‘आमा, गाउँका धेरै मान्छेलाई एकैचोटी पखाला लागेको छ रे । तलको टोलमा त दुई जना अस्पताल पनि पुगेछन्,’ बिहानै घर फर्किएका रमेशले आमालाई सुनाए ।
‘हिजो बेलुकासम्म त सबै ठीकै थिए । हाम्रो छिमेकका तीन घरमा पनि रातभरि बान्ता र पखाला भएछ,’ आमाले चिन्ता व्यक्त गरिन् ।
त्यत्तिकैमा छिमेकी सीता आइपुगिन् । ‘मेरो नातिलाई पनि बिहानदेखि पखाला लागेको छ । गाउँमा हैजा फैलिएको हो कि? स्वास्थ्य चौकीमा फोन गर्दा स्वास्थ्यकर्मी आउँदै हुनुहुन्छ भन्नुभएको छ ।’
केही बेरपछि स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी गाउँ पुगे । बिरामीको सङ्ख्या सामान्यभन्दा अस्वाभाविक रूपमा बढेको देखेपछि उनीहरूले सम्भावित प्रकोपको सूचना स्थानीय तह र सम्बन्धित जनस्वास्थ्य निकायमा पठाए । बिरामीको दिसाको नमुना परीक्षणका लागि प्रयोगशालामा पठाउने तयारी भयो । खानेपानीको स्रोत, बिरामीले प्रयोग गरेको पानी र उनीहरूबीचको सम्पर्कबारे जानकारी सङ्कलन गर्न थालियो । स्थानीय तहको द्रुत प्रतिकार्य टोली परिचालन भयो ।
अब प्रश्न उठ्छ—यदि यस्तो सूचना समयमै सम्बन्धित निकायसम्म पुग्यो भने गाउँका अरू मानिसलाई सङ्क्रमणबाट जोगाउन सकिन्छ कि सकिँदैन? दूषित पानीको स्रोत तत्काल बन्द गर्न, सुरक्षित पानी उपलब्ध गराउन, बिरामीको उपचार गर्न र सम्भावित सङ्क्रमितको खोजी गर्न सकियो भने महामारीलाई ठूलो रूप लिनबाट रोक्न सकिन्छ । तर, सूचना स्वास्थ्य चौकीमै सीमित भयो, परीक्षण ढिलो भयो र प्रतिकार्य टोली समयमै पुगेन भने एउटा टोलमा देखिएको रोगले पूरै गाउँलाई प्रभावित पार्न सक्छ ।
यो काल्पनिक गाउँको घटना भएपनि यसले नेपालको रोग निगरानी प्रणालीको वास्तविक आवश्यकता देखाउँछ । हैजा होस् वा कोभिड–१९, महामारी नियन्त्रणको पहिलो सर्त रोग फैलिसकेपछि उपचार गर्नु मात्र होइन, रोगको असामान्य सङ्केत समयमै पहिचान गरी प्रभावकारी प्रतिकार्य सुरु गर्नु हो ।
एआईबाट बनाइएको सांकेतिक तस्विर
५२ रोगको सूची र ७५३ स्थानीय तहमा डिजिटल निगरानी
नेपालले जनस्वास्थ्य सेवा ऐन, २०७५ को दफा ४९(१) अनुसार ५२ वटा सङ्क्रामक रोग तथा जनस्वास्थ्य जोखिमको सूची २०८१ असार २० गते नेपाल राजपत्रमा प्रकाशित गरेको छ । ऐनको दफा ४९(४) ले सूचीकृत रोग पहिचान भएपछि तोकिएको समय र मापदण्डअनुसार सूचना दिनुपर्ने व्यवस्था गरेको छ भने उपदफा (५) ले प्राप्त सूचनाका आधारमा आवश्यक अध्ययन र व्यवस्थापन गर्ने जिम्मेवारी स्थानीय तहलाई दिएको छ ।
यससँगै समुदायमा आधारित रोग निगरानी निर्देशिका, २०८२ र राष्ट्रिय प्रारम्भिक चेतावनी, सतर्कता तथा प्रतिकार्य ढाँचा, २०२५ ले रोग पहिचानदेखि प्रतिकार्यसम्मको संस्थागत आधार तयार गरेका छन् । नेपालमा सन् १९९७ देखि सञ्चालनमा रहेको अर्ली वार्निङ एण्ड रिपोर्टिङ सिष्टम (EWARS) ले तोकिएका निगरानी अस्पतालबाट नियमित सूचना सङ्कलन गर्दै आएको छ । हाल यस प्रणालीमा १३४ अस्पताल निगरानी केन्द्रका रूपमा आबद्ध छन् ।
यसको पूरकका रूपमा सर्विलेन्स, आउटब्रेक रेस्पोन्स म्यानेजमेन्ट एण्ड एनालाइसिस सिष्टम (Surveillance, Outbreak Response Management and Analysis System -SORMAS) विस्तार गरिएको छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार सन् २०२३ मेदेखि २०२५ डिसेम्बरसम्म चरणबद्ध रूपमा यो प्रणाली नेपालका ७५३ वटै स्थानीय तहमा विस्तार गरिएको छ । यसका लागि १ हजार ५०० भन्दा बढी द्रुत प्रतिकार्य टोलीका सदस्यलाई तालिम दिइएको छ । SORMAS ले स्वास्थ्य संस्था, समुदाय र अन्य स्रोतबाट प्राप्त असामान्य स्वास्थ्य घटनाको सूचना एकीकृत गरी सम्बन्धित निकायसम्म पुर्याउन सहयोग गर्छ। यसले जोखिम मूल्याङ्कनका लागि निर्देशित प्रश्नावली र स्वचालित अलर्टको सुविधा पनि दिन्छ । (स्रोत: WHO Nepal, 7 August 2026)
त्यसपछि २०२६ अक्टोबर ५ मा विश्व स्वास्थ्य सङ्गठनले SORMAS सञ्चालनलाई सहयोग पुर्याउन स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयलाई ३५४ वटा ट्याब्लेट र एक समर्पित सर्भर हस्तान्तरण गरेको छ । यी पूर्वाधारले स्थानीय तथा जिल्ला तहमा सूचना सङ्कलन र व्यवस्थापनलाई सहयोग गर्ने अपेक्षा गरिएको छ । (स्रोत: WHO Nepal, 5 October 2026)
यी उपलब्धि महत्त्वपूर्ण छन् । तर, ७५३ स्थानीय तहमा प्रणाली विस्तार भएको तथ्यले ती सबै तहमा नियमित रिपोर्टिङ भइरहेको, सबै स्वास्थ्य संस्था सक्रिय रहेको वा प्रत्येक अलर्टमा प्रतिकार्य टोली परिचालन भएको प्रमाणित गर्दैन । प्रणाली पुगेको हुनु र प्रणाली प्रभावकारी रूपमा चलेको हुनु फरक कुरा हो ।
सङ्ख्या बढ्नु रोग बढेको मात्र होइन
स्वास्थ्य सेवा विभागको वार्षिक प्रतिवेदन २०८१/८२ को तालिका ९.९ अनुसार SORMAS मा अभिलेख भएका डेङ्गुका बिरामी आर्थिक वर्ष २०७९/८० मा ३ हजार ४३, २०८०/८१ मा ३० हजार १८८ र २०८१/८२ मा ४१ हजार ४९३ पुगेका छन् । स्क्रब टाइफसका अभिलेखित बिरामी क्रमशः ७६४, ७ हजार ७०६ र १३ हजार ३४५ छन्। हैजाका अभिलेखित बिरामी २०७९/८० मा ६३ रहेकामा २०८१/८२ मा १ हजार १८७ पुगेका छन् ।
यी सङ्ख्याले रोग निगरानीको महत्त्व र सङ्क्रामक रोगको चुनौती दुवै देखाउँछन् । तर, रिपोर्ट भएका बिरामीको सङ्ख्या बढ्नु वास्तविक सङ्क्रमण बढेको प्रमाण मात्र होइन । परीक्षणको पहुँच, स्वास्थ्य संस्थाको रिपोर्टिङ र निगरानी प्रणालीको विस्तारले पनि अभिलेखित सङ्ख्या बढाउन सक्छ । साथै, SORMAS मा अभिलेख भएका सबै घटना प्रयोगशालाबाट पुष्टि भएका केस हुन् भन्ने अर्थ लगाउनु हुँदैन । त्यसैले शङ्कास्पद, सम्भावित र प्रयोगशालाबाट पुष्टि भएका बिरामीको विवरण छुट्टाछुट्टै सार्वजनिक गर्नुपर्छ । (स्रोत: EDCD, Annual Health Report 2081/82)
अन्य देशको अनुभव : सफ्टवेयरभन्दा महत्त्वपूर्ण कार्यान्वयन
SORMAS को विकास पश्चिम अफ्रिकामा सन् २०१४–१५ को इबोला महामारीपछि भएको थियो । नाइजेरियाले सन् २०१७ देखि यसको राष्ट्रिय विस्तार गर्दै ७७४ स्थानीय सरकारी क्षेत्र र ३७ राज्यमा प्रयोग गरेको छ । यसले लासा फिभर, एमपक्स, मेनिन्जाइटिस र हैजाजस्ता रोगको निगरानी तथा प्रयोगशाला नतिजा र केस विवरण एकीकृत गर्न सहयोग पुर्याएको छ । नाइजेरियामा गरिएको प्रयोगकर्ता मूल्याङ्कनमा सन् २०१८ मा ९४ प्रतिशत सहभागीले प्रणाली उपयोगी ठानेका र ९२ प्रतिशतले अरूलाई सिफारिस गर्ने बताएका थिए । यो प्रयोगकर्ताको स्वीकार्यता देखाउने अध्ययन हो, महामारी नियन्त्रणमा कति मृत्यु घट्यो भन्ने प्रत्यक्ष प्रमाण भने होइन। (स्रोत: SORMAS Foundation; Tom-Aba et al., 2018)
घानाले सन् २०१९ मा नियमित रोग निगरानीका लागि SORMAS परीक्षण गरी कोभिड–१९ को समयमा राष्ट्रिय प्रतिकार्यमा प्रयोग गरेको थियो । त्यहाँको अध्ययनले वास्तविक समयको रिपोर्टिङ, मोबाइलबाट अफलाइन तथ्याङ्क सङ्कलन र प्रयोगशाला विवरण एकीकृत गर्ने क्षमतालाई उपयोगी मानेको छ । तर, कमजोर इन्टरनेट, विद्युत् आपूर्ति, विद्यमान स्वास्थ्य सूचना प्रणालीसँगको अन्तरआबद्धता र बाह्य आर्थिक सहयोगमाथिको निर्भरता चुनौतीका रूपमा देखिएका छन् ।
जर्मनी, फ्रान्स, स्विट्जरल्यान्ड र फिजीमा पनि कोभिड–१९ लगायतका स्वास्थ्य जोखिमको निगरानीमा यसको प्रयोग भएको छ । यी अनुभवले एउटै सफ्टवेयर सबै देशमा समान रूपमा सफल हुन्छ भन्ने होइन्, स्थानीय आवश्यकता, दक्ष जनशक्ति, पूर्वाधार र दीर्घकालीन बजेटले यसको प्रभावकारिता निर्धारण गर्छ भन्ने देखाउँछन् ।
नेपालले पनि SORMAS लाई नेपाली स्वास्थ्य प्रणालीअनुकूल बनाउनुपर्छ । इन्टरनेट नपुगेका क्षेत्रमा अफलाइन तथ्याङ्क सङ्कलन, नेपाली भाषाको सहज प्रयोग, रोगअनुसार छुट्टाछुट्टै विवरण र स्वास्थ्यकर्मीलाई दोहोरो रिपोर्टिङको भार नपर्ने व्यवस्था आवश्यक छ । SORMAS, EWARS, HMIS/DHIS2 र प्रयोगशाला सूचना प्रणालीबीच तथ्याङ्क आदान-प्रदान हुनुपर्छ । एउटै बिरामीको विवरण दोहोरिन नदिन र प्रयोगशाला नतिजा सम्बन्धित केससँग जोड्न साझा मापदण्ड विकास गर्नुपर्छ ।
७–१–७ लक्ष्य : घोषणा होइन, कार्यसम्पादनको मापन
नेपालको राष्ट्रिय प्रारम्भिक चेतावनी तथा प्रतिकार्य ढाँचाले ७–१–७ लक्ष्यलाई महत्त्व दिएको छ । यसको अर्थ प्रकोपको सङ्केत सात दिनभित्र पहिचान गर्ने, पहिचान भएपछि एक दिनभित्र सूचना दिने र त्यसपछिका सात दिनभित्र प्रभावकारी प्रतिकार्य सुरु गर्ने हो । यो लक्ष्य पूरा भयो कि भएन भन्ने कुरा मापन गर्न सकिन्छ । तर, लक्ष्य स्वीकार गर्नु र व्यवहारमा उपलब्धि हासिल गर्नु एउटै कुरा होइन ।
त्यसैले प्रकाशनअघि मात्र होइन, सार्वजनिक जवाफदेहिताका लागि पनि EDCD ले कम्तीमा तीनवटा तथ्य स्पष्ट पार्नुपर्छ ।
पहिलो, ७५३ स्थानीय तहमध्ये कति स्थानीय तहमा SORMAS नियमित रूपमा सक्रिय छ? कति स्वास्थ्य संस्थाले नियमित रिपोर्टिङ गर्छन्? स्थानीय तह र स्वास्थ्य संस्थाको कुल सङ्ख्यालाई आधार मानेर सक्रियताको अनुपात कति छ? प्रणालीमा खाता खोलिएको सङ्ख्या र नियमित रिपोर्टिङ गर्ने संस्थाको सङ्ख्या अलग-अलग सार्वजनिक गर्नुपर्छ ।
दोस्रो, आर्थिक वर्ष २०८२/८३ मा ७–१–७ लक्ष्यअनुसार वास्तविक उपलब्धि कति छ? कति प्रकोप सात दिनभित्र पहिचान भए, कति घटनाको सूचना एक दिनभित्र सम्बन्धित निकायमा पुग्यो र कति घटनामा सात दिनभित्र प्रभावकारी प्रतिकार्य सुरु भयो? औसत समय मात्र होइन, लक्ष्य पूरा भएका र नभएका घटनाको अनुपात तथा प्रदेशगत विवरण पनि सार्वजनिक हुनुपर्छ ।
तेस्रो, SORMAS मार्फत प्राप्त अलर्टमध्ये कति घटनामा प्रयोगशाला परीक्षणका लागि नमुना सङ्कलन भयो, कति घटनामा स्थलगत अनुसन्धान गरियो र कति घटनामा RRT परिचालन भयो? अलर्ट प्राप्त हुनु, त्यसको जोखिम मूल्याङ्कन हुनु र वास्तविक प्रतिकार्य हुनुबीचको दूरी यही तथ्यले देखाउँछ ।
यी सूचक सार्वजनिक भएमा कुन प्रदेशमा सूचना प्रवाह कमजोर छ, कहाँ प्रयोगशाला सेवा अपर्याप्त छ र कहाँ प्रतिकार्य टोली परिचालनमा ढिलाइ भइरहेको छ भन्ने पहिचान गर्न सकिन्छ । साथै, अलर्टको सङ्ख्या मात्र बढाएर प्रणाली सफल भएको दाबी गर्ने प्रवृत्तिलाई पनि रोक्न सकिन्छ ।
अबको प्राथमिकता : प्रविधिबाट जनताको सुरक्षासम्म
नेपालमा महामारी नियन्त्रणलाई स्वास्थ्य मन्त्रालयको एकल जिम्मेवारीका रूपमा हेर्नु हुँदैन । हैजा नियन्त्रणका लागि खानेपानी र सरसफाइ, पशुबाट सर्ने रोगका लागि पशु स्वास्थ्य, जलवायुजन्य जोखिमका लागि वातावरण तथा कृषि क्षेत्र र समुदायमा आधारित निगरानीका लागि स्थानीय सरकारबीच सहकार्य आवश्यक छ । यसका लागि मानव स्वास्थ्य, पशु स्वास्थ्य र वातावरणलाई एकीकृत गर्ने One Health अवधारणालाई व्यवहारमा लागू गर्नुपर्छ ।
त्यस्तै, ५२ वटै रोगलाई एउटै ढङ्गले निगरानी गर्नु व्यावहारिक हुँदैन् । डेङ्गु, हैजा, क्षयरोग र स्क्रब टाइफसजस्ता नियमित रूपमा देखिने रोगका लागि नियमित निगरानी र परीक्षण आवश्यक हुन्छ भने इबोला, लासा फिभरजस्ता दुर्लभ तर उच्च जोखिमका रोगका लागि तत्काल सूचना, जोखिम मूल्याङ्कन र आकस्मिक तयारी महत्त्वपूर्ण हुन्छ । रोगअनुसार केस परिभाषा, रिपोर्टिङ समयसीमा, परीक्षण विधि र प्रतिकार्य योजना स्पष्ट हुनुपर्छ ।
अन्ततः महामारी नियन्त्रणको सफलता कति ट्याब्लेट वितरण भयो, कति जनाले तालिम लिए वा कति स्थानीय तहमा सफ्टवेयर जडान भयो भन्ने आधारमा मात्र मापन हुँदैन । गाउँमा पहिलो बिरामी देखिँदा सूचना कति छिटो पुग्यो, रोगको स्रोत कति छिटो पहिचान भयो र थप मानिस सङ्क्रमित हुनुअघि राज्यले कस्तो प्रतिकार्य गर्यो भन्ने कुराले वास्तविक सफलता निर्धारण गर्छ ।
सरकारले ५२ रोगको सूची बनाएको छ, ७५३ स्थानीय तहमा SORMAS विस्तार गरेको छ र ७–१–७ लक्ष्य स्वीकार गरेको छ । अब नागरिकले यसको परिणाम जान्न चाहेका छन् । महामारी फैलिनुअघि नै राज्यको आँखा गाउँसम्म पुग्छ कि पुग्दैन? ७५३ स्थानीय तहमा SORMAS पुगेको छ तर महामारी रोक्ने राज्यको क्षमता कति पुगेको छ?