धुलिखेल— जलनका बिरामीको उपचार सेवालाई थप प्रभावकारी, सहज र गुणस्तरीय बनाउने उद्देश्यले धुलिखेल अस्पतालमा १० शय्याको अत्याधुनिक नविल बर्न केयर वार्ड औपचारिक रूपमा उद्घाटन भएको छ । मंगलबार अस्पतालका संस्थापक प्रा.डा. रामकण्ठ मकाजु र नबिल बैंकका अध्यक्ष निर्वाण कुमार चौधरीले संयुक्त रूपमा वार्डको उद्घाटन गरेका हुन् ।
नबिल बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गतको सहकार्यमा स्थापना गरिएको उक्त बर्न केयर वार्डको उद्घाटनसँगै अस्पतालले जलेका बिरामीलाई विशिष्टीकृत तथा सघन उपचार सेवा प्रदान गर्ने क्षमतामा थप विस्तार गरेको छ ।
उद्घाटन समारोहमा नेपालभर पहुँचयोग्य, विशिष्टीकृत तथा गुणस्तरीय बर्न केयर सेवाको आवश्यकता र यसको महत्त्वबारे चर्चा गरिएको थियो । कार्यक्रममा स्वास्थ्य सेवाको सुदृढीकरण तथा स्वास्थ्य प्रणालीको उत्थानशीलता अभिवृद्धि गर्ने उद्देश्यले चौधरी फाउन्डेसनसँगको सहकार्यमा सञ्चालित ‘बलियो इनिसिएटिभ’का प्रमुख उपलब्धि तथा प्रयासहरूबारे समेत जानकारी गराइएको थियो ।
नयाँ बर्न केयर वार्ड सञ्चालनमा आएसँगै जलेर घाइते भएका बिरामीले विशिष्टीकृत उपचार सेवा प्राप्त गर्न थप सहज हुने अपेक्षा गरिएको छ । यसले नेपालमा जलनसम्बन्धी उपचार सेवाको पहुँच विस्तार गर्नुका साथै बिरामीको उपचारको गुणस्तर सुधारमा समेत योगदान पुर्याउने विश्वास गरिएको छ ।
वर्न वार्ड सञ्चालनमा ल्याउने पहललाई सफल बनाउन सहयोग पुर्याउने नबिल बैंक, चौधरी फाउन्डेसन तथा सम्पूर्ण साझेदार संस्थाहरूप्रति धुलिखेल अस्पतालले आभार व्यक्त गरेको छ ।