काठमाडौं—स्वास्थ्य बीमा कार्यक्रमलाई थप व्यवस्थित, प्रभावकारी र वित्तीय रूपमा दिगो बनाउने उद्देश्यसहित स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य बीमा ऐन संशोधनको प्रक्रिया अघि बढाएको छ ।
बिहीबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको नेतृत्वमा स्वास्थ्य बीमा बोर्ड, सामाजिक सुरक्षा कोष तथा सम्बन्धित निकायका प्रतिनिधिहरूसँग थप छलफल भएको छ ।
छलफलमा स्वास्थ्य बीमा कार्यक्रमको वर्तमान अवस्था,कार्यान्वयनका क्रममा देखिएका समस्या तथा ऐन संशोधनमार्फत सम्बोधन गर्नुपर्ने विषयमा विचारविमर्श भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले आवश्यक अध्ययन, छलफल तथा गृहकार्यपछि स्वास्थ्य बीमा ऐन संशोधनसम्बन्धी विधेयक तयार गरी कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा पठाइसकेको छ । अब उक्त विधेयक संसदमा दर्ता गर्ने तयारी भइरहेको छ ।
स्वास्थ्य बीमा कार्यक्रमलाई उपचार खर्चको व्यवस्थापनमा मात्र सीमित नराखी प्रत्येक नागरिकको स्वास्थ्य सुरक्षासँग जोड्ने र आर्थिक अभावका कारण कुनै पनि नागरिक उपचारबाट वञ्चित हुन नपर्ने व्यवस्था सुनिश्चित गर्ने लक्ष्यसहित मन्त्रालयले कानुनी तथा नीतिगत सुधारलाई अघि बढाएको मन्त्री मेहताले बताइन् ।