काठमाडौं—धुम्बाराहीस्थित ह्याम्स अस्पतालले नयाँ विस्तारित भवन सञ्चालनमा ल्याएसँगै मिर्गौला (किड्नी) प्रत्यारोपण सेवा सुरु गरेको छ । अस्पतालका अध्यक्ष आरएस भण्डारीले अस्पतालले सबै कानुनी प्रक्रिया र तयारीहरु पूरा गरेर मिर्गौला प्रत्यारोपण सेवा सुरु गरेको जानकारी दिए ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, स्वास्थ्य सेवा विभागअन्तर्गतको अंग प्रत्यारोपण समितिबाट ह्याम्सले २० असोजबाट लागु हुने गरी मिर्गौला प्रत्यारोपणको अनुमति पाएको थियो । ‘हामीले २० असोज २०८३ बाट लागु हुने गरी मिर्गौला प्रत्यारोपणको अनुमति पाएका थियौं,’ उनले भने, ‘ह्याम्समा मिर्गौला प्रत्यारोपण सेवा सुरु भइसकेको छ ।’
ह्याम्सले मिर्गौला प्रत्यारोपणको अनुमतिसँगै विस्तारित नयाँ भवनबाट सेवा प्रवाहसमेत सुरु गरेको छ । अस्पतालका अध्यक्ष भण्डारीले घटस्थापनाको दिनबाट नयाँ भवनको दुई तला सञ्चालनमा ल्याइएको जानकारी दिए । ‘हामीले घटस्थापनाको दिनबाटैं नयाँ भवनको दुई तलाबाट सेवा प्रवाह सुरु गरिसकेका छौं,’ उनले भने, ‘पुरानो भवनमा सिंगल रुमको अभाव थियो । अहिले नयाँ भवनको दुई फ्लोरमा २८—३० वटा सिंगल रुम बनाएर बिरामीलाई सेवा दिन थालेका छौं । यसले बिरामीलाई सहज भएको छ ।’

ह्याम्सले एक महिनाभित्र नयाँ भवन पूर्ण रुपमा सञ्चालनमा ल्याउने भएको छ । ‘थप चार तला पनि सञ्चालनमा ल्याउने गरी काम गरिरहेका छौं,’ उनले भने । अब सञ्चालनमा आउने चार वटा तलामध्येमा एक तलामा डेडिकेटेड स्त्री तथा प्रसूति रोग र पेडियाट्रिक विभाग राख्ने गरी डिजाइन गरिएको छ ।
यस्तै, अर्को तलामा ह्याम्सले बाहिर भाडा भवनहरुबाट सञ्चालनमा ल्याइरहेको वेलनेस, फिजियोथेरापी, डेन्टल, डर्मालगायतका विभागलाई सिफ्ट गर्ने योजना छ । बाँकी दुई तलामा भने पार्किङ रहने अध्यक्ष भण्डारीले बताए । ‘यसले ह्याम्समा रहेको ठाउँको अभावलाई पूर्ति गर्नेछ,’ उनले भने ।
रोबटिक प्रविधि भित्र्याउने तयारी
अस्पतालले दुई रोपनी क्षेत्रफलमा बनेको नयाँ भवनबाट अत्याधुनिक प्रविधिसहित सेवा दिने योजनाका साथ काम अगाडि बढाएको थियो । नयाँ भवन सञ्चालनमा आएसँगै अब रोबटिक प्रविधि भित्र्याउने तयारी गरेको अध्यक्ष भण्डारीले बताए ।

‘अर्थोपेडिक्स, ईएनटी, युरोलोजी, जनरल सर्जरी, गाइनो सर्जरी, कार्डियाकलगायतका सर्जरीमा उपयोगी हुने रोबटिक प्रविधि भित्र्याउँदैंछौं,’ उनले भने, ‘अहिले रोबटिक सर्जरीले एकदमै राम्रो नतिजा दिइरहेको छ । त्यही कारण हामी सम्भवतः दुई महिनाभित्र यो प्रविधि ह्याम्समा भित्र्याउँदैंछौं ।’
उनले नेपालमै उपचारमा गराउने बिरामीलाई कसरी सस्तो शुल्कमा रोबटिक सर्जरी उपलब्ध गराउन सकिन्छ भन्नेमा आफूले काम गरिरहेको जानकारी दिए । रोबटिक सर्जरी भित्र्याएपछि अस्पतालमा तीन दिन बस्नुपर्ने बिरामी एक दिनमै घर फर्किन सकिने र अस्पताल बसाइँ छोटो हुने, चिरफार गर्न नपर्नेलगायतका फाइदा बिरामीलाई हुने उनले बताए ।