काठमाडौं—एन्टीमाइक्रोबियल रेसिस्टेन्स (एएमआर) नियन्त्रणका लागि एक क्षेत्रको प्रयास मात्र पर्याप्त नहुने भन्दै सरोकारवालाहरुले सबै क्षेत्रबीच सहकार्य र समन्वय आवश्यक रहेको बताएका छन् । बुधबार विश्व एन्टीमाइक्रोबियल सचेतना सप्ताहको पहिलो दिन आयोजित एएमआर र मिडियाको भूमिका नामक कार्यक्रममा सहभागी वक्ताहरूले एएमआर साझा चुनौती भएकाले यसको नियन्त्रणमा सबै पक्ष जिम्मेवार हुनुपर्नेमा जोड दिएका हुन् ।
औषधि व्यवस्था विभागका महानिर्देशक भरत भट्टराईले एन्टीबायोटिक औषधिको समुचित प्रयोगमा सबैले ध्यान दिनुपर्ने बताए । चिकित्सकको सल्लाहबिना एन्टीबायोटिक प्रयोग गर्ने तथा औषधिको जथाभावी प्रयोग गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्नुपर्ने उनको भनाइ थियो ।
पशु सेवा विभागका महानिर्देशक डा. उमेश दाहालले एएमआरको समस्या मानव स्वास्थ्यमा मात्र सीमित नरहेको बताए । कृषि तथा पशुपालन क्षेत्रमा समेत एन्टीबायोटिक प्रयोग हुने भएकाले यसको उचित व्यवस्थापन र अनावश्यक प्रयोग नियन्त्रण गर्न सबै पक्षले मिलेर काम गर्नुपर्ने उनले उल्लेख गरे ।
यसैगरी, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रकी निर्देशक डा राधिका थपलियाले धेरै जनाको बानी अहिले पनि एन्टीबायोटिकको डोज पूरा नगर्ने, आफू खुशी एन्टीबायोटिक किनेर खाने रहेको भन्दै यो व्यवहार परिवर्तन नै पहिलो प्राथमिकतामा हुनपर्ने बताइन् । उनले व्यवहार परिवर्तनका लागि र नीतिगत के के कुरामा समस्या छन् भन्ने विषयमा मिडियाले पैरवी र निगरानी गर्नपर्नेमा जोड दिइन् ।
विश्व स्वास्थ्य संगठन नेपालका कार्यवाहक प्रमुख डा. एलिसन गोकोटानोले एएमआरको जोखिम सबै व्यक्तिमा रहने उल्लेख गर्दै यसको प्रभाव कुनै एक व्यक्ति, समुदाय वा क्षेत्रसम्म सीमित नरहेको बताए । उनले एएमआर नियन्त्रणका लागि सामूहिक प्रयास र जनचेतना आवश्यक रहेको धारणा राखे ।
कार्यक्रममा ग्लोबल एएमआर मिडिया अलायन्स, नेपाल च्याप्टरकी अध्यक्ष कल्पना आचार्यले एएमआरलाई सबैले साझा एजेन्डा बनाउनुपर्ने बताइन् । उनले एएमआरसम्बन्धी जनचेतना अभिवृद्धि गर्न पत्रकारहरूको भूमिका अझ प्रभावकारी हुनुपर्नेमा जोड दिइन् ।
स्वास्थ्य पत्रकार मञ्च नेपालका अध्यक्ष भिषा काफ्लेले एएमआर बहुपक्षीप सबाल भएको हुदा सबै मिलेर सचेतना बढाउन लाग्नुपर्ने वताए । उनले स्वास्थ्य पत्रकारहरुले एएमआर रिपोटिङ्ग अभियानको समयमा मात्र नभएर नियमित गरिरहेको बताए ।
कार्यक्रम स्वास्थ्य पत्रकार मञ्च नेपाल, ग्लोबल एएआर मिडिया अलायन्स, नेपाल च्याप्टर, विश्व स्वास्थ्य संगठन ९डब्लूएचओ० र संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन (एफएओ) नेपालको सहकार्यमा आयोजना भएको थियो ।
सागर बुढाथोकीले पाए यस वर्षको ‘नेपाल एएमआर मिडिया अवार्ड’
कार्यक्रमका अवसरमा एएमआरसम्बन्धी विषयमा उत्कृष्ट लेखन तथा पत्रकारितामार्फत योगदान पुर्याउने पत्रकारलाई सम्मान तथा अवार्डसमेत प्रदान गरिएको थियो । यस वर्षको ‘एक्सीलेन्स इन एएमआर रिपोर्टिङ अवार्ड’ उकालो अनलाइनमा कार्यरत पत्रकार सागर बुढाथोकीले प्राप्त गरे। उनले १५ हजार नगदसहित अवार्ड पाएका हुन् ।
यसैगरी स्पेशन मेन्सन अवार्ड पाउनेहरुमा गोरखापत्र दैनिकका सरोज ढुंगेल, नेपालखबरकी प्रज्ञा तिम्सिना, थाहाखबरकी सविना खनाल, जुनखबर डटकमकी जुनु भट्टराई र अनलाइनखबरकी मनिषा थापा रहेका छन् । उक्त अवार्ड ग्लोबल एएमआर मिडिया अलायन्स नेपाल च्याप्टरले प्रदान गरेको हो ।
कार्यक्रममा विश्व स्वास्थ्य संगठन नेपालकी एएमआर फोकल पर्सन डा. पल्पसा कंसाकार, एफएओका लाइभस्टक एण्ड वान हेल्थ एड्भाइजर डा. सुरेन्द्र कार्की स्वास्थ्य मन्त्रालयबाट शिवानी खड्गी तथा गामा नेपालबाट कल्पना आचार्यले आ—आफनो प्रस्तुती दिएका थिए ।