२०८३ मंसिर १, मंगलवार
Health Aawaj logo
गृहपृष्ठ ∕ बाग्मती प्रदेश ∕ विपन्न नागरिकको उपचारमा आर्थिक सहयोग गर्दै शैलुङ गाउँपालिका

विपन्न नागरिकको उपचारमा आर्थिक सहयोग गर्दै शैलुङ गाउँपालिका


चरिकोट—विपन्न नागरिकलाई स्वास्थ्य उपचारमा सहज पहुँच पुर्‍याउने उद्देश्यले दोलखाको शैलुङ गाउँपालिकाले आर्थिक सहयोग गर्दै आएको छ । आर्थिक अभावका कारण उपचारबाट वञ्चित हुनुपर्ने अवस्था अन्त्य गर्न गाउँपालिकाले विभिन्न नसर्ने रोगका बिरामीलाई उपचार खर्च उपलब्ध गराउन थालेको हो ।

पछिल्लो समय गाउँपालिकाभित्र क्यान्सर, मिर्गौला तथा मुटु सम्बन्धी रोगका बिरामीको संख्या बढ्दै गएपछि स्थानीय सरकारले उपचारमा आर्थिक सहयोग गर्ने नीति लिएको छ । गाउँपालिकाले क्यान्सरका बिरामीलाई २५ हजार, मिर्गौलाका बिरामीलाई २० हजार र मुटु रोगका बिरामीलाई १० हजार रुपैयाँ उपचार सहयोग उपलब्ध गराउँदै आएको स्वास्थ्य शाखा प्रमुख विष्णुबहादुर कार्कीले जानकारी दिए ।

उनका अनुसार खानपान, जीवनशैलीलगायत विविध कारणले नसर्ने रोगका बिरामी बढ्दै गएकाले गाउँ कार्यपालिकाको बैठकबाटै उपचारमा आर्थिक सहयोग गर्ने निर्णय गरिएको हो । स्वास्थ्य उपचार महँगो हुँदै गएको अवस्थामा आर्थिक रूपमा कमजोर नागरिकलाई केही राहत पुगोस् भन्ने उद्देश्यले यस्तो कार्यक्रम सञ्चालन गरिएको कार्कीले बताए ।

गाउँपालिकाको तथ्याङ्कअनुसार क्यान्सरका बिरामीको संख्या आर्थिक वर्ष २०८०/८१ मा २९ जना रहेकोमा २०८१/८२ मा घटेर १८ जना पुगेको थियो । तर, आर्थिक वर्ष २०८२/८३ मा पुनः बढेर ३० जना पुगेको छ । मिर्गौलाका बिरामीको संख्या आर्थिक वर्ष २०८०/८१ मा ७ जना रहेकोमा २०८१/८२ मा बढेर ११ पुगेको थियो । आर्थिक वर्ष २०८२/८३ मा पनि मिर्गौलाका बिरामीको संख्या ११ नै रहेको छ ।

त्यस्तै, मुटु रोगका बिरामीको संख्या आर्थिक वर्ष २०८०/८१ मा २२ जना रहेकोमा २०८१/८२ मा १५ जना र २०८२/८३ मा १८ जना पुगेको स्वास्थ्य शाखा प्रमुख कार्कीले जानकारी दिए । नसर्ने रोगका बिरामीको उपचारमा आर्थिक सहयोग गर्नुका साथै गाउँपालिकाले अन्य लक्षित समूहलाई स्वास्थ्य सेवामा पहुँच पुर्‍याउन विभिन्न सुविधा पनि उपलब्ध गराउँदै आएको छ ।

८० वर्षमाथिका ज्येष्ठ नागरिक, सुत्केरी महिला, नवजात शिशु, कडा किसिमका मानसिक रोगका बिरामी तथा ‘क’ वर्गका अपाङ्गता भएका व्यक्तिलाई उपचारका लागि अस्पताल लैजानुपर्दा निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने व्यवस्था गरिएको छ । कडा रोगका अन्य बिरामीलाई समेत अस्पताल लैजान निःशुल्क एम्बुलेन्सको व्यवस्था गरिएको गाउँपालिकाले जनाएको छ । स्थानीय सरकारको अनुभूति नागरिकलाई प्रत्यक्ष रूपमा दिलाउन स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखिएको स्वास्थ्य शाखा प्रमुख कार्कीले बताए । उनका अनुसार आर्थिक अवस्था कमजोर भएका नागरिकले उपचार अभावमा रोग पालेर बस्नुपर्ने अवस्था नआओस् भन्ने उद्देश्यले गाउँपालिकाले स्वास्थ्यसम्बन्धी कार्यक्रमलाई प्राथमिकता दिँदै आएको छ ।

स्वास्थ्य सेवा नागरिकको आधारभूत आवश्यकता र अधिकार हो । तर, आर्थिक अवस्था कमजोर भएका नागरिकका लागि सामान्य उपचारसमेत चुनौतीपूर्ण बन्ने गरेको छ । यस्तो अवस्थामा स्थानीय सरकारले उपलब्ध गराउने आर्थिक सहयोग, निःशुल्क एम्बुलेन्स तथा लक्षित स्वास्थ्य सेवाले नागरिकलाई उपचारमा पहुँच पु¥याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ । स्थानीय तहले स्वास्थ्य क्षेत्रमा गर्ने यस्ता लगानीले बिरामीलाई तत्काल राहत दिनुका साथै स्वास्थ्य सेवाप्रतिको नागरिकको विश्वाससमेत बढाउन मद्दत गर्छ । यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै रोगको समयमै पहिचान, नियमित स्वास्थ्य परीक्षण, जनचेतना र रोग लाग्न नदिन अपनाउनुपर्ने सावधानीका कार्यक्रमसमेत विस्तार गर्न सके स्थानीय स्तरमै स्वस्थ समाज निर्माणमा थप योगदान पुग्न सक्छ ।


क्याटेगोरी : बाग्मती प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ