जन्मजात वा चोटपटकका कारण हड्डी लामो वा छोटो हुन सक्छ । हड्डी कमजोर भएका कारण पनि यस्तो समस्या आउन सक्छ । छोटो भएको हड्डीलाई लामो बनाउने र लामो भएको हड्डीलाई छोटो बनाउने प्रक्रियालाई डिफर्मिटी करेक्सन सर्जरी (Deformity Correction Surgery) भनिन्छ । भारतको महाराष्ट्रस्थित ‘सेन्टर फर इलिजारोभ टेक्निक्स’बाट मैले यस विषयमा एक वर्षको फेलोसिप गरेको हुँ ।
हड्डीमा हुने विकृति (बाङ्गोपन वा असामान्य बनावट) जन्मजात पनि हुन सक्छ । यसमा खुट्टा वा हात लामो–छोटो हुने समस्या देखिन सक्छ । जन्मजात विभिन्न कारणले यस्तो समस्या हुन्छ । कहिलेकाहीँ जेनेटिक डिसअर्डर (वंशाणुगत समस्या) का कारण पनि हुन्छ। धेरैजसो बच्चाहरूलाई हामी सुस्त भन्छौँ । मानसिक विकास कम भएका बच्चाहरूमा पनि यस्तो समस्या देखा पर्न सक्छ । कहिलेकाहीँ गर्भमा बच्चा हुँदा असामान्य पोजिसनमा खुट्टा वा हात रहन गएमा पनि यो समस्या हुन सक्छ ।
कहिलेकाहीँ चोटपटकपछि पनि यो समस्या हुन्छ । चोटपटकपछि दुई कारणले यस्तो समस्या हुन सक्छ । पहिलो, हड्डी नजोडिएर (ननयुनियन) हुने र दोस्रो, हड्डी बाङ्गो भएर जोडिने कारणले । स्पाइनल कर्ड, हात–खुट्टालगायत शरीरका अधिकांश हड्डीमा यस्तो बाङ्गोपनको समस्या देखिन सक्छ।
हड्डीका विकृतिले निम्त्याउने समस्या
हड्डीको विकृतिले हाम्रो चाल (हिँडडुल) गर्ने तरिकामा फरक पार्छ, जसका कारण जोर्नीहरूमा अस्वाभाविक प्रेसर बढ्छ । यसले घुँडाको जोर्नी छिटो खिइने समस्या निम्त्याउँछ ।
सामान्य जोर्नीको तुलनामा बाङ्गोपन भएका जोर्नीहरू छिटो खिइने र दुख्ने हुन्छन् । दीर्घकालमा जोर्नी नै फेर्नुपर्ने हुन सक्छ । त्यसकारण समयमै उपचार गरेर आफ्नो हड्डी र जोर्नीलाई बचाउन सकिन्छ ।
उपचार
हड्डीमा हुने विकृतिको उपचार शल्यक्रियाबाटै गरिन्छ । औषधिबाट यसको उपचार हुँदैन । फिजियोथेरापीबाट केही असर कम गर्न सकिन्छ । तर, लामो समयसम्म बाङ्गोपन बढ्दै गएमा जोर्नी खराब हुने (आर्थराइटिस) सम्भावना हुन्छ ।
आजकल घुँडा फेरेका धेरै केसहरू सुनिन्छन् । सुरुमा यो बाङ्गोपनबाटै समस्या सुरु हुन्छ । घुँडामा दुईवटा भाग हुन्छन्—भित्री र बाहिरी । ती भाग खिइँदै गएपछि भित्रको प्रेसर बढ्दै जान्छ र पछि जोर्नी फेर्नुपर्ने हुन सक्छ । समयमै बाङ्गोपन रोक्न सकियो भने घुँडा वा हिपको जोर्नी प्रत्यारोपण शल्यक्रिया टार्न सकिन्छ ।
बाङ्गोपनको अवस्था हेरेर उपचार खर्च निश्चित हुन्छ । कहिलेकाहीँ बाहिरबाटै यन्त्र (इलिजारोभ) लगाउनुपर्ने हुन्छ । कतिपय अवस्थामा यही यन्त्रबाट उपचार गर्नुपर्ने हुन्छ। धेरै बाङ्गो छैन भने हड्डी काटेर, त्यसको अलाइनमेन्ट मिलाएर भित्रपट्टि प्लेट वा रड राखेर पनि उपचार गर्न सकिन्छ । यो शल्यक्रिया धेरै महँगो हुँदैन। जोर्नी नै फेर्ने शल्यक्रियाभन्दा निकै सस्तो पर्छ । समयमै उपचार गर्न सकेमा यसको नतिजा निकै राम्रो हुन्छ ।
त्यसकारण हड्डीको विकृतिको उपचार गर्न कुर्नुभन्दा समयमै विशेषज्ञसँग सल्लाह लिएर करेक्सन गरिहाल्नुपर्छ । समयमा उपचार गर्दा सानो शल्यक्रियाले पनि यो समस्या हटाउन सकिन्छ । विदेशमा इन्स्योरेन्स एकपटक मात्रै क्लेम गर्न पाइने भएकाले लामो समय कुरेर शल्यक्रिया गर्ने चलन छ ।
तर, हामीले सम्भव भएमा तत्कालै उपचार गरेर यसको करेक्सन गर्नुपर्छ, जसले राम्रो नतिजा दिन्छ । ढिला गर्दै जाँदा एउटा स्टेजपछि राम्रो सुधार गर्न सकिन्छ, तर पूर्ण रूपमा सामान्य अवस्थामा ल्याउन सकिँदैन । केही केसमा सीमितता पनि हुन सक्छ ।
यो शल्यक्रिया कति जटिल हुन्छ?
जटिलता सबै शल्यक्रियामा हुन्छ । तर, आएका जटिलतालाई ह्यान्डल गर्न सक्ने क्षमता हामीमा छ । मैले त्यही सिकेर आएको हुँ । कुनै जटिलता आयो भने त्यसलाई कसरी डिल गर्ने भन्ने कुरामा हामी सक्षम छौँ । तर, शल्यक्रियामा जटिलता आउँदैन भनेर भन्न सकिँदैन । जटिलता आउन सक्छ, तर त्यसको समाधान हामी निकाल्न सक्छौँ ।
जति पुराना केस भए पनि यो शल्यक्रियामार्फत पूर्ण रूपमा नभए पनि केही न केही सुधार अवश्य गर्न सकिन्छ ।
समस्या भएका बिरामीले कस्तो सजगता अपनाउने?
शंका लागेको छ भने सुरुमै चिकित्सकसँग भेटेर परामर्श लिनुपर्छ । अहिले धेरै एडभान्स प्रविधिहरू आइसकेका छन्, पहिलेजस्तो छैन । समयमै पत्ता लागेमा एकदमै साधारण शल्यक्रियाबाटै हड्डीको विकृति सुधार (करेक्सन) गर्न सकिन्छ । समयमै उपचार नगरेमा अर्को स्टेजमा पुगेपछि यस्तो विकृतिका लागि ठूलो शल्यक्रिया आवश्यक पर्न सक्छ । त्यसैकारण समयमै सचेत भएर चिकित्सककहाँ गएर जाँच गराउनुपर्छ ।
चिकित्सकले एक्स–रेलगायत साधारण इन्भेस्टिगेसन गरेर हड्डीको विकृति पत्ता लगाउन सक्छन् । यो एउटा लाइफ चेन्जिङ शल्यक्रिया भएकाले यसले धेरै कुरा फरक पार्न सक्छ ।
हड्डीको विकृति (बाङ्गोपन वा असामान्य बनावट) भइसकेपछि समाजमा कुरा काट्ने, हियाउनेजस्ता कारणले मानसिक रूपमा ठूलो प्रभाव पर्छ । कतै न कतै यसले आत्मविश्वासमा पनि असर पुर्याइरहेको हुन्छ । त्यसैकारण ठूलो असर पार्ने यस्तो समस्या भएकाहरूले समयमै समस्याका विशेषज्ञ चिकित्सककहाँ पुगेर उपचार गराउनुपर्छ ।
विदेशमा धेरै पुरानो भए पनि नेपालमा यो नयाँ विषय हो । विदेशमा हड्डीको विकृति सुधारसम्बन्धी उपचार लामो समयदेखि हुँदै आएको छ, तर नेपालमा यसको उपचार हुन थालेको धेरै भएको छैन ।
(पीजीआई चण्डीगढबाट एमएस गरेका डा. थापाले मुम्बईस्थित सेन्टर फर इलिजारोभ टेक्निक्सबाट डिफर्मिटी करेक्सनमा एक वर्षे फेलोसिप गरेका छन्।)