२०८३ मंसिर ७, सोमवार
Health Aawaj logo
गृहपृष्ठ ∕ प्रोफाइल ∕ २४ वर्षीया रितुको उडान : पहिलो प्रयासमै लोकसेवा पास र बीएनएस इन्ट्रान्स टप

२४ वर्षीया रितुको उडान : पहिलो प्रयासमै लोकसेवा पास र बीएनएस इन्ट्रान्स टप


ओखलढुङ्गाको चम्पादेवी गाउँपालिका–१० स्थित प्राथमिक स्वास्थ्य केन्द्र रानीवनमा सधैँझैँ बिहानीपख सेवामा खटिने तयारी चल्दै थियो । सरकारी सेवाको नियमित ड्युटीका लागि तयार हुँदै गरेकी २४ वर्षीया स्टाफ नर्स रितुकुमारी यादवको मोबाइलमा एउटा सन्देश आइपुग्यो— बीएनएस/बीएमएस २०८३ को इन्ट्रान्सको नतिजा सार्वजनिक भयो ।

उनी आबद्ध रहेको तयारी संस्था ‘स्मार्ट एकेडेमी’को समूहमा एक जना सरले नतिजा आएको जानकारी पठाएका थिए । हतार–हतार ड्युटी जाने तरखर गरिरहेकी रितुले समूहका अन्य सन्देशसमेत नहेरी आफैँ अनलाइनमा नतिजा खोज्न थालिन् । जब स्क्रिनमा नतिजा खुल्यो, उनी एकछिन स्तब्ध भइन्, अनि अपार खुसीले भरिइन् ।

चिकित्सा शिक्षा आयोगले सञ्चालन गरेको स्नातक तहको एकीकृत प्रवेश परीक्षा (बीएनएस/बीएमएस)—२०८३ मा देशभरका हजारौँ प्रतिस्पर्धीलाई उछिन्दै रितु प्रथम भएकी थिइन् । १६७.५ अङ्क प्राप्त गर्दै उनले पहिलो प्रयासमै बीएनएस/बीएमएसको इन्ट्रान्स टप गरेकी हुन् ।

‘स्मार्ट एकेडेमीबाट नतिजा आएको खबर आयो । त्यसपछि मैले ग्रुपको म्यासेजसमेत नहेरी आफैँले सर्च गरेर हेरेँ,’ हेल्थ आवाजसँगको टेलिफोन कुराकानीमा उनले त्यो क्षण सम्झिँदै भनिन्, ‘पहिलो नम्बरमै मेरो नाम देख्दा अत्यन्तै धेरै खुसी लाग्यो । म त त्यतिबेला पनि अफिस जाने तयारीमै थिएँ ।’

पहिलो प्रयासमै इन्ट्रान्स टप

चिकित्सा शिक्षा आयोगले १४—१८ कात्तिकसम्म चिकित्साशास्त्रको स्नातक तहको एकीकृत प्रवेश परीक्षा सञ्चालन गरेको थियो । १६ वटा विभिन्न शैक्षिक कार्यक्रमका लागि देश तथा विदेशबाट गरी कुल ७७ हजार ३५९ जनाले आवेदन फारम भरेका थिए । बीएनएस/बीएमएस तर्फको प्रवेश परीक्षामा ४ हजार बढीले परीक्षा दिए । आयोगले स्नातक तहका सबै कार्यक्रमका लागि कुल ९ हजार ६९१ सिट निर्धारण गरेको छ । यति ठूलो र कडा प्रतिस्पर्धाबीच सरकारी सेवाको नियमित ड्युटी सम्हाल्दै पहिलो प्रयासमै देशभरमै प्रथम स्थान हासिल गर्नु चानचुने उपलब्धि होइन् ।

रितुले तयारी कक्षाका लागि स्मार्ट एकेडेमी रोजेकी थिइन् । नियमित अध्ययन र स्मार्ट एकेडेमीको मार्ग दर्शनमा तयारी गरेकी उनी उक्त एकेडेमीबाट बीएनएस प्रवेश परीक्षामा राष्ट्रियस्तरमै पहिलो टपर बन्न सफल भएकी छन् ।

सहरका ठूला पुस्तकालय वा कोचिङ सेन्टरमा दिनरात घोटिएर पढ्ने विद्यार्थीहरूको भिडमा रितुको यात्रा भने अलि फरक थियो । उनी पहाडी जिल्ला ओखलढुङ्गाको दुर्गम स्वास्थ्य केन्द्रमा नियमित ड्युटीमा खटिँदै थिइन् । ‘नियमित ड्युटी र दैनिक कामकाजबाहेक बचेको समयमा नै मैले अध्ययन गर्ने गरेकी थिएँ,’ कति घण्टा पढ्नुहुन्थ्यो भन्ने प्रश्नमा उनी भन्छिन्, ‘ड्युटी पनि गर्नुपर्ने भएकाले फुर्सदको समय मिलाएर पढ्दा—पढ्दै यो नतिजा आयो ।’

देवानगञ्जदेखि ओखलढुङ्गासम्मको यात्रा

रितुको जन्म सुनसरी जिल्लाको देवानगञ्ज गाउँपालिका–७ स्थित राजगञ्ज सिनवारी टोलमा ७ असोज २०५९ मा भएको हो । बुवा गोपाल यादव र आमा प्रमिला देवी यादवकी जेठी छोरी हुन् रितु । तीन सन्तानमध्ये जेठी भएकाले परिवारप्रतिको जिम्मेवारीबोध र आफ्नै खुट्टामा उभिने अठोट उनमा सानैदेखि थियो । रितुकी एक बहिनी र एक भाइ छन् । दिदीकै पदचाप पछ्याउँदै उनकी बहिनी दीक्षा यादव पनि हाल धरानमा स्टाफ नर्सका रूपमा कार्यरत छिन् ।

रितुले विद्यालय तहको शिक्षा गाउँकै विद्यालयबाट पूरा गरिन् । उनले देवानगञ्जस्थित हरिनगरा माध्यमिक विद्यालयबाट एसईई उत्तीर्ण गरेकी हुन् । एसईईपछि धेरैजसो विद्यार्थीले विज्ञान वा अन्य सङ्कायमा कक्षा ११ र १२ (प्लस टु) पढ्ने बाटो रोज्छन् । तर, रितुले भने सिधै नर्सिङ पेसातर्फ लाग्ने निर्णय गरिन् ।

‘मैले प्लस टु गरिनँ, एसईईपछि सिधै पिसीएल नर्सिङ पढे,’ उनी भन्छिन् । नर्सिङ अध्ययनका लागि उनी विराटनगर आइन् र विराटनगर नर्सिङ क्याम्पसबाट प्रवीणता प्रमाणपत्र तह (पीसीएल) नर्सिङ पूरा गरिन् ।

लोकसेवामा पनि पहिलो प्रयासमै सफलता

रितुको सफलता बीएनएस प्रवेश परीक्षामा मात्रै सीमित छैन । पिसीएल नर्सिङको अध्ययन पूरा गरेपछि उनले वि.सं. २०८० सालमा लोकसेवा आयोगको परीक्षा दिएकी थिइन् । लोकसेवा आयोगको परीक्षामा पनि उनले पहिलो प्रयासमै नाम निकालिन्, त्यो पनि शीर्ष १० भित्र अर्थात् ९ औं नम्बरमा ।

लोकसेवा उत्तीर्ण भएपछि उनको पहिलो पदस्थापन (पोस्टिङ) ओखलढुङ्गा जिल्लाको चम्पादेवी गाउँपालिका–१० स्थित प्राथमिक स्वास्थ्य केन्द्र रानीवनमा भयो । तराईको सुनसरीमा हुर्केकी रितु सेवाभाव बोकेर पहाडी जिल्ला पुगिन् र त्यहाँका स्थानीय बासिन्दाको स्वास्थ्य सेवामा अहोरात्र खटिइन् । ‘मेरो लोकसेवामा पनि पहिलो अटेम्प्ट नै थियो, नाम पहिलो प्रयासमै निस्कियो र पहिलो पोस्टिङ ओखलढुङ्गामा भयो,’ उनी भन्छिन्, ‘यहीँ ड्युटी गर्दै जाँदा उच्च शिक्षाका लागि तयारी गरेकी हुँ ।’

सरकारी नर्सका रूपमा ग्रामीण क्षेत्रको स्वास्थ्य अवस्था नजिकबाट नियाल्न पाउनुलाई उनी आफ्नो करिअरको महत्त्वपूर्ण सिकाइ मान्छिन् । दुर्गम तथा पहाडी भेगका बिरामीहरूको पीडा, स्वास्थ्य सेवाको पहुँच र त्यहाँको आवश्यकताले नै उनलाई अझ दक्ष बन्न र उच्च अध्ययन गर्न प्रेरित गरिरह्यो ।

नर्सिङ पेसा रितुको रहर वा बाध्यता नभई उनको सचेत रोजाइ हो । भविष्यमा यही क्षेत्रमा रहेर सेवा गर्ने उनको अठोट छ । विशेषगरी मातृ तथा प्रसूति स्वास्थ्य (म्याटर्निटी) क्षेत्रमा काम गर्ने उनको मुख्य रुचि र लक्ष्य रहेको छ ।

‘यो नर्सिङ फिल्डलाई नै मैले खासमा रोजेको हुँ,’ आफ्नो भावी योजना सुनाउँदै रितु भन्छिन्, ‘अहिले पनि मेरो मुख्य फोकस म्याटर्निटीतिर छ ।’

स्वास्थ्य संस्थामा प्रसूति सेवाका क्रममा देखिने विभिन्न समस्या, कमजोरी र कतिपय अवस्थामा हुने विभेदप्रति उनी निकै संवेदनशील छिन् । समयसँगै धेरै परिवर्तन भए पनि अझै सुधार गर्नुपर्ने ठाउँ प्रशस्त रहेको उनको बुझाइ छ ।

‘अहिले म्याटर्निटीतिर हुने विभेद कति धेरै छ— हुन त पहिलेभन्दा परिवर्तन धेरै भएको छ, तर अझै पनि मलाई यही फिल्डमा बसेर काम गर्नु छ । म्याटर्निटी मेरो मुख्य फोकस त हो नै, तर त्यो सँगसँगै अन्य क्षेत्रका बिरामीलाई पनि अत्यावश्यक (एसेंसियल) केयर उपलब्ध गराउन पाउने मौका पाउँछु भन्ने आशा छ,’ उनी थप्छिन् ।

उच्च शिक्षा हासिल गरेपछि बिरामीलाई अझ परिष्कृत र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न सकिनेमा उनी विश्वस्त छिन् । देशभरमै प्रथम भएपछि अबको उनको लक्ष्य ज्ञान र सीपलाई अझ निखार्दै समुदाय र अस्पतालमा गुणस्तरीय नर्सिङ सेवा प्रवाह गर्नु रहेको छ ।

रोजाइमा महाराजगञ्ज नर्सिङ क्याम्पस

प्रवेश परीक्षामा सर्वोत्कृष्ट नतिजा हात पारेसँगै रितु अब थप अध्ययनका लागि काठमाडौँ जाने तयारीमा जुटेकी छन् । सरकारी सेवामा कार्यरत भएकाले उनले उच्च शिक्षा अध्ययनका लागि आवश्यक प्रक्रिया अगाडि बढाइसकेकी छन् ।

उनका अनुसार सरकारी नियमअनुसार पाइने तीन वर्षे अध्ययन बिदाका लागि उनले पूर्व स्वीकृतिसमेत लिइसकेकी छन् । ‘अब अध्ययन बिदा लिएर थप अध्ययनका लागि काठमाडौँ जान्छु,’ उनी भन्छिन्, ‘अध्ययन बिदाका लागि पालिकामा निवेदन दिएको छु । अध्ययन बिदा तीन वर्षको हुन्छ, त्यही स्वीकृति लिएर अगाडि बढ्नेछु ।’

देशभरमै प्रथम स्थान हासिल गरेकाले उनलाई नेपालका जुनसुकै प्रतिष्ठित नर्सिङ कलेजमा अध्ययन गर्ने बाटो खुला छ । कुन कलेज रोज्ने भन्ने विषयमा घरपरिवारसँग सल्लाह भइरहेको भएपनि उनको मनमा भने काठमाडौँको महाराजगञ्ज नर्सिङ क्याम्पस नै रहेको छ । ‘कलेजका विषयमा घरपरिवारसँग सल्लाह भइरहेको छ,’ उनले भनिन्, ‘मेरो सोचचाहिँ काठमाडौँको महाराजगञ्ज नर्सिङ क्याम्पसमै पढ्ने छ, अब हेरौँ के हुन्छ ।’

सुनसरीको देवानगञ्जस्थित ग्रामीण परिवेशबाट उठेकी रितुले एसईईपछि सिधै प्राविधिक शिक्षा रोजिन्, पहिलो प्रयासमै लोकसेवा पास गरेर पहाडी जिल्लामा सेवा गरिन् र अहिले ड्युटीकै बीचबाट समय निकालेर बीएनएस प्रवेश परीक्षामा देशभरमै प्रथम भइन् ।

रितुको यो सफलता लगनशीलता, समय व्यवस्थापन र लक्ष्यप्रतिको इमानदारिताले सम्भव भएको विराटनगर नर्सिङ क्याम्पसकी निवर्तमान क्याम्पस प्रमुख मेनुका भण्डारीले बताइन् । ‘तीन वर्षको उच्च अध्ययन पूरा गरेपछि पुनः नर्सिङ सेवामै फर्किएर आमा र नवजात शिशुको सुरक्षादेखि आम नागरिकको गुणस्तरीय स्वास्थ्य सेवामा समर्पित हुने रितुको अठोट साँच्चै प्रेरणादायी रहेको छ,’ रितुलाई पढाएकी मेनुकाले भनिन् ।


क्याटेगोरी : प्रोफाइल



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ