२०८३ असार १६, मंगलबार
Health Aawaj logo
गृहपृष्ठप्रोफाइलयुवापुस्ताकी अब्बल पेडियाट्रिक इन्टरभेन्सनल कार्डियोलोजिष्ट डा. रोमिला

युवापुस्ताकी अब्बल पेडियाट्रिक इन्टरभेन्सनल कार्डियोलोजिष्ट डा. रोमिला


युवापुस्तामाझ पेडियाट्रिक इन्टरभेन्सनल कार्डियोलोजिष्ट डा. रोमिला चिमोरियाको अलग्गै पहिचान छ । देशकै चुनिन्दा सेन्टर मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा पेडियाट्रिक इन्टरभेन्सनल कार्डियोलोजिष्टका रुपमा उम्दा भूमिकामा छन्, उनी । डा. रोमिला मनमोहनमा इन्टरभेन्सनल प्रविधि (बिना चिरफार गरिने शल्यक्रिया)मार्फत मुटुमा प्वाँल बन्द गर्नेलगायतका विभिन्न मुटु समस्या भएका बालबालिकाको उपचार संलग्न छन् ।

विहान ८ः३० बजे अस्पताल पुग्ने उनी त्यसपछि शल्यक्रिया भएका र भर्ना भएका बिरामीहरुको राउण्ड, इको जाँच, शल्यक्रियाजस्ता कर्ममा तल्लीन रहन्छिन् । मंगलबार र शुक्रबार भने ओपीडीमा बिरामी हेर्छिन् । ‘त्रिवि शिक्षण अस्पतालको आईसीयु, पिआईसीयुमा भर्ना भएका बालबालिकाहरुको कन्सल्टेसन गर्ने जिम्मेवारी पनि हाम्रो हुन्छ,’ उनले सुनाइन् । फिटल इको (गर्भमा रहेका बच्चाको मुटुको अवस्था जाँच गर्ने) काम पनि डा. रोमिलाले गर्दै आएकी छन् । ‘अस्पतालमा नियमित रुपमा गर्भमा रहेको १८ देखि २२ हप्ताको बच्चाको जन्मजात मुटुको समस्या जाँच गर्छौ,’ उनले भनिन् ।

त्यसबाहेक डा. रोमिला प्राज्ञिक कर्ममा पनि सक्रिय छन् । त्रिभुवन विश्वविद्यालयकी असिस्टेन्ट प्रोफेसर उनी चिकित्सा विज्ञानका विद्यार्थीहरुलाई पनि पढाउँछिन् । ‘सैद्धान्तिक र प्रयोगात्मक कक्षाहरु लिन्छु,’ उनले भनिन्, ‘एमबीबीएस, एमडी र डिएम कार्डियोलोजीका विद्यार्थीहरुलाई पनि पढाउने गर्छु ।’ त्यसबाहेक बचेखुचेको समय उनी पानीपोखरीस्थित प्रथम मल्टीस्पेसियालिटी पेडियाट्रिक क्लिनिकमा बिरामी हेर्छिन् ।

दुर्गममा सेवा गर्ने चाहना भएकी डा. रोमिला त्यो रहर पूरा गर्न हुम्ला, जुम्ला र कालिकोटलगायतका ठाउँमा स्वास्थ्य शिविरमार्फत बिरामी हेर्न पुगिसकेकी छन् । ‘नियमित काम गर्न सम्भव नहुने ठाउँहरुमा शिविरमार्फत बालबालिका हेर्छु,’ उनले भनिन्, ‘भविष्यमा अझ धेरै शिविरहरुमार्फत विकट वस्तीका बालबालिकाहरुको मुटुको उपचार गर्न मन छ ।’

युवा पेडियाट्रिक इन्टरभेन्सनल कार्डियोलोजिष्ट तथा प्राज्ञ डा. रोमिलाको जन्म वि.सं. २०४२ सालमा काठमाडौंको बागबजारमा भएको हो । बुवा रामशरण चिमोरिया सरकारी प्रशासक थिए भने आमा रोशनी पाण्डेय चिमोरिया गृहणी । रामशरणका तीन सन्तानमध्ये उनी दोस्रो हुन् । उनका एक दाजु र एक भाइ छन्, उनीहरु दुवै जना पनि चिकित्सक हुन् ।

डा. रोमिलाको बाल्यकालको प्रारम्भिक केही समय काठमाडौंमा बित्यो । सिफलको हिमालय विद्या मन्दिरबाट उनको प्रारम्भिक शिक्षादीक्षा अगाडि बढेको हो । तर, सरकारी जागिरे बुवाको देशका विभिन्न ठाउँमा सरुवा भइरहन्थ्यो । त्यही कारण डा. रोमिला र उनका दाजुभाइको बसाइँ—सराइँ पनि त्यही हुन्थ्यो । डा. रोमिलाको पढाइ सुर्खेतको रोजल्याण्ड, मलंगवाको जेसिस र चितवनको प्रेरणा हिमालयमा समेत भयो ।

कक्षा ७ पछि भने डा. रोमिला र उनका दाजुभाइले आमासँगै काठमाडौं बसेर पढाइलाई अगाडि बढाए । ‘आमासँग बसेर हामीले काठमाडौंमै पढाइलाई अगाडि बढायौं,’ डा. रोमिलाले हेल्थआवाजसँग भनिन्, ‘प्यारागन पब्लिक स्कुल बत्तिसपुतलीमा कक्षा ७ बाट पढ्न थाले ।’ स्कुल जीवनमा उनलाई विज्ञान र गणित विषयमा विशेष रुचि थियो ।

प्यारागनबाट डा. रोमिलाले एसएलसी उत्तीर्ण गरिन् । सानोमा बिरामी हुँदा उनका अभिभावकले डाक्टर कहाँ लग्थे । त्यही क्रममा उनमा डाक्टरी पेशाप्रतिको मोह जागेको थियो । ‘सानोमा बिरामी हुँदा बुवाआमाले डाक्टर कहाँ लग्नुहुन्थ्यो,’ उनले सुनाइन्, ‘त्यतिबेला बच्चाको डाक्टर कहाँ जाने भएकाले मलाई पनि बच्चाकै डाक्टर बन्न मन थियो ।’

एसएलसीपछि सन् २००१ मा उच्च शिक्षाका लागि उनी गहनापोखरीस्थित क्याम्पेन स्कुलमा प्लस टु पढ्न गइन् । त्यहाँ उनले विज्ञान विषय लिएर पढाइ अगाडि बढाइन् । पढाइमा अब्बल उनी कलेजकै राम्रो विद्यार्थी थिइन् । प्लस टु सकेपछि उनले एमबीबीएसका लागि इन्ट्रान्स दिइन् । इन्ट्रान्समा नाम निस्किएपछि डा. रोमिलाको डाक्टर भन्ने चाहना पूरा हुने यात्रा सुरु भयो ।

सन् २००४ मा उनले अत्तरखेलस्थित नेपाल मेडिकल कलेजमा एमबीबीएस अध्ययन सुरु गरिन् । ‘निरन्तर पढाइमा मेहनत गर्दै जाने हो । असफल भएर हार खानु हुँदैन्,’ आफ्नो एमबीबीएस जर्नीबारे डा. रोमिलाले सुनाउँछिन्, ‘५ वर्षे एमबीबीएस पढाइमा राम्रा शिक्षकहरुसँग पढ्न पाए । यसले मलाई अझ परिपक्व बनायो ।’ पढाइमा लगनशील भएकै कारण सन् २००८ मा उनले एमबीबीएस पनि राम्रै अंकका साथ उत्तीर्ण गरिन् ।

‘एमबीबीएसमा पढाइसँगै आफ्नो स्वास्थ्यलाई ध्यान दिनुपर्छ,’ उनले थपिन् । एमबीबीएमको इन्टर्नसीप सकिएको दुई महिनापछि उनको डा. माधव घिमिरेसँग विहे भयो । ‘उहाँ (श्रीमान)को एमडी र मेरो एमबीबीएस सकिएपछि हाम्रो बिहे भएको हो,’ डा. रोमिला सम्झन्छन् ।

बिहे भएपछि डा. रोमिलाले एक वर्ष धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको मेडिसिन विभागमा अनुसन्धानका काम गरिन् । त्यहीबीच उनका श्रीमानको डिएममा नाम निस्किएपछि उनी नेफ्रोलोजीमा डिएम गर्न कलेज अफ मेडिकल साइन्सेज चितवन गए । डा. माधव नेपालबाटै उत्तीर्ण पहिलो डिएम नेफ्रोलोजिष्ट हुन् ।

धरानमै कार्यरत रहँदा डा. रोमिला गर्भवती भएपछि काठमाडौं आइन् । उनको पहिलो सन्तान रियुबेन घिमिरेको जन्म भयो । पहिलो सन्तानको हुर्काइमा केही समय बिताएपछि उनी पिजी गर्ने तयारीमा लागिन् । यहीबीच डा. रोमिला पेडियाट्रिकमा रेजिडेन्सी गर्न विराटनगरस्थित नोबेल मेडिकल कलेज गइन् ।

‘तीन वर्षको रेजिडेन्सी सकेपछि चितवनको भरतपुर अस्पतालमा बाल रोग बिशेषज्ञको रुपमा दुई वर्ष काम गरे,’ डा. रोमिला भन्छिन् । त्यहीबीच उनी पुनः गर्भवती भएपछि काठमाडौं फर्किइन्, उनको दोस्रो सन्तानका रुपमा मिभानको जन्म भयो । मिभानलाई हुर्काएपछि उनले थप विशेषज्ञता हासिल गर्ने योजना बनाइन् ।

सन् २०१९ मा डा. रोमिला पेडियाट्रिक कार्डियोलोजीमा फेलोसिप गर्न भारतको म्याक्स सुपरस्पेसिलिटी अस्पताल गइन् । म्याक्स अस्पतालमा पेडियाट्रिक कार्डियोलोजीमा एक वर्ष फेलोसीप सकेपछि उनले थप एक वर्ष ‘पेडियाट्रिक इन्टरभेन्सनल कार्डियोलोजी’मा फेलोसीप गरिन् । ‘म आफ्ना बुवाआमालाई विशेष धन्यवाद दिन चाहन्छु,’ उनले भनिन्, ‘किनभने उहाँहरुले म विराटनगर र नयाँदिल्लीमा पढ्दा मेरो बच्चाहरुको हेरविचार गरिदिनुभयो ।’

म्याक्स अस्पतालमा दुई वर्षे फेलोसीप सकेर स्वदेश फर्किएपछि डा. रोमिला आफूले एमबीबीएस अध्ययन गरेकै नेपाल मेडिकल कलेजसँग आवद्ध भइन् । त्यहाँ उनले दुई वर्ष बिरामी सेवा र अध्यापनमा बिताइन् । त्यसपछि त्रिभुवन विश्वविद्यालयको मनमोहन कार्डियो थोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा रजिष्ट्रारमा नियुक्त भइन् ।

युवा चिकित्सक डा. रोमिला पछिल्ला दुई वर्षदेखि मनमोहन कार्डियोथोरासिक भास्कुल एण्ड ट्रान्सप्लान्ट सेन्टरमा ‘पेडियाट्रिक इन्टरभेन्सनल कार्डियोलोजिष्ट’का रुपमा सेवा पनि दिइरहेकी छन् । ‘अहिले बच्चामा हुने जन्मजात मुटु रोगसँगै मुटुका विभिन्न समस्या भएका बिरामीलाई हामीले उपचार गरिरहेका छौं,’ उनी भन्छिन्, ‘जन्मजात मुटुको समस्या भएका बालबालिकाहरुको शल्यक्रिया गर्ने, राउण्ड लिने राउण्ड लिने काममै दिन बितिरहेको छ ।’ मनमोहनमा सिनियर चिकित्सकहरुको टिमसँग डा. रोमिला बिना शल्यक्रिया मुटुको प्वाँल बन्दलगायतका मुटुका विभिन्न समस्याको नयाँ प्रविधिमार्फत इन्टरभेन्सन गरिरहेको छ । बच्चाहरुको मुटुमा समस्या भए/नभएको परीक्षण गर्ने, आवश्यक औषधिहरु चलाउने र आवश्यक परेमा शल्यक्रिया गर्ने वा सम्बन्धित कार्डियाक सर्जन कहाँ रेफर गर्ने ड्युटी पनि उनको छ ।

अनुसन्धानमाप पनि डा. रोमिला सक्रिय छन् । हालसम्म उनका १५ वटा अनुसन्धानमूलक लेखहरु विभिन्न राष्ट्रिय/अन्तर्राष्ट्रिय जर्नलमा प्रकाशित भइसकेका छन् । ‘त्रिवि शिक्षण अस्पताल आइसकेपछि अलि फुर्सद कम भएको छ,’ उनले सुनाइन्, ‘अब केही अनुसन्धानमूलक लेखहरु तयारीकै चरणमा छन् ।’


क्याटेगोरी : प्रोफाइल
ट्याग : #डा. रोमिला चिमोरिया, #पेडियाट्रिक इन्टरभेन्सनल कार्डियोलोजिष्ट, #मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ