स्वदेशी औषधि उद्योगलाई गुणस्तर, विश्वास, बजार र दीर्घकालीन नीतिको आधार दिन सकियो भने नेपाल आयातमा निर्भर बजारबाट आत्मनिर्भर र निर्यातमुखी औषधि अर्थतन्त्रतर्फ अघि बढ्न सक्छ ।
१. स्वदेशी औषधि उद्योग : राष्ट्रिय आवश्यकता
औषधि सामान्य व्यापारिक वस्तु मात्र होइन, यो नागरिकको जीवन, स्वास्थ्य प्रणालीको निरन्तरता र राष्ट्रिय सुरक्षासँग जोडिएको रणनीतिक उत्पादन हो । महामारी, प्राकृतिक विपद्, सीमा अवरोध, अन्तर्राष्ट्रिय आपूर्ति श्रृङ्खलामा अवरोध वा भू–राजनीतिक तनावका समयमा औषधिको सहज उपलब्धता कमजोर भयो भने त्यसको प्रत्यक्ष असर बिरामी र स्वास्थ्य संस्थामा पर्छ । त्यसैले खाद्य, ऊर्जा र वित्तीय सुरक्षाजस्तै औषधि सुरक्षा पनि राज्यको दीर्घकालीन सोचभित्र पर्नुपर्छ ।
नेपालमा निजी तथा सार्वजनिक क्षेत्रले दशकौँदेखि औषधि उत्पादनमा पुँजी, प्रविधि र जनशक्ति परिचालन गरेका छन् । उद्योग विभागको सन् २०२१ को विस्तृत अध्ययनले त्यसबेला सञ्चालनमा रहेका ६६ औषधि उद्योगमा ३५ अर्ब रुपैयाँभन्दा बढी लगानी रहेको, करिब २० हजार प्रत्यक्ष रोजगारी सिर्जना भएको र धेरै उत्पादन लाइनको क्षमता उपयोग पूर्ण क्षमताभन्दा निकै कम रहेको देखाएको थियो । सोही अध्ययनले घरेलु औषधिको बजार हिस्सा करिब ४६ प्रतिशत रहेको उल्लेख गरेको थियो ।
यी तथ्य आजका लागि ठ्याक्कै बजार मापन होइनन् तर नेपालसँग उत्पादनको आधारभूत संरचना, जनशक्ति र विस्तार गर्न सकिने औद्योगिक क्षमता पहिल्यै रहेको स्पष्ट सङ्केत हुन् । औषधि उद्योगमा लगानी भनेको भवन र मेसिन मात्र होइन । औषधि उत्पादन कुशल अभ्यासअनुरूप उत्पादन क्षेत्र, ताप–आद्र्रता नियन्त्रण, शुद्ध पानी प्रणाली, गुणस्तर नियन्त्रण प्रयोगशाला, परीक्षण उपकरण, दक्ष फार्मासिस्ट र प्राविधिक, अभिलेखीकरण, स्थायित्व अध्ययन तथा नियामकीय अनुपालनमा निरन्तर खर्च आवश्यक हुन्छ । त्यसैले औषधि उद्योगको विकासलाई क्षणिक बजार नाफाको दृष्टिले होइन, दीर्घकालीन राष्ट्रिय क्षमता निर्माणको दृष्टिले हेर्नुपर्छ । राज्यले स्वदेशी उद्योगलाई विश्वासयोग्य वातावरण दिनुपर्छ र उद्योगले त्यसको प्रतिफल गुणस्तर, उचित मूल्य, नियमित आपूर्ति र उत्तरदायी व्यवसायिक व्यवहारबाट दिनुपर्छ ।
२. संवैधानिक आधार र राज्यको दायित्व
नेपालको संविधान, २०७२ ले स्वदेशी औषधि उद्योगको विकासलाई स्वास्थ्य अधिकार र आर्थिक आत्मनिर्भरता दुवै कोणबाट समर्थन गर्ने स्पष्ट आधार दिएको छ । धारा ३५ ले प्रत्येक नागरिकलाई आधारभूत स्वास्थ्य सेवामा पहुँचको हक सुनिश्चित गरेको छ । धारा ४४ ले प्रत्येक उपभोक्तालाई गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने हक प्रदान गरेको छ । औषधि नागरिकको स्वास्थ्यसँग प्रत्यक्ष सम्बन्धित भएकाले उपलब्धता र गुणस्तर दुवै राज्यको सरोकार बन्नु स्वाभाविक हो ।
संविधानको धारा ५० (३) ले सार्वजनिक, निजी र सहकारी क्षेत्रको सहभागिता तथा विकासमार्फत उपलब्ध साधन–स्रोतको अधिकतम परिचालन गर्दै राष्ट्रिय अर्थतन्त्रलाई आत्मनिर्भर, स्वतन्त्र र उन्नतिशील बनाउने आर्थिक उद्देश्य राखेको छ । अझ महत्त्वपूर्ण रूपमा धारा ५१ (घ) अन्तर्गत अर्थ, उद्योग र वाणिज्यसम्बन्धी नीतिले राष्ट्रिय उद्योगधन्दा र साधन–स्रोतको संरक्षण तथा प्रवर्धन, नेपाली श्रम, सिप र कच्चा पदार्थमा आधारित स्वदेशी लगानीलाई प्राथमिकता, स्वदेशी लगानीको प्रोत्साहन तथा राष्ट्रिय हितअनुकूल आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धनलाई मार्गनिर्देशन गरेको छ ।
यसैले गुणस्तरीय स्वदेशी औषधि उद्योगलाई प्रोत्साहन गर्नु कुनै एउटा व्यावसायिक समूहलाई विशेष सुविधा दिनु मात्र नभई संविधानले परिकल्पना गरेको आत्मनिर्भर अर्थतन्त्र, राष्ट्रिय उद्योगको संरक्षण, उपभोक्ता अधिकार र स्वास्थ्य सेवाको उपलब्धतालाई एउटै नीतिगत सूत्रमा जोड्ने काम हो । राज्यको प्रमुख दायित्व स्वदेशी उत्पादन सम्भव भएका क्षेत्रमा निष्पक्ष अवसर, पूर्वानुमानयोग्य नीति, गुणस्तरमा समान मापदण्ड र दीर्घकालीन लगानीको सुरक्षा सिर्जना गर्नु हो । यही संवैधानिक भावनालाई कर, भन्सार, सार्वजनिक खरिद, स्वास्थ्य कार्यक्रम, व्यापार नीति र नियमनमा व्यावहारिक रूप दिनुपर्ने समय आएको छ ।
३. वर्तमान अवस्था, नीति र कानुनी व्यवस्था
नेपालको औषधि क्षेत्रलाई औषधि ऐन, २०३५, औषधि दर्ता नियमावली, २०३८, औषधि जाँचबुझ तथा निरीक्षण सम्बन्धी नियम, औषधि स्तरसम्बन्धी व्यवस्था, औषधि बिक्री–वितरण संहिता तथा औषधि व्यवस्था विभागका विभिन्न निर्देशिका र मार्गदर्शनले नियमन गर्दै आएका छन् । विभागले अहिले संशोधनसहितको औषधि ऐन, राष्ट्रिय जीएमपी संहिता, औषधि दर्ता मार्गदर्शन, बिक्री–वितरण संहिता, औषधि फिर्ता तथा अन्य नियामकीय व्यवस्था कार्यान्वयन गरिरहेको छ । औषधि दर्ता नियमावलीले स्वदेशी उत्पादन र पैठारी दुवैका लागि दर्ता, उत्पादन अनुज्ञापत्र र गुणस्तरसम्बन्धी कागजातको व्यवस्था गरेको छ । आयातित औषधिका उत्पादकले पनि विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)को मापदण्डअनुरूप जीएमपी पालना गरेको प्रमाण पेश गर्नुपर्ने व्यवस्था रहेको छ ।
राष्ट्रिय औषधि नीति, २०५१ नेपालको औषधि आत्मनिर्भरतासम्बन्धी सबैभन्दा महत्वपूर्ण नीतिगत दस्तावेजमध्ये एक हो । उक्त नीतिले देशलाई औषधि उत्पादनमा आत्मनिर्भर बनाउने, सुरक्षित, प्रभावकारी र गुणस्तरीय औषधि उचित मूल्यमा उपलब्ध गराउने, औषधि उद्योगलाई राष्ट्रिय प्राथमिकताको क्षेत्र बनाउने र दस वर्षभित्र अत्यावश्यक औषधिका ८० प्रतिशत औषधीय स्वरूप स्वदेशमै उत्पादन गर्ने लक्ष्य लिएको देखिन्छ । नीतिले सार्वजनिक क्षेत्रको औषधि खरिदमा स्वदेशी उत्पादनलाई पहिलो प्राथमिकता, सक्रिय औषधीय तत्व (Active Pharmaceutical Ingredient–API), सहायक पदार्थ र प्याकेजिङ सामग्री उत्पादनमा प्रोत्साहन तथा मेसिन, उपकरण र कच्चा पदार्थ आयातमा सुविधा दिने दिशासमेत देखाएको पाइन्छ । यसैगरी, जनस्वास्थ्य सेवा ऐन, २०७५ को दफा २९ ले औषधिको समुचित प्रयोग, जेनेरिक नाममा औषधि सिफारिस, सरकारी अस्पतालमा फार्मेसी सञ्चालन, सुपथ मूल्यमा उपलब्धता र औषधिको गुणस्तरसम्बन्धी आधार दिएको छ ।
राष्ट्रिय स्वास्थ्य नीति, २०७६ ले पनि गुणस्तरीय स्वास्थ्य सेवाका लागि औषधि उत्पादन, वितरण र व्यवस्थापनमा प्राविधिक नियमन तथा वैज्ञानिक अनुसन्धान आवश्यक रहेको औँल्याएको छ । औद्योगिक व्यवसाय ऐन, २०७६ र विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५ को व्यापक उद्देश्य पनि औद्योगिकीकरण, उत्पादकत्व, आयात प्रतिस्थापन, निर्यात प्रवर्द्धन र प्रविधि हस्तान्तरणसँग जोडिएको छ । समस्या कानुनी आधारको पूर्ण अभावभन्दा बढी यी आधारहरूबीच समन्वित कार्यान्वयनको कमीमा देखिन्छ । अब औषधि नीतिलाई स्वास्थ्य, उद्योग, अर्थ, वाणिज्य र सार्वजनिक खरिदको साझा राष्ट्रिय कार्यसूची बनाउनु आवश्यक छ ।
४. आत्मनिर्भरताको आधार
औषधिमा आत्मनिर्भरता भन्नाले विदेशी औषधि पूर्ण रूपमा बन्देज गर्ने भन्ने होइन । नेपालमा तत्काल उत्पादन सम्भव नभएका खोप, जैविक औषधि, केही क्यान्सर औषधि, जटिल इन्जेक्टेबल, नयाँ पेटेन्टयुक्त औषधि तथा विशेष प्रविधि आवश्यक पर्ने उत्पादनको सुरक्षित आयातलाई छाडेर स्वदेशी कम्पनीले धान्न सक्ने औषधिमा सरकारले उच्च प्राथमिकता दिनुपर्छ । स्वदेशमै पर्याप्त परिमाण र प्रमाणित गुणस्तरमा उत्पादन गर्न सकिने औषधि पनि अनिश्चितकालसम्म ठूलो परिमाणमा आयात गरिरहनु आर्थिक तथा रणनीतिक दृष्टिले उचित हुँदैन ।
सही नीति चरणबद्ध आत्मनिर्भरता हो । यसका लागि सरकारले पहिलो चरणमा देशको वास्तविक उत्पादन क्षमताको वैज्ञानिक नक्साङ्कन गर्नुपर्छ । कुन उद्योगले कुन औषधीय स्वरूप कति परिमाणमा उत्पादन गर्न सक्छ, कति क्षमता खाली छ, कुन उत्पादनका लागि नयाँ प्रविधि चाहिन्छ, कुन औषधिमा दुई वा बढी स्वदेशी उत्पादक छन्, कुन औषधि एक मात्र स्रोतमा निर्भर छ र कुन अत्यावश्यक औषधि स्वदेशमा उत्पादन हुँदैन् यी तथ्य अद्यावधिक राष्ट्रिय तथ्याङ्कमा उपलब्ध हुनुपर्छ । यस्तो विवरणबिना आयात रोक्ने वा खुला राख्ने निर्णय दुवै कमजोर हुन्छन् ।
त्यसपछि औषधिलाई तीन समूहमा वर्गीकरण गर्न सकिन्छ । पहिलो, पर्याप्त स्वदेशी क्षमता र बहुविध उत्पादक भएका औषधिः यिनमा सरकारी खरिद र बजार नीतिमार्फत स्वदेशी उत्पादनको हिस्सा तीव्र रूपमा बढाउन सकिन्छ ।
दोस्रो, स्वदेशी उत्पादन सम्भव तर क्षमता अपुग भएका औषधिः यिनमा निश्चित समयको लगानी प्रोत्साहन र चरणबद्ध आयात व्यवस्थापन आवश्यक हुन्छ । तेस्रो, नेपालमा उत्पादन तत्काल सम्भव नभएका विशेष औषधिः यिनको आयात सरल, छिटो र सुरक्षित रहनुपर्छ । यसरी ‘प्रतिबन्ध’भन्दा ‘क्षमतामा आधारित आयात व्यवस्थापन’ राज्यको व्यावहारिक नीति हुनुपर्छ । साथै कुनै औषधिमा अभाव देखिए तत्काल आयात खुल्ने सुरक्षा संयन्त्र राख्नुपर्छ । बिरामीको हित पहिलो प्राथमिकता हो । आयात प्रतिस्थापनको अर्थ बजारलाई कृत्रिम अभावमा पुर्याउनु होइन, स्वदेशी उद्योगलाई जिम्मेवार उत्पादनकर्ता बनाउँदैं देशभित्र सुरक्षित विकल्पको विस्तार गर्नु हो ।
५. गुणस्तर, विश्वसनीयता र नियामकीय सुदृढीकरण
स्वदेशी उद्योगको संरक्षणको सबैभन्दा पहिलो सर्त गुणस्तर हो । औषधि नेपाली हो वा विदेशी भन्नेभन्दा पनि जनसुरक्षित, प्रभावकारी र निर्धारित स्तरअनुरूप छ कि छैन भन्ने प्रश्न सर्वोपरि हुन्छ । त्यसैले उद्योगमैत्री नीति र कठोर गुणस्तर नियमन परस्पर विरोधी होइनन्, दुवै एकअर्काका पूरक हुन् । बलियो नियामक भएको देशको औषधि स्वदेशमा पनि विश्वासिलो हुन्छ र निर्यात बजारमा पनि स्वीकार्यता बढ्छ । जीएमपीको पालना एकपटक प्रमाणपत्र लिएर सकिने प्रक्रिया होइन । कच्चा पदार्थ छनोट, उत्पादन समूह (Batch) अभिलेख, प्रक्रिया प्रमाणीकरण, सफाइ प्रमाणीकरण, वातावरणीय अनुगमन, स्थायित्व अध्ययन, विचलन व्यवस्थापन, परिवर्तन नियन्त्रण, गुनासो व्यवस्थापन र औषधि फिर्तासम्म निरन्तर गुणस्तर संस्कृतिको आवश्यकता हुन्छ । बजारमा गइसकेपछि पनि औषधि सुरक्षा निगरानी (Pharmacovigilance) र बजारपछिको निगरानी (Post–Market Surveillance) प्रभावकारी हुनुपर्छ ।
आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्यले देशभित्र उत्पादन वा आपूर्ति हुने औषधि, रोग निदानात्मक तथा अन्य स्वास्थ्यजन्य सामग्रीको गुणस्तर र नियमन सुनिश्चित गर्न खाद्य तथा औषधि प्रशासन (Food and Drug Administration–FDA) स्थापना गर्ने र राष्ट्रिय औषधि प्रयोगशालाको स्तरोन्नति गर्ने घोषणा गरेको छ । यो महत्वपूर्ण अवसर हो । नयाँ एफडिए केवल नाम परिवर्तनमा सीमित हुनु हुँदैन । यसलाई वैज्ञानिक स्वायत्तता, पर्याप्त बजेट, दक्ष जनशक्ति, आधुनिक प्रयोगशाला, विद्युतीय आवेदन तथा अनुगमन प्रणाली, निश्चित सेवा समय, जोखिममा आधारित निरीक्षण र पारदर्शी निर्णय प्रणाली दिनुपर्छ । आयातित र स्वदेशी औषधिमा गुणस्तरको मापदण्ड समान हुनुपर्छ । विदेशी उत्पादकको कागजी प्रमाण मात्र पर्याप्त नठानी जोखिमका आधारमा निरीक्षण, नमुना परीक्षण, बजारपछिको निगरानी र आवश्यकताअनुसार औषधि फिर्ता गर्ने व्यवस्था समान रूपमा लागु हुनुपर्छ । नियमनमा समानता हुँदा स्वदेशी उद्योगले अनुचित प्रतिस्पर्धाको गुनासो कम गर्छ र उपभोक्ताले पनि प्रमाणित गुणस्तरको लाभ पाउँछ ।
६. आयात प्रतिस्थापनको दीर्घकालीन रणनीति
नेपालको औषधि बजारमा आयातको भूमिका महत्त्वपूर्ण छ र भविष्यमा पनि रहनेछ । तथापि आयात व्यवस्थापनलाई राष्ट्रिय उत्पादन क्षमतासँग जोडिएन भने स्वदेशी उद्योगले ठूलो लगानी गरेपछि पनि बजारको निश्चितता पाउँदैन । यसले नयाँ उत्पादन लाइन, आधुनिक प्रविधि र अनुसन्धानमा लगानी गर्ने उत्साह घटाउँछ । त्यसैले सरकारले कम्तीमा १० वर्षको राष्ट्रिय औषधि उद्योग तथा औषधि सुरक्षा रणनीति तयार गरी आयात प्रतिस्थापनको स्पष्ट समयरेखा दिनुपर्छ । प्रत्येक वर्ष औषधि व्यवस्था विभाग वा प्रस्तावित एफडिए, स्वास्थ्य मन्त्रालय, उद्योग मन्त्रालय, भन्सार प्रशासन र निजी क्षेत्रको सहभागितामा ‘स्वदेशी उत्पादन क्षमता सूची’ प्रकाशित गर्न सकिन्छ । उक्त सूचीमा उत्पादन क्षमता, गुणस्तर स्थिति, बजार माग र वैकल्पिक आपूर्तिकर्ताको सङख्या हेरेर कुन औषधिमा आयातको निर्भरता कति घटाउने भन्ने निर्णय हुनुपर्छ ।
एकै पटक कडा प्रतिबन्धभन्दा तीनदेखि पाँच वर्षको पूर्वसूचना उद्योग र आयातकर्ता दुवैका लागि न्यायसङ्गत हुन्छ । यस्तो पूर्वानुमानयोग्य नीतिले नयाँ उद्योगलाई लगानी निर्णय गर्न र पुराना उद्योगलाई क्षमता विस्तार गर्न प्रेरित गर्छ । स्वदेशी उद्योगले प्रतिस्थापन गर्न सक्ने औषधिमा आयात दर्ता तथा नवीकरण गर्दा आवश्यकताको परीक्षण, बजार माग, उपलब्ध घरेलु क्षमता र अभाव जोखिमको वस्तुगत मूल्याङ्कन गर्न सकिन्छ । कुनै स्वदेशी उत्पादकले निरन्तर आपूर्ति गर्न नसके, गुणस्तरमा असफल भए वा मूल्य अस्वाभाविक बढाए आयात स्वतः सहज हुने स्पष्ट सुरक्षा व्यवस्था हुनुपर्छ । यही प्रतिस्पर्धी अनुशासनले उद्योगलाई संरक्षणसँगै उत्तरदायी बनाउँछ ।
आयात प्रतिस्थापनको अर्को महत्त्वपूर्ण पक्ष कच्चा पदार्थ हो । उद्योग विभागको सन् २०२१ अध्ययनले औषधि उद्योगका सक्रिय तथा सहायक कच्चा पदार्थको ठूलो हिस्सा भारत, चीन र अन्य मुलुकबाट आयात हुने देखाएको छ । त्यसैले तयार औषधि स्वदेशमै उत्पादन गरे पनि एपीआई, सहायक पदार्थ, प्याकेजिङ सामग्री र विशेष परीक्षण सामग्रीमा बाह्य निर्भरता रहन्छ । दीर्घकालमा सम्भव कच्चा पदार्थ, औषधीय वनस्पति, प्याकेजिङ र आधारभूत रसायनमा स्थानीय मूल्य श्रृङ्खला विकास गर्नुपर्छ ।
७. सरकारी खरिदमा स्वदेशी औषधिको प्राथमिकता
सरकार देशकै सबैभन्दा ठूलो औषधि खरिदकर्तामध्ये एक हो । संघ, प्रदेश र स्थानीय तह, सरकारी अस्पताल, निःशुल्क औषधि कार्यक्रम र स्वास्थ्य बीमासँग जोडिएका संस्थाले ठूलो परिमाणमा औषधि खरिद गर्छन् । यो खरिद शक्तिलाई स्वदेशी उत्पादन क्षमता र जनस्वास्थ्य सुरक्षासँग जोड्न सकियो भने राज्यले अतिरिक्त ठूलो अनुदान नदिई उद्योग विकासमा प्रभावकारी योगदान गर्न सक्छ । सार्वजनिक खरिद नियमावली, २०६४ को नियम १७ ले विदेशी मालसामानभन्दा नेपालमा उत्पादित मालसामान १० प्रतिशतसम्म महँगो भएपनि नेपाली मालसामान नै खरिद गर्नुपर्ने व्यवस्था गरेको छ । औषधिमा यो प्रावधानलाई स्पष्ट कार्यविधि बनाएर प्रभावकारी बनाउनुपर्छ । मूल्य मात्र होइन, जीएमपी स्थिति, उत्पादन क्षमता, औषधिको बाँकी प्रयोग अवधि, समयमै आपूर्ति, विगतको गुणस्तर इतिहास, औषधि फिर्ता गर्ने क्षमता र स्वदेशी मूल्य अभिवृद्धिलाई समेत मूल्याङ्कनमा समावेस गर्नुपर्छ ।
राष्ट्रिय औषधि नीति, २०५१ ले पनि सार्वजनिक क्षेत्रको औषधि खरिदमा स्वदेशी उत्पादनलाई पहिलो प्राथमिकता दिने नीति स्पष्ट गरेको छ । यसलाई व्यवहारमा उतार्न ‘गुणस्तर सुनिश्चित स्वदेशी औषधि खरिद कार्यविधि’ बनाउन सकिन्छ । सबैभन्दा सस्तो दरलाई मात्र आधार बनाउने प्रणालीले दीर्घकालमा गुणस्तर र आपूर्ति दुवैमा जोखिम ल्याउन सक्छ । औषधिको खरिदमा जीवनचक्र लागत, आपूर्ति विश्वसनीयता र गुणस्तरको इतिहास महत्वपूर्ण हुन्छ । अत्यावश्यक तथा धेरै खपत हुने औषधिमा दुई वा तीन वर्षको माग पूर्वानुमान र बहुवर्षीय ढाँचा सम्झौता उपयोगी हुन सक्छ । सरकारले आवश्यक औषधिको अनुमानित वार्षिक परिमाण पहिले नै सार्वजनिक गरे उद्योगले कच्चा पदार्थ खरिद, उत्पादन तालिका, जनशक्ति र कार्यशील पुँजीको योजना बनाउन सक्छ । राज्यले पनि आकस्मिक अभाव र महँगो आपतकालीन खरिद घटाउन सक्छ । सार्वजनिक खरिदमा समयमै भुक्तानी अर्को अनिवार्य पक्ष हो, भुक्तानी महिनौँ ढिलो हुँदा स्वदेशी उत्पादकको कार्यशील पुँजीमा अनावश्यक दबाब पर्छ ।
८. लगानी सुरक्षा र उद्योगमैत्री नीति
औषधि उद्योग पुँजीप्रधान र नियमन प्रधान उद्योग हो । उत्पादन लाइन स्थापना गरेपछि वर्षौँसम्म गुणस्तर सुधार, उपकरण प्रमाणीकरण, दर्ता नवीकरण, जनशक्ति र बजार विकासमा लगानी भइरहन्छ । यस्तो क्षेत्रमा कर, भन्सार, दर्ता, मूल्य निर्धारण वा आयात नीतिमा बारम्बार र अप्रत्याशित परिवर्तन भयो भने उद्योगको व्यापारिक योजना मात्र होइन, बैंक ऋण र सर्वसाधारण लगानीसमेत जोखिममा पर्छ । त्यसैले लगानी सुरक्षा भन्नाले नाफा सुनिश्चित गर्नु होइन, नियम स्पष्ट, स्थिर, समान र पूर्वानुमानयोग्य बनाउनु हो । सरकारले कम्तीमा पाँचदेखि १० वर्षको कर–भन्सार नीतिको दिशासूचक ढाँचा औषधि उद्योगका लागि घोषणा गर्न सक्छ ।
नेपालमा नबन्ने एपीआई, सहायक पदार्थ, सन्दर्भ मानक, प्रयोगशाला अभिकर्मक (Laboratory Reagent), गुणस्तर नियन्त्रण उपकरण, विशेष मेसिन र महत्वपूर्ण जगेडा पाटपुर्जामा अनावश्यक लागत घटाउनुपर्छ । तयार औषधिको आयात सहज र उत्पादनका कच्चा पदार्थ तथा उपकरणमा जटिलता बढी हुने अवस्था उद्योग विकासका लागि अनुकूल हुँदैन । भन्सार वर्गीकरण र मूल्याङ्कनमा स्पष्टता तथा छिटो निकासी व्यवस्था पनि महत्वपूर्ण हुन्छ ।
जीएमपी स्तरोन्नति, स्वचालन (Automation), ऊर्जा दक्षता, अनुसन्धान तथा विकास (Research and Development–R&D), जैवसमतुल्यता (Bioequivalence) अध्ययन र निर्यात विस्तारका लागि दीर्घकालीन तथा सहुलियतपूर्ण वित्तीय साधनको उपलब्धताले स्वदेशी औषधि उद्योगको प्रतिस्पर्धात्मक क्षमता थप सुदृढ बनाउन सक्छ । यस्तो वित्तीय सहयोगलाई उत्पादन वृद्धि, गुणस्तर सुधार, प्रविधि हस्तान्तरण, अनुसन्धान, रोजगारी सिर्जना र निर्यात प्रवर्द्धनजस्ता स्पष्ट उपलब्धिसँग आबद्ध गर्न सकिन्छ ।
सुशासन, उत्पादन क्षमता, अनुसन्धान तथा विकासमा लगानी, रोजगारी, निर्यात सम्भावना र राष्ट्रिय औषधि सुरक्षामा पुर्याउने योगदानका आधारमा प्रोत्साहन उपलब्ध गराउने नीति उपयोगी हुन्छ । ब्याज सहुलियत, प्रविधि स्तरोन्नति ऋण, कर प्रोत्साहन तथा अनुसन्धान सहयोगलाई निश्चित उपलब्धि र पारदर्शी मापदण्डसँग जोड्न सकिन्छ । साथै, नीतिगत निर्णयअघि ‘लगानी प्रभाव मूल्याङ्कन’ गर्ने अभ्यास विकास गर्दा नयाँ व्यवस्थाले औद्योगिक क्षमता, सरकारी राजस्व, औषधिको मूल्य, आपूर्ति, रोजगारी र लगानी वातावरणमा पार्ने प्रभाव पहिल्यै आँकलन गर्न सकिन्छ । यसले सरकार, उद्योग र सर्वसाधारण लगानीकर्ताबिच विश्वास अभिवृद्धि गर्दै स्वदेशी औषधि उद्योगको दिगो विकासमा योगदान पुर्याउँछ ।
९. अनुसन्धान, प्रविधि र दक्ष जनशक्ति
औषधि उद्योगको दीर्घकालीन विकास उत्पादन विस्तारसँगै अनुसन्धान, प्रविधि र दक्ष जनशक्ति निर्माणमा निर्भर हुन्छ । सामान्य औषधिबाट जटिल जेनेरिक, विशेष इन्जेक्टेबल, जैविक उत्पादन र निर्यातयोग्य उच्च मूल्यका औषधितर्फ अघि बढ्न विश्वविद्यालय, नेपाल स्वास्थ्य अनुसन्धान परिषद्, राष्ट्रिय औषधि प्रयोगशाला र उद्योगबिच नियमित अनुसन्धान सहकार्य आवश्यक छ ।
सरकारले साझा जैवसमतुल्यता केन्द्र, उन्नत विश्लेषण प्रयोगशाला, स्थायित्व अध्ययन तथा औषधि विकाससम्बन्धी पूर्वाधार सार्वजनिक–निजी साझेदारीमा विकास गर्न सक्छ । साथै फार्मासिस्ट, रसायनशास्त्री, सूक्ष्मजीव विज्ञ, जैवप्रविधिविज्ञ, इन्जिनियर र नियामकीय विशेषज्ञका लागि उद्योग–केन्द्रित उच्चस्तरीय तालिम र प्रविधि आदानप्रदानलाई निरन्तरता दिनुपर्छ । अनुसन्धान, आधुनिक प्रविधि र दक्ष मानव पुँजीको संयोजनले मात्र स्वदेशी औषधि उद्योगलाई प्रतिस्पर्धी, गुणस्तरीय र निर्यातमुखी बनाउन सक्छ ।
१०. निर्यात प्रवर्द्धन र विश्वबजारमा पहुँच
आयात प्रतिस्थापन औषधि उद्योगको अन्तिम लक्ष्य हुनु हुँदैन । घरेलु बजारले उद्योगलाई आधार दिन्छ; दीर्घकालीन विस्तारका लागि निर्यात आवश्यक हुन्छ । निर्यातले विदेशी मुद्रा आर्जन, उत्पादनको ठूलो परिमाण, लागत दक्षता, प्रविधि स्तरोन्नति र अन्तर्राष्ट्रिय गुणस्तर संस्कृतिलाई प्रोत्साहन गर्छ । तर, औषधि निर्यात सामान्य वस्तु निर्यातजस्तो सरल हुँदैन । हरेक देशको दर्ता, प्रमाणपत्र, स्थायीत्व, जैवसमतुल्यता, लेबलिङ र निरीक्षणसम्बन्धी छुट्टै आवश्यकता हुन सक्छ ।
सरकारले ‘औषधि निर्यात सहायता कक्ष’ स्थापना गरी प्राथमिक बजार, आवश्यक कागजात, दर्ता शुल्क, परीक्षण आवश्यकता र नियामकीय समयसम्बन्धी सूचना एउटै स्थानबाट उपलब्ध गराउन सक्छ । प्रारम्भमा दक्षिण एसिया, मध्य एसिया, अफ्रिका र अन्य सम्भाव्य बजारको अध्ययन गरी २० देखि ३० वटा प्रतिस्पर्धी उत्पादन छनोट गर्न सकिन्छ । उद्योगको निर्यात तयारीका आधारमा बजार–विशेष दर्ता सहायता, प्राविधिक परामर्श र अन्तर्राष्ट्रिय प्रदर्शनीमा सहभागिता सहयोग उपलब्ध गराउन सकिन्छ ।
निर्यातको सबैभन्दा बलियो आधार स्वदेशी नियामकको विश्वसनीयता हो । प्रस्तावित एफडिए र राष्ट्रिय औषधि प्रयोगशाला अन्तर्राष्ट्रियस्तरमा विश्वासिलो भए नेपाली प्रमाणपत्रको मान्यता बढ्छ । अन्य देशका नियामकसँग सूचना आदान—प्रदान, निरीक्षण सहकार्य र नियामकीय भरोसा (Regulatory Reliance) को सम्भावना खोज्नुपर्छ । निर्यात गर्ने उद्योगका लागि औषधीय उत्पादन प्रमाणपत्र, जीएमपी प्रमाण, विश्लेषण प्रमाणपत्र र अन्य कागजात निश्चित समयसीमाभित्र उपलब्ध हुनुपर्छ ।
विश्व व्यापार सङ्गठनका नियम र वौद्धिक सम्पत्तिसम्बन्धी अन्तर्राष्ट्रिय प्रतिवद्धतालाई पनि नेपालले आफ्नो विकास अवस्थासँग मिलाएर उपयोग गर्नुपर्छ । औषधि पहुँच, सार्वजनिक स्वास्थ्य र प्रविधि हस्तान्तरणबीच सन्तुलन राख्दै कानून सुधार गर्नुपर्छ । दीर्घकालमा नेपाली औषधिको परिचय ‘सस्तो विकल्प’ मात्र होइन, ‘गुणस्तरीय र विश्वसनीय उत्पादन’का रूपमा स्थापित गर्नु निर्यात नीतिको लक्ष्य हुनुपर्छ ।
११. सरकार–निजी क्षेत्र सहकार्य र दीर्घकालीन रणनीति
औषधिमा आत्मनिर्भरता हासिल गर्न सरकार, निजी क्षेत्र, विश्वविद्यालय र अनुसन्धान संस्थाबीच दीर्घकालीन संस्थागत सहकार्य आवश्यक छ । सरकारले नीति, नियमन, सार्वजनिक खरिद, कर–भन्सार र कूटनीतिक सहजीकरणमार्फत अनुकूल वातावरण बनाउने तथा उद्योगले पुँजी, उत्पादन क्षमता, बजार सञ्जाल र नवप्रवर्तनमार्फत योगदान गर्ने व्यवस्था विकास गर्नुपर्छ । स्वदेशी उत्पादन, आयात प्रतिस्थापन, अत्यावश्यक औषधिको सुरक्षा मौज्दात, कच्चा पदार्थ, अनुसन्धान, निर्यात, सरकारी खरिद र नियामकीय सुधारलाई समेट्ने दीर्घकालीन राष्ट्रिय औषधि रणनीति निर्माण गरी नियमित रूपमा प्रगति समीक्षा गर्न सकिन्छ ।
महामारी, सीमा अवरोध वा अन्य सङ्कटका समयमा सार्वजनिक तथा निजी उद्योगको संयुक्त उत्पादन क्षमता उपयोग गर्ने पूर्व तयारीसमेत आवश्यक छ । सार्वजनिक र निजी औषधि उद्योगलाई प्रतिस्पर्धीभन्दा पनि राष्ट्रिय औषधि सुरक्षा, आत्मनिर्भरता र दिगो औद्योगिक विकासका परिपूरक साझेदारका रूपमा अघि बढाउनु उपयुक्त हुन्छ ।
१२. आत्मनिर्भर औषधि उद्योगतर्फको राष्ट्रिय सङ्कल्प
औषधिमा आत्मनिर्भरता भनेको बजार बन्द गरेर उद्योग संरक्षण गर्नु होइन्, गुणस्तर, प्रतिस्पर्धा, प्रविधि, वित्तीय पहुँच र पूर्वानुमानयोग्य नीतिमार्फत सक्षम स्वदेशी उद्योग निर्माण गर्नु हो । यसका लागि दीर्घकालीन राष्ट्रिय औषधि रणनीति, वास्तविक उत्पादन क्षमताका आधारमा आयात प्रतिस्थापन, स्वदेशी उत्पादनलाई सार्वजनिक खरिदमा प्राथमिकता, कच्चा पदार्थ तथा प्रविधिमा कर–भन्सार सहजीकरण, जीएमपी स्तरोन्नति, अनुसन्धान, जैवसमतुल्यता र निर्यातका लागि वित्तीय तथा प्राविधिक सहयोग, प्रभावकारी नियमन तथा समान बजारपछिको निगरानी आवश्यक छ ।
सरकार, नियामक निकाय, उद्योग र विश्वविद्यालयबीच स्थायी सहकार्य गर्दै नीतिगत परिवर्तनअघि लगानी, मूल्य, रोजगारी, आपूर्ति र जनस्वास्थ्यमा पर्ने प्रभावको मूल्याङ्कन गरिनुपर्छ । उद्योगले पनि गुणस्तर, नियमित आपूर्ति, उचित मूल्य, सुशासन, वातावरणीय उत्तरदायित्व र पारदर्शितामा सम्झौता गर्नु हुँदैन । नागरिकले नेपाली औषधि केवल स्वदेशी भएकाले होइन, गुणस्तरीय, भरपर्दो र उचित मूल्यको भएकाले रोज्ने अवस्था सिर्जना गर्नु नै आत्मनिर्भर औषधि उद्योगतर्फको वास्तविक राष्ट्रिय सङ्कल्प हो ।
(श्रेष्ठ ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडका अध्यक्ष हुन् ।)