प्रत्येक वर्ष अक्टोबर १० मा विश्व मानसिक स्वास्थ्य दिवस मनाइँदैं आइएको छ । विश्व स्वास्थ्य संगठन र विश्व मानसिक स्वास्थ्य महासंघको सहकार्यमा सन् १९९२ देखि नेपालसहित विश्वभर विश्व मानसिक स्वास्थ्य दिवस मनाउन सुरु गरिएको हो ।
मानिसले शारिरीक स्वास्थ्यलाई ध्यान दिएपनि मानसिक स्वास्थ्यलाई भने ध्यान दिएको पाइँदैंन । तर, शारीरिक स्वास्थ्यजस्तै मानसिक स्वास्थ्यलाई पनि प्राथमिकता दिनुपर्छ । पहिला शारीरिक स्वास्थ्यलाई मात्र प्राथमिकता दिइने र मानसिक स्वास्थ्यलाई ओझेलमा पारिने गरेकोमा विश्व स्वास्थ्य सङ्गठन र विश्व मानसिक स्वास्थ्य महासंघको सहकार्यमा यो दिवस मनाउन थालिएको हो ।
विगत डेढ दशकको तुलनामा नेपालमा मानसिक स्वास्थ्यसम्बन्धी जनचेतना उल्लेख्य रूपमा बढेको छ । पहिले मानसिक रोग विभागमा विरामी जान हिचकिचाउने गरेपनि पछिल्लो समयमा भने बिरामीहरु मनोचिकित्सक खोज्दै अस्पताल र स्वास्थ्य संस्था आउने गरेका छन् । यसमा पछिल्लो समय मिडियाले खेलेको भूमिकाले पनि मानिसलाई उपचार कहाँ खोज्ने भन्ने विषयमा सचेत बनाएको छ ।
अस्पतालमा बिरामीको सङ्ख्या बढ्नुको मुख्य कारण रोग नै बढेको भन्दा पनि मानिसमा बढेको चेतना र स्वास्थ्य सेवामाथिको पहुँच हो। विश्व स्वास्थ्य सङ्गठनका अनुसार न्यून तथा मध्यम आय भएका देशमा ७५ प्रतिशत मानसिक बिरामीहरू उपचारसम्म पुग्न सक्दैनथे, अहिले त्यो सङ्ख्या घटेर मानिसहरू अस्पताल आउन थालेकाले बिरामी बढेको देखिएको छ ।
महाभूकम्प, कोभिड—१९ महामारी तथा हालैका प्राकृतिक विपद्का कारण पनि केही हदसम्म मानसिक स्वास्थ्य समस्या बढेको छ । मानसिक रोगका जैविक, वातावरणीय र मनोवैज्ञानिक गरी तीन मुख्य कारण रहेका हुन्छन् ।
अटिजम, एडीएचड र स्किजोफ्रेनियाजस्ता रोगमा जैविक तथा वंशानुगत कारण प्रमुख हुन्छ भने गरिबी, बेरोजगारी, वातावरणीय तनाव र सामाजिक सम्बन्धहरूले पनि मानसिक स्वास्थ्यमा असर पार्ने गरेको छ ।
नेपाली समाजमा विशेषगरी श्रीमान् वैदेशिक रोजगारीमा रहेका महिलामा शङ्का गर्ने प्रवृत्ति, मदिरा सेवन तथा घरेलु हिंसाका कारण डिप्रेसन र एन्जाइटीको समस्या बढी देखिने गरेको छ । त्यसैगरी, युवापुस्तामा मोबाइलको अत्यधिक प्रयोग, अनिद्रा, सामाजिक सञ्जालको लत, गेमिङ, जुवा तथा लागुपदार्थको सेवनले मानसिक समस्या बढाउँदै लगेको छ ।
लामो समयसम्म तनाव भइरहेमा मोटोपन, मधुमेह, उच्च रक्तचाप र मुटुसम्बन्धी रोगहरू लाग्ने जोखिम हुन्छ । मानसिक रुपमा स्वस्थ रहनका लागि व्यक्तिगत स्तरमा दैनिक जीवनशैलीलाई नियमित बनाउने, पोषक खानपान गर्ने, पर्याप्त सुत्ने, समयमा काम गर्ने र दुर्व्यसनबाट टाढा रहनुपर्छ ।
यस्तै, सरकारले नीतिगत तहमा मानसिक स्वास्थ्य ऐन निर्माण गरी कार्यान्वयनमा ल्याउनुपर्ने टड्कारो आवश्यकता छ ।
(डा. राजभण्डारी ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल काठमाडौंका मानसिक रोग विशेषज्ञ हुन् ।)