीबाट घ्यारघ्यार आवाज आउनु ।
* छाती भारी हुनु वा दुख्नु ।

रोग लाग्ने प्रमुख कारणहरू

* चुरोट तथा सुर्तीजन्य पदार्थको सेवन: यो यसको सबैभन्दा मुख्य कारण हो (कुल बिरामीको ८०-९०% मा यही कारण देखिन्छ)।
* घरायसी धुवाँ: नेपालका गाउँघर तथा शहरहरूमा दाउरा, गुइँठा बाल्दा भान्सामा निस्कने धुवाँको दीर्घकालीन असर ।
* वायु प्रदूषण र धुलो: शहरको धुलोधुवाँ र कारखानामा निस्कने रासायनिक धुवाँ ।
* वंशाणुगत कारण तथा बाल्यकालमा हुने फोक्सोका बारम्बार संक्रमण ।

२. सीओपीडीबाट कसरी बच्ने? (रोकथामका उपायहरू)

सीओपीडीबाट बच्ने र यसको गति रोक्ने सबैभन्दा प्रभावकारी उपाय भनेको यसका जोखिमका कारकहरूबाट बाट बच्नु नै हो।

* धूम्रपान पूर्ण रूपमा त्याग गर्ने: यदि तपाईं चुरोट वा सुर्ती खानुहुन्छ भने आजैदेखि बन्द गर्नुहोस्। यसले फोक्सोको कार्यक्षमता थप बिग्रनबाट बचाउँछ।

* धुवाँबाट बच्ने: भान्सामा खाना पकाउँदा धुवाँरहित चुलो जस्तै-बायोग्याएस, एलपीजी ग्यास, विद्युतीय चुलो वा राम्रो भेन्टिलेसन(हावा आवतजावत गर्न सक्ने) भएको भान्साको प्रयोग गर्ने।

* कार्यस्थलको सुरक्षा: धुलो, धुवाँ र रासायनिक गन्ध आउने ठाउँमा काम गर्दा अथवा जाँदाखेरि सुरक्षित मास्क वा सुरक्षात्मक उपकरण प्रयोग गर्ने।

* रोग प्रतिरोधात्मक क्षमता बढाउने: रुघाखोकी र फ्लुबाट बच्न चिकित्सकको सल्लाह अनुसार समयमै इन्फ्लुएन्जा (Flu) र निमोनियाविरुद्धको खोप लगाउने। यसले फोक्सोमा हुने घातक संक्रमणबाट बचाउँछ ।

३. उपचार विधि:

यस रोगलाई पूर्ण रूपमा निको पार्न त सकिंदैन, तर सही उपचार विधि अपनाएमा बिरामीले एकदमै सहज र आरामदायी जीवन बिताउन सक्छन् ।

* इन्हेलर (Inhaler) को सहि प्रयोग: सीओपीडीको उपचारमा मुखबाट तान्ने औषधी (इन्हेलर वा पम्प) सबैभन्दा प्रभावकारी मानिन्छ । यसले सिधै फोक्सोको नलीमा पुगी सास फेर्न सहज बनाउँछ। डाक्टरको सल्लाह बिना पम्प छाड्नु हुँदैन ।

*बिरामीको रोगको अवस्था अनुसार चिकित्सकले खाने औषधिहरू पनि प्रयोग गर्न सक्दछन् ।
* पुनर्स्थापना र व्यायाम (Pulmonary Rehabilitation): चिकित्सक र फिजियोथेरापिस्टको सल्लाह बमोजिम हल्का शारीरिक व्यायाम, श्वासप्रश्वासका विशेष अभ्यासहरू गर्दा फोक्सोको कार्यक्षमतामा बल पुग्दछ ।
* अक्सिजन थेरापी: रगतमा अक्सिजनको मात्रा कम भएका बिरामीहरूका लागि चिकित्सकको सल्लाहमा नियमित वा आवश्यक पर्दा अक्सिजन लिनुपर्छ ।
* सन्तुलित आहार र पोषण: शरीरको तौललाई सन्तुलनमा राख्न पोषिलो खाना खाने। धेरै पेट भरेर खानुभन्दा थोरै-थोरै गरी दिनमा धेरै पटक खानु राम्रो हुन्छ ।

*यस रोगका बिरामीहरूलाई खासै खानेकुराहरु बार्नु आवश्यक छैन । प्रोटिन युक्त खानेकुरा, सागपात, फलफुल र प्राकृतिक रुपमा आएका खानेकुराहरुमा विशेष जोड दिँदाखेरि स्वस्थ रहन र यस रोगमा पनि फाइदा पुग्दछ ।

कहिले जाने त अस्पताल?

यदि तपाईंलाई वा तपाईंको परिवारका कसैलाई लामो समयदेखि खोकी छ, सामान्य हिँडडुल गर्दा पनि सास फुलेर गाह्रो हुन्छ भने ढिला नगरी सम्बन्धित चिकित्सकको परामर्श लिनुपर्छ ।

विशेष गरी ओठ वा नङ नीलो हुने, अचानक अत्यधिक सास फुल्ने, छातीमा तीव्र पीडा हुने वा बेहोस हुने जस्ता लक्षण देखिएमा तुरुन्त आकस्मिक कक्षमा लगी उपचार गराउनु पर्छ ।

समयमै पहिचान गरौँ, धूम्रपान त्यागौँ र फोक्सोलाई स्वस्थ राखौँ: यस रोगको समयमै उपचार गरेमा सीओपीडीका बिरामीले पनि स्वस्थ र हँसिलो जीवन बिताउन सक्छन् ।

स्वस्थ फोक्सो, दीर्घ र सुखी जीवनको कामना!


क्याटेगोरी : जनस्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ