२०८३ मंसिर ४, शुक्रवार
Health Aawaj logo
गृहपृष्ठ ∕ हेल्थआवाज म्यागेजिन ∕ ‘विद्यार्थी पढ्न नपाउनु नै नेपाली पारामेडिक्स एजुकेसनको पहिलो समस्या हो’

‘विद्यार्थी पढ्न नपाउनु नै नेपाली पारामेडिक्स एजुकेसनको पहिलो समस्या हो’


नवराज पाण्डे फ्रन्टलाइन अस्पतालका अध्यक्ष हुन् । नेपालको निजी शिक्षाका क्षेत्रमा लामो समयदेखि क्रियाशील उनले सिनामङ्गलमा नोबेल कलेज नाम पारामेडिकल कलेजसमेत सञ्चालन गरिरहेका छन् । चिकित्सा शिक्षा ऐन र त्यसपछि बनेको चिकित्सा शिक्षा आयोगका कारण पारामेडिकल एजुकेसन धरापमा परेको मत उनी राख्दै आएका छन् । जसका कारण ठूलो धनराशी विदेशिएको, स्वदेशमै नर्सको अभाव हुन थालेको उनी बताउँछन् । नेपालको पारामेडिक्स शिक्षा, यसका समस्या र सुधार गर्नुपर्ने विषयमाथि केन्द्रित रहेर हेल्थ आवाजले गरेको कुराकानी:

प्यारामेडिक्स एजुकेसनका मुख्य समस्याहरू के–के हुन् ?
विद्यार्थी पढ्न नपाउनु नै नेपाली पारामेडिक्स एजुकेसनको पहिलो समस्या हो । जुन जनशक्तिको देश, विदेश र विश्वका सबै ठाउँमा आवश्यकता छ । नेपालमा पढ्न चाहने विद्यार्थीले पनि पढ्न पाउने वातावरण छैन । पढ्नकै लागि विद्यार्थीहरू बाहिर गइरहेका छन् । बाहिर गएर पढिसकेपछि पढाइको खर्चअनुसारले फिर्ता खोज्ने भएको कारणले आर्थिक रूपले राम्रो भएको देशमा जागिरसमेत उतै खोज्ने गर्दछन् । नेपाल फर्किने सम्भावना पनि नहुने, पैसा पनि बाहिर जाने कारणले नेपालको विकासमा हेल्थ केयर म्यानपावर अभाव र आवश्यकता रहिरहने भयो ।

एकातिर तपाईं पढ्न पाएनन् भन्नुहुन्छ, अर्कोतर्फ पर्याप्त विद्यार्थी कलेजमा भर्ना भएको देखिँदैनन् । यो समस्या किन देखियो ?
नेपालमा प्यारामेडिक्स एजुकेसनका विद्यार्थी नपाउनुमा मुख्य कारण शैक्षिक गुणस्तर हेर्न सरकारले चिकित्सा शिक्षा आयोग गठन ग¥यो, त्यो आयोगमा बस्ने पदाधिकारीहरू अमेरिकाको गुणस्तर खोज्न थाल्नुभयो । हाम्रो देश एक खालको छ । हाम्रो देशका केटाकेटीहरू प्लस टु गरेको अमेरिकामा नर्सिङ पढ्न पाइरहेका छन् । तर, नेपालमा पाएनन् ।

इन्ट्रासको नीतिगत कारणले गर्दा नेपालमा पढ्न पाइरहेका छैनन् । कक्षा १२ प्रथम श्रेणी उत्तीर्ण भएको विद्यार्थीको गुणस्तर छैन भने कक्षा १२ नै किन राख्ने ? नेपालको जुनसुकै विद्यालय/बोर्डिङमा अध्ययन गरेका विद्यार्थीहरू विश्वका जुनसुकै देशमा पढ्नयोग्य छन् । नयाँ युगमा हुर्किरहेको पुस्ता गणित, अङ्ग्रेजीमा मात्रै उत्कृष्ट छैन, डिजिटल रूपमा नै पढ्न सक्छन् । यस्ता किसिमका विद्यार्थीले पढ्न नपाउनु सरकारको नीतिमा त्रुटि रहेको र विगतका सरकारले नश्लबन्दी गर्न राखेको चिकित्सा शिक्षा आयोग देखियो । नेपालका विश्वविद्यालयमा रहेका विद्यार्थीको मोनिटर पनि आयोगले गर्ने र आयोगकै कारणले विद्यार्थीले इन्ट्रास परीक्षा पास गर्न नसक्ने कारणले विद्यार्थीले पढ्न पाएनन् ।

अहिले चिकित्सा शिक्षा आयोगले लिने परीक्षा संसारकै टप परीक्षा हो त ?
चिकित्सा शिक्षा आयोगले संसारकै टप इन्ट्रान्स परीक्षा लिइरहेको छ । मूर्खले जता पनि ठाउँ बनाउँछ । नर्सका लागि डाक्टरको प्रश्न, एयरहोस्टेसका लागि पाइलटको प्रश्न राखे फेल भइहाल्छ । चार वर्ष नर्स पढेपछि त्यसको गुणस्तर परीक्षण गर्ने संस्था आवश्यक छ । पढ्न नै नपाईकन तँ बन्न नै सक्दैनस् भन्ने अधिकार को सँग छ । यस्तो प्रकारको प्रणाली सुधार गर्न आवश्यक छ ।

चिकित्सा शिक्षा आयोगले लिने इन्ट्रान्स परीक्षा, भर्ना प्रक्रिया सुरु गर्न लाग्ने लामो समयका कारणले गर्दा कति विद्यार्थीहरू विदेशिरहेका छन्, भनिन्छ नि ?
यो अति अलि धेरै नै छ । सबै फ्याकल्टीको गरेर लाखौँ जनशक्ति बाहिरिएको छ । समयमा चिकित्सक नर्स, पब्लिक हेल्थसँगै रेडियोलोजी पढ्न पाएन भनेर विद्यार्थीहरू देश छोडिरहेका छन् । विदेशमा भारत, चीन, बङ्गलादेश, क्यानडा, न्युजिल्यान्ड, अस्ट्रेलियाजस्ता देशहरूले स्वागत गरिरहेका छन् । उनीहरूको नीति ‘हाउ टु वेल’ छ भने हाम्रोमा ‘हाउ टु फेयर’ नीति रहेको छ । उनीहरूको आफ्नो देशमा पैसासँगै दक्ष मस्तिष्कसमेत लगिरहेका छन् । हाम्रो देशबाट पैसासहित दक्ष मस्तिष्क पठाइरहेका छौँ । आयोगको उपाध्यक्षले केही गर्न नसक्ने, कलेजवालाहरूले प्रधानमन्त्रीलाई कन्भिन्स गर्न नसक्ने, दुई तिहाइ सांसदलाई कन्भिन्स गर्ने कुरा आएन । राष्ट्रिय रूपमा नीति बनाउने सांसद, मन्त्री, प्रधानमन्त्रीसँगै आयोगमा बस्ने चिकित्सकहरूले मुलुकको अर्थतन्त्र जोगाउन मेडिकल शिक्षामा नीतिगत सुधारतिर लाग्नुपर्ने आवश्यकता छ ।

अहिलेको सरकारले मेडिकल शिक्षाका लागि हबहरू खोजिरहेको छ । यो प्रोत्साहन गर्न लायक छ । मुलुककै हितमा हुने कुरा गर्‍यो भने हरेक केटाकेटीको डाक्टर, नर्स बन्ने चाहना छ । यसको अन्तर्राष्ट्रिय बजार छ । त्यहाँ जागिर पाउने सम्भावना हुन्छ । एक नर्सले ५ देखि १० हजार डलर कमाइरहेको छ । हामीले नपढाएका केटाकेटीहरू खाडीको तातो घाममा पठाउनुको सट्टा अन्तर्राष्ट्रिय बजारमा दक्ष जनशक्ति जाओस् भन्ने चाहना हो । ३० वर्ष अगाडिको प्लस टु शिक्षा र अहिलेको धेरै फरक भइसकेको छ । अहिलेका बालबालिकाहरूको शिक्षामा ठूलो परिवर्तन आएको छ ।

नेपालको विकासका लागि आवश्यक पर्ने दक्ष जनशक्ति नै भगाएपछि मुलुकको विकास कसरी हुन्छ ? कतारमा रङ्गशाला बनाउन नेपालबाट कामदार लगिएको हो । अहिले विश्वमा लेबर कता पाइन्छ भनेर नेपालमा छ भनेर आइरहेको हुन्छ । दक्ष जनशक्ति उत्पादन गर्न सक्यौँ भने ठूलो आय आर्जन गर्न सकिछ । अहिले नर्सिङ जनशक्तिको सिङ्गापु्र, अमरिकासँगै विश्वको बजारमा आवश्यकता बढिरहेको छ । जसकारण नेपालमा बढीभन्दा बढी विद्यार्थी पढ्ने वातावरण बनाउनु पर्नेछ । नेपाल सानो, कमजोर र गरिब देशमा पर्छ तर कानुन र मापदण्डचाहिँ युरोप, अमेरिकाको जस्तो छ । हाम्रा विज्ञहरू कता पढेर आउनुहुन्छ ?

नेपालमा चिकित्सा शिक्षा आयोग बनेपछि कुन–कुन पक्षमा नराम्रो प्रभाव पारेको छ ?
आयोग बनेर आइसकेपछि कुनै पनि विश्वविद्यालयको वृद्धि, विकाससँगै शैक्षिक कार्यक्रमको विस्तारका लागि हात बाँधेको छ । विश्वविद्यालयसँगै पढ्न आउने विद्यार्थी र अभिभावकको समेत हात बाँधिएको अवस्था छ । पैसा तिरेर पनि पढ्न नपाउने अवस्था सिर्जना गरिएको छ । विदेशमा अध्ययन गराउँदा भर्नासँगै अन्य करौडौँ खर्च भइरहेको छ । पढ्न जाने विद्यार्थी उतै अवसर पाएर परिवारसमेत उतै जाने अवस्था छ । विद्यार्थी पैसासँगै सम्पत्तिसमेत बेचेर पलायन भइरहेको अवस्था छ ।

अहिलेको सरकारले के गरिदेओस् भन्ने तपाईंहरूको चाहना हो ?
धेरै विद्वान्हरू सरकारमा आउनुभएको छ, अर्थमन्त्रीसँगै प्रधानमन्त्रीले यस्तो किसिमको नीतिगत अप्ठ्यारोलाई परिवर्तन गर्न तदारुकता देखाउनुपर्छ । मुलुकको विकास चाहने हो भने सबैभन्दा ठूलो शक्ति भनेको मानव जनशक्ति नै हो । उपकरण र उद्योगमा हामी पछाडि छौँ । हामीसँग भएको जनशक्तिलाई बलियो बनायो भने हामी विकसित मुलुकका उपकरणहरू चलाउन सक्छौँ ।

आयोगबाट के कस्ता कमजोरी भइरहेका छन् ?
चिकित्सा शिक्षा आयोग कडा इन्ट्रान्स, इन्ट्रान्सपछि लामो समय म्याचिङमा लगाएर ढिला गर्नेजस्ता समस्याहरू एकदमै जटिल छन् । कलेजहरूमा विद्यार्थी कोटा मात्रै दिएर के गर्ने विद्यार्थी नै पढ्न नआएपछि । लाइसेन्स मात्रै दिएर के हुन्छ । विद्यार्थीलाई सीधै भर्ना गर्न पाउँदैनौँ । इन्ट्रास दिएर ९ महिनापछि मात्रै भर्ना हुन्छ, त्यति लामो समय विद्यार्थी नै कुरेर बस्ने अवस्था छैन । यस्तो किसिमको नीतिले गर्दा गाह्रो भएको छ । सबैलाई अनुरोध छ– विद्यार्थीलाई पढ्ने वातावरण बनाइदिनुहोस् ।


क्याटेगोरी : हेल्थआवाज म्यागेजिन



तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

ट्रेण्डिङ