२०८३ मंसिर ९, बुधवार
Health Aawaj logo
गृहपृष्ठ ∕ प्रदेश १ ∕ विराट मेडिकल कलेज टिचिङ हस्पिटलमा १० मंसिरदेखि शल्यचिकित्सकको राष्ट्रिय सम्मेलन हुँदैं

विराट मेडिकल कलेज टिचिङ हस्पिटलमा १० मंसिरदेखि शल्यचिकित्सकको राष्ट्रिय सम्मेलन हुँदैं

‘एसएसएनकन २०२६’ मा स्वदेशी तथा विदेशी शल्यचिकित्सकको जमघट हुने


विराटनगर—कोशी प्रदेशमा झण्डै दुई दशकपछि शल्यचिकित्सकहरूको राष्ट्रिय सम्मेलन हुने भएको छ । नेपाल शल्यचिकित्सक समाज (एसएसएन)को १५औँ राष्ट्रिय सम्मेलन ‘एसएसएनकन २०२६’ आगामी १० देखि १२ मंसिरसम्म हुने मोरङस्थित विराट मेडिकल कलेज टिचिङ हस्पिटलमा हुने भएको हो ।

मंगलबार एसएसएन कोशी प्रदेशले विराटनगरमा पत्रकार सम्मेलन गरी तीन दिने सम्मेलनबारे जानकारी दिएको छ । कोशी प्रदेशका अध्यक्ष प्रा. डा. रोहितप्रसाद यादवका अनुसार सम्मेलनमा नेपालसहित भारत, बंगलादेश, पाकिस्तान, अफगानिस्तान, जापान, फिलिपिन्स, संयुक्त अरब इमिरेट्स (यूएई) र मलेसियाका शल्यचिकित्सक, अनुसन्धानकर्ता, प्राध्यापक तथा चिकित्सकको सहभागिता रहनेछ । सम्मेलन नेपाल शल्यचिकित्सक समाज केन्द्रसँगको सहकार्यमा आयोजना गरिएको हो ।

‘शल्यचिकित्सामा उत्कृष्टताको अभिवृद्धिः नवप्रवर्तन, प्रविधि र सहकार्य’ नाराका साथ हुने सम्मेलनमा शल्यक्रियाका नवीन प्रविधि, कम चिरफारबाट गरिने उपचार पद्धति, बिरामी सेवाको गुणस्तर सुधार र चिकित्सा क्षेत्रमा भइरहेका नयाँ अनुसन्धानबारे छलफल हुने आयोजकले जनाएको छ ।

कार्यक्रमअनुसार सम्मेलनको पहिलो दिन १० मंसिरमा तीन वटा पूर्वसम्मेलन कार्यशाला सञ्चालन गरिनेछ । कार्यशालामा इन्डोस्कोपी तथा कोलोनोस्कोपी, हर्नियाको शल्यक्रिया र मलद्वारसम्बन्धी रोगको उपचारबारे व्यावहारिक तालिम दिइनेछ । पेटको क्यान्सर र कलेजोको शल्यक्रियाको तयारीबारे विज्ञसँग अन्तरक्रिया पनि हुनेछ ।

११ र १२ मंसिरमा मुख्य वैज्ञानिक कार्यक्रम हुनेछ । जसमा अनुसन्धानपत्र तथा ई–पोस्टर प्रस्तुति, विशेषज्ञ प्रवचन र अन्तरक्रियात्मक सत्र समावेश छन् । हर्निया, अन्ननली, पेट, कलेजो, प्यान्क्रियाज, कोलोरेक्टल, स्तन, युरोलोजी तथा न्युरोसर्जरीसम्बन्धी विषयमा छुट्टाछुट्टै सत्र हुनेछन् ।

रोबोटिक शल्यक्रिया र चिकित्सा शिक्षामा कृत्रिम बौद्धिकता (एआई) को प्रयोगजस्ता नवीन विषयमा पनि छलफल गरिनेछ । मंसिर ११ गते साँझ उद्घाटन समारोह हुने कार्यक्रम तालिकामा उल्लेख छ ।

कार्यक्रमअन्तर्गत ल्याप्रोस्कोपिक शल्यक्रियासम्बन्धी सिप प्रतियोगिता ‘एमआईएस च्याम्पियनसिप’ पनि हुनेछ । युवा शल्यचिकित्सक तथा आवासीय चिकित्सकका उत्कृष्ट अनुसन्धानपत्र र पोस्टरलाई विभिन्न विधामा पुरस्कृत गरिने आयोजकले जनाएको छ ।

सम्मेलनमार्फत अनुभवी र युवा शल्यचिकित्सकबीच ज्ञान तथा अनुभवको आदानप्रदानसँगै सहकार्य विस्तार गर्ने र नेपालमा शल्यचिकित्सा सेवाका चुनौती तथा सम्भावनाबारे राष्ट्रियस्तरमा बहस गर्ने लक्ष्य राखिएको छ । समाजले सम्मेलनमा सहभागी हुन नेपाल तथा विदेशमा कार्यरत सम्पूर्ण शल्यचिकित्सक, प्राध्यापक, आवासीय चिकित्सक, अनुसन्धानकर्ता र स्वास्थ्यकर्मीलाई आग्रह गरेको छ ।


क्याटेगोरी : प्रदेश १, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ