२०८१ वैशाख १५, शनिबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १पूर्वाञ्चल विश्वविद्यालय स्वास्थ्य संकायको डिन ९ महिनादेखि रिक्त

पूर्वाञ्चल विश्वविद्यालय स्वास्थ्य संकायको डिन ९ महिनादेखि रिक्त

मेडिकल कलेजका संचालनको तयारी गरिरहेको विश्वविद्यालयले स्वास्थ्य संकायको डिन नै नियुक्त गर्न सकेन


विराटनगर—मेडिकल कलेजको रूपमा विकास गर्ने तयारी गरिएको पूर्वाञ्चल विश्वविद्यालयको स्वास्थ्य संकायकोको डिन ९ महिनादेखि रिक्त रहेको पाइएको छ । गत भदौंमा तत्कालीन डिन शैलेशमणि पोखरेलको कार्यकाल सकिएर बिदा भएपछि पूर्वाञ्चल विश्व विद्यालयको स्वास्थ्यको डिन रिक्त भएको ९ महिना बितिसक्दा पनि नयाँ नियुक्त हुन सकेको छैन ।

अहिले स्वास्थ्य संकाय निमित्तको भरमा चलिरहेको छ । पूर्वाञ्चल विश्वविद्यालयको स्वास्थ्य संकायको निमित्त डिनको जिम्मेवारी नवीन लामिछानेलाई दिइएको छ ।

१ असोज २०७९ देखि लामिछानेले निमित्तको जिम्मेवारी पाएका हुन् । सह—प्रध्यापक रहने स्वास्थ्य संकाय डिनको कार्यकाल चार वर्ष रहेको छ ।

पूर्वाञ्चल विश्वविद्यालयमा अहिले स्वास्थ्यका ७ वटा कार्यक्रमहरू संचालनमा छन् । जसमा बीएस्सी नर्सिङ, बीएन, बी फार्मेसी, एम फार्मेसी, जनस्वास्थ्यको स्नताक, स्नातकोत्तर र ल्याबको बीएस्सी एमएलटी कार्यक्रमहरू संचालनमा छन् ।

बीएस्सी नर्सिङमा ४० जना, बीएनमा ४० जनाको कोटा रहेको छ । यस्तै बी फार्मेसीमा ३० जना, एम फार्मेसी १० जना, जनस्वास्थ्यको स्नातकमा ४० जना, जनस्वास्थ्य स्नातकोत्तरमा १० जनाको कोटा रहेको छ । ल्याबको बीएस्सी एमएलटीमा ४० र एमएस्सी एमएलटीमा १० जनाको कोटा रहेको कलेजले जनाएको छ ।

विश्वविद्यालयले मेडिकल कलेज संचालनका लागि तयारी अगाडि बढाइरहेका बेला स्वास्थ्यको डिन नहुँदा कार्यक्रम प्रभावित हुनसक्ने बताइएको छ । ‘विश्वविद्यालयमा डिन भए आफ्नो कार्यकालमा गर्ने कामको योजनाको सूची तयार पारी काम गर्ने थिए । त्यहीअनुसार योजना बनाएर क्रमबद्ध रुपमा काम हुने थियो । तर, निमित्तले कहिलेसम्म काम गर्ने भन्ने अन्यौल रहन्छ । त्यसैले डिन भएजस्तो काम गर्न सजिल्लो भने हुदैन,’ पूर्वाञ्चल विश्वविद्यालयका एक प्राध्यापकले भने, ‘त्यही कारण चाँडै स्वास्थ्यको डिन नियुक्ति गरेर जिम्मेवारी दिनुपर्छ ।’

पूर्वाञ्चल विश्व विद्यालयका रजिष्ट्रार निलमणि पोखरेलले स्वास्थ्यको डिन चाँडै नियुक्ति हुने प्रक्रियामा रहेको बताए । ‘माघमा विज्ञापन आव्हान गरिएकोले अहिले केही निवेदन परेको छ । त्यसको लागि अध्ययन गर्ने समिति बनेको छ । समितिले सिफारिस गरेपछि उपकुलपतिको संयोजकत्वमा रहने समितिले डिन चाँडै नियुक्ति गर्नेछ,’ रजिष्टार पोखरेलले भने ।


क्याटेगोरी : प्रदेश १, स्वास्थ्य शिक्षा



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ