२०८३ मंसिर ८, मंगलवार
Health Aawaj logo
गृहपृष्ठ ∕ अन्तर्वार्ता / विचार ∕ बाल शल्यचिकित्सा सम्भावनाका ढोका, चुनौतीका पर्खाल

बाल शल्यचिकित्सा सम्भावनाका ढोका, चुनौतीका पर्खाल

नेपालमा बाल शल्यचिकित्साको वर्तमान अवस्था, अवसर र भविष्य


एउटा बच्चाको जीवन बचाउनु केवल एउटा जीवन बचाउनु होइन– त्यो एउटा परिवारको भविष्य जोगाउनु हो । अझ ठूलो अर्थमा बालबालिका कुनै पनि राष्ट्रको भविष्यका आधारस्तम्भ हुन् । उनीहरूको स्वास्थ्य, विकास र जीवनको गुणस्तरले देशको समग्र मानव विकासमा प्रत्यक्ष प्रभाव पार्छ ।

जन्मजात विकृति, दुर्घटना, सङ्क्रमण, ट्युमर तथा शल्य उपचार आवश्यक पर्ने अन्य रोगको समयमै पहिचान र विशेषज्ञबाट उपचार हुन सके धेरै बालबालिकाको जीवन बचाउन सकिन्छ । उनीहरूको भविष्य सुरक्षित बनाउन सकिन्छ ।

यही सन्दर्भमा बाल शल्यचिकित्सा (Pediatric Surgery) को भूमिका महत्वपूर्ण हुन्छ । नवजात शिशु, एक वर्ष तथा पाँच वर्षभन्दा मुनिका बालबालिकाको मृत्युदर घटाउन पनि नवजात तथा बाल शल्यचिकित्साले महत्वपूर्ण योगदान पु¥याउँछ ।

नेपालमा पछिल्ला केही वर्षमा बाल शल्यचिकित्सा सेवा विस्तार हुँदै आए पनि विशेषज्ञ जनशक्तिको कमी, सीमित विशेषज्ञ पूर्वाधार, असमान सेवा वितरण तथा नीतिगत कमजोरीका कारण यो सेवा अझै अपेक्षित स्तरमा पुग्न सकेको छैन । तर, स्वास्थ्य सेवाको विस्तार, विशेषज्ञ शिक्षाको विकास र सरकारी प्राथमिकतामा बालस्वास्थ्यले क्रमशः स्थान पाउँदै जाँदा यस क्षेत्रमा उल्लेखनीय सम्भावना पनि देखिएको छ ।

बाल शल्यचिकित्सा आखिर के हो ?

बाल शल्यचिकित्सा चिकित्सा विज्ञानको एक विशिष्टीकृत शाखा हो । जसले नवजात शिशु, शिशु, बालबालिका तथा १८ वर्षसम्मका किशोर–किशोरीमा देखिने शल्यक्रिया आवश्यक पर्ने जन्मजात तथा प्राप्त रोगहरूको निदान, उपचार र शल्यक्रियात्मक व्यवस्थापनमा विशेषज्ञता प्रदान गर्छ ।

बालबालिकाको शरीर, रोगको प्रकृति, औषधिको मात्रा, एनेस्थेसिया व्यवस्थापन तथा शल्यक्रियापछिको उपचार वयस्कभन्दा पूर्णतः फरक हुने भएकाले उनीहरूको उपचारका लागि विशेष तालिम प्राप्त बाल शल्यचिकित्सक आवश्यक हुन्छ ।

बाल शल्यचिकित्साले मुख्यतः गर्भावस्थाका समस्याहरू, जन्मजात विकृति, एपेन्डिसाइटिस, हर्निया तथा हाइड्रोसिल, आन्द्रा अवरोध र बाल्यकालीन ट्युमरजस्ता समस्याको उपचार गर्छ । त्यसैगरी, मूत्र प्रणालीका जन्मजात समस्या, नवजात शिशुका जटिल शल्य समस्या, चोटपटक तथा आपत्कालीन शल्यक्रिया र बाल्यकालीन जलनको उपचार पनि यसै क्षेत्रअन्तर्गत पर्छ ।

प्रविधि भित्रिँदैछ, पहुँच अझै सीमित

विश्वस्तरमा बाल शल्यचिकित्सामा प्रविधि र उपचार पद्धति तीव्र रूपमा विकास भइरहेको छ । नेपालमा पनि इशान बाल तथा महिला अस्पतालले ल्यापारोस्कोपिक अर्थात् न्यूनतम चिरफार शल्यक्रिया (Minimal Access Surgery), थोराकोस्कोपिक सर्जरी, नवजात शल्यचिकित्सा, बाल युरोलोजी तथा बाल क्यान्सर शल्यचिकित्साजस्ता आधुनिक सेवा विकास गरिरहेको छ ।

नेपालमा यस्ता सेवा विस्तार हुँदै गए पनि सरकारी स्तरमा सबै प्रदेश र जिल्लामा विशेषज्ञ अस्पताल उपलब्ध छैनन् । अर्थात्, उपचारको प्रविधि र क्षमता विस्तार हुँदैछ तर त्यसको पहुँच अझै समान छैन ।

सम्भावना : आवश्यकता ठूलो, अवसर अझ ठूलो

नेपालमा हरेक वर्ष हजारौँ बालबालिका जन्मजात विकृति, शल्य उपचार आवश्यक पर्ने रोग तथा अग्नि जलनका दुर्घटनाबाट प्रभावित हुने गरेका छन् ।

समयमै विशेषज्ञ उपचार उपलब्ध हुन सके यस्ता धेरै बालबालिकाको जीवन बचाउन सकिन्छ । यही कारण नेपालमा बाल शल्यचिकित्साको सम्भावना उच्च देखिन्छ ।

नेपालमा बाल शल्यचिकित्साको सम्भावना उच्च

  • नवजात तथा बाल स्वास्थ्य सेवाको विस्तार
  • बालबालिकाका लागि विशेष स्वास्थ्य बिमा कार्यक्रमको क्रमिक विस्तार
  • मातृ तथा शिशु मृत्युदर घटाउने राष्ट्रिय लक्ष्य
  • प्रदेशस्तरीय विशेषज्ञ अस्पतालहरूको विकास
  • निजी अस्पतालमा सुपर–स्पेसियालिटी सेवाको विस्तार
  • आधुनिक शल्य उपकरण तथा प्रविधिको उपलब्धता
  • बाल युरोलोजी, बाल ट्रमा तथा न्यूनतम चिरफार शल्यक्रियाजस्ता उपविशेषतामा बढ्दो आवश्यकता
  • अग्नि जलन सेवाको विस्तार र सुधार

तर, नेपालका धेरै जिल्लामा अझै बाल शल्यचिकित्सक उपलब्ध छैनन् । यही अवस्थाले आगामी दिनमा विशेषज्ञ जनशक्तिको माग अझ बढ्ने सङ्केत गर्छ ।

नेपाल मात्र होइन, विश्व पनि खोजिरहेको छ

बाल शल्यचिकित्सकको माग विश्वव्यापी रूपमा निरन्तर बढिरहेको छ । विशेष गरी विकासोन्मुख देशमा विशेषज्ञ जनशक्तिको अभाव छ । विकसित राष्ट्रहरूमा भने उच्चस्तरीय प्रविधि तथा अनुसन्धानसँग जोडिने अवसर प्रशस्त छन् ।

अन्तर्राष्ट्रियस्तरमा बाल शल्यचिकित्सकका लागि फेलोसिप तथा सुपर–स्पेसालिटी तालिम, अनुसन्धान तथा नवप्रवर्तन, अन्तर्राष्ट्रिय अस्पतालमा विशेषज्ञ सेवा र विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ), युनिसेफलगायतका संस्थामा प्राविधिक योगदानका अवसर छन् ।

त्यसैगरी, शिक्षण तथा शैक्षिक नेतृत्व, अन्तर्राष्ट्रिय सम्मेलन र वैज्ञानिक प्रकाशनका माध्यमबाट पनि यस क्षेत्रमा आफ्नो व्यावसायिक दायरा विस्तार गर्न सकिन्छ ।

नेपालका बाल शल्यचिकित्सकहरूले विभिन्न अन्तर्राष्ट्रिय संस्थासँग सहकार्य गर्दै अनुसन्धान, प्रशिक्षण तथा सेवा प्रवाहमा योगदान दिइरहेका छन् । यसले अन्तर्राष्ट्रियस्तरमा नेपालको पहिचानलाई पनि बलियो बनाइरहेको छ ।

विशेषज्ञ बन्ने लामो बाटो

बाल शल्यचिकित्सक बन्न लामो र व्यवस्थित शैक्षिक यात्रा पूरा गर्नुपर्छ । सामान्यतया यसको बाटो यस्तो हुन्छ :

MBBS → MS General Surgery → Pediatric Surgery df Fellowship वा ःM.Ch=÷Super Specialty Training → नेपाल मेडिकल काउन्सिलमा दर्ता

नेपालमा बाल शल्यचिकित्सा शिक्षाको विकास पनि क्रमसः विस्तार हुँदै गएको छ । केही शिक्षण अस्पतालले नेपाल मेडिकल काउन्सिलबाट मान्यता प्राप्त M.Ch. Pediatric Surgery सञ्चालन गरिरहेका छन् भने इशान बाल तथा महिला अस्पतालमा बाल शल्यचिकित्सा विशेषज्ञ फेलोसिप कार्यक्रम सञ्चालन भइरहेको छ ।

यसले नेपालमै दक्ष विशेषज्ञ उत्पादन गर्ने वातावरण निर्माण गर्न सहयोग पु¥याएको छ । तर, चुनौती अझै छन् । सीमित प्रशिक्षण केन्द्र, पर्याप्त केस एक्सपोजरको आवश्यकता, अनुसन्धानको कमी, अत्याधुनिक सिमुलेसन प्रयोगशालाको अभाव तथा अन्तर्राष्ट्रिय फेलोसिपमा सीमित पहुँचले विशेषज्ञ उत्पादनको यात्रालाई अझै कठिन बनाइरहेको छ ।

त्यसैले भविष्यमा विश्वविद्यालय, शिक्षण अस्पताल र सरकारबीचको सहकार्यबाट थप सुपर–स्पेसियालिटी कार्यक्रम विस्तार गर्न आवश्यक छ ।

नीति नबनेसम्म सेवा विस्तार अधुरो

बाल शल्यचिकित्सा सेवा प्रभावकारी बनाउन केवल विशेषज्ञ उत्पादन पर्याप्त हुँदैन । यसका लागि स्पष्ट राष्ट्रिय नीति, दीर्घकालीन योजना र पर्याप्त लगानी आवश्यक हुन्छ ।

नेपालको सन्दर्भमा बाल शल्यचिकित्साको विकासका लागि केही आधारभूत पक्षमा विशेष ध्यान दिनुपर्ने देखिन्छ ।

१. राष्ट्रिय बाल शल्यचिकित्सा नीति
बालशल्य सेवा विकास, विशेषज्ञ जनशक्ति व्यवस्थापन, उपकरणको मापदण्ड तथा सेवा विस्तारका लागि छुट्टै राष्ट्रिय रणनीति आवश्यक छ ।

२. प्रदेशस्तरीय बाल शल्यचिकित्सा केन्द्र
प्रत्येक प्रदेशमा कम्तीमा सरकारी स्तरमा एउटा पूर्ण सुविधासम्पन्न बाल शल्यचिकित्सा केन्द्र स्थापना हुनुपर्छ, जहाँ नवजात शिशुदेखि जटिल शल्य सेवा उपलब्ध होस् ।

३. मानव स्रोत विकास
सरकार तथा विश्वविद्यालयले नियमित रूपमा फेलोसिप तथा सुपर–स्पेसियालिटी कार्यक्रम विस्तार गरी आवश्यक सङ्ख्यामा बाल शल्यचिकित्सक उत्पादन गर्नुपर्छ ।

४. पूर्वाधार र उपकरणमा लगानी
बालमैत्री अपरेसन थिएटर, नवजात सघन उपचार कक्ष (NICU), बाल एनेस्थेसिया सेवा, आधुनिक ल्याप्रोस्कोपिक उपकरण तथा बाल सघन उपचार कक्ष (PICU) को विकास अपरिहार्य छ ।

५. ग्रामीण पहुँच
दूरदराजका जिल्लामा कार्यरत चिकित्सकलाई जन्मजात विकृति तथा शल्य रोगको प्रारम्भिक पहिचानसम्बन्धी तालिम दिई प्रभावकारी रेफरल प्रणाली विकास गर्नुपर्छ ।

६. स्वास्थ्य बिमा र आर्थिक पहुँच
बालशल्य उपचारलाई स्वास्थ्य बिमा कार्यक्रमभित्र प्रभावकारी रूपमा समेटेर आर्थिक अभावका कारण उपचारबाट वञ्चित हुने अवस्थाको अन्त्य गर्नुपर्छ ।

७. अनुसन्धान र तथ्याङ्क व्यवस्थापन
नेपालमा बालशल्य रोगहरूको राष्ट्रिय रजिस्ट्रेसन प्रणाली स्थापना गरी अनुसन्धान, नीति निर्माण तथा सेवा सुधारका लागि तथ्यमा आधारित निर्णय प्रणाली विकास गर्न आवश्यक छ ।

चुनौतीको सूची लामै छ

सम्भावना जति ठूलो छ, चुनौती पनि उत्तिकै गम्भीर छन् । नेपालमा बाल शल्यचिकित्सा क्षेत्रले अहिले विभिन्न समस्याको सामना गरिरहेको छ ।

विशेषज्ञ चिकित्सकको अभाव, काठमाडौँ केन्द्रित सेवा, ढिलो रेफरल प्रणाली, सीमित प्रशिक्षण संस्था, अपर्याप्त पूर्वाधार, आधुनिक उपकरणको कमी, जनचेतनाको अभाव, अनुसन्धान तथा तथ्याङ्कको अभाव, आर्थिक असमानता र ग्रामीण क्षेत्रमा विशेषज्ञ सेवाको न्यून पहुँचजस्ता समस्या विद्यमान छन् । यी चुनौती समाधान नगरेसम्म बाल शल्यचिकित्साको सेवा विस्तार समान र प्रभावकारी हुन सक्दैन ।

अबको प्रश्न : सम्भावनालाई सेवामा कसरी बदल्ने ? बाल शल्यचिकित्सा आधुनिक स्वास्थ्य सेवाको अत्यन्त महŒवपूर्ण र संवेदनशील क्षेत्र हो । यो केवल शल्यक्रियासँग सम्बन्धित विषय होइन । यसले हजारौँ बालबालिकाको जीवन बचाउने, अपाङ्गता रोक्ने र स्वस्थ भविष्य निर्माण गर्ने आधार तयार गर्छ ।

नेपालमा यस क्षेत्रको विकासका लागि सम्भावना उल्लेखनीय छ । तर, सम्भावनालाई परिणाममा बदल्न विशेषज्ञ जनशक्ति, पूर्वाधार, नीतिगत स्पष्टता, अनुसन्धान र सेवा विस्तारमा व्यापक सुधार आवश्यक छ ।

सरकारले दीर्घकालीन योजना बनाउनुपर्छ । विश्वविद्यालयहरूले गुणस्तरीय शिक्षा र प्रशिक्षण विस्तार गर्नुपर्छ । स्वास्थ्य संस्थाले आधुनिक सेवा र पूर्वाधार विकास गर्नुपर्छ । विशेषज्ञ चिकित्सकले अनुसन्धान र क्षमता विकासमा जोड दिनुपर्छ ।

यी पक्ष एकसाथ अघि बढ्न सके नेपाल दक्षिण एसियामै गुणस्तरीय बाल शल्यचिकित्सा सेवाको केन्द्र बन्न सक्ने सम्भावना छ ।

बालबालिकाको जीवन बचाउने शल्यकक्षदेखि विशेषज्ञ जनशक्ति उत्पादन गर्ने कक्षासम्म– नेपालको बाल शल्यचिकित्साको आगामी यात्रा सम्भावना र चुनौतीले भरिएको छ । सम्भावना प्रशस्त छ । चुनौती पनि स्पष्ट छ । अब आवश्यकता छ– नीति, लगानी र पहुँचलाई एउटै दिशामा अघि बढाउने ।

(डा. चौधरी टोखास्थित इशान बाल तथा महिला अस्पताल प्रा.लि. प्रमुख बाल शल्यचिकित्सक तथा बाल मूत्ररोग विशेषज्ञ (युरोलोजिस्ट) हुन् ।)


क्याटेगोरी : अन्तर्वार्ता / विचार, हेल्थआवाज म्यागेजिन



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ