२०८३ असोज २१, बुधबार
Health Aawaj logo
गृहपृष्ठ ∕ बाग्मती प्रदेश ∕ जनस्वास्थ्य कार्यालय दोलखाको वार्षिक समीक्षा

जनस्वास्थ्य कार्यालय दोलखाको वार्षिक समीक्षा


चरिकोट—दोलखामा स्वास्थ्यसम्बन्धी कार्यक्रम र गतिविधिको संख्या बढ्दै गएपनि त्यसअनुसारको परिणाम देखिन नसकेको सरोकारवालाले बताएका छन् । स्वास्थ्य संस्थामा पर्याप्त औषधि र दक्ष जनशक्तिको अभाव, स्वास्थ्यसम्बन्धी तथ्यांकमा एकरूपता नहुनु, उपकरण भए पनि विशेषज्ञ जनशक्ति नहुनु तथा सामान्य उपचारका लागि समेत बिरामीलाई काठमाडौं रिफर गर्नुपर्ने अवस्थाप्रति सरोकारवालाले प्रश्न उठाएका छन् ।

जनस्वास्थ्य कार्यालय दोलखाको आर्थिक वर्ष २०८२/८३ मा सम्पादित स्वास्थ्य कार्यक्रमको जिल्ला स्तरीय वार्षिक समीक्षा कार्यक्रममा जिल्लाको स्वास्थ्य क्षेत्रका समस्या, उपलब्धि र सुधार गर्नुपर्ने विषयमाथि छलफल गरिएको हो । सदरमुकाम चरिकोटमा दुई दिनसम्म सञ्चालन भएको समीक्षा कार्यक्रममा स्थानीय तह, अस्पताल तथा स्वास्थ्य क्षेत्रसँग सम्बन्धित सरोकारवालाको सहभागिता थियो ।

कार्यक्रममा गत आर्थिक वर्षमा केही राम्रा तथा सुधारात्मक काम भए पनि स्वास्थ्य क्षेत्रमा अझै धेरै कमजोरी रहेको औंल्याइएको थियो । कार्यक्रमको संख्या बढे पनि परिणाममुखी हुन नसकेको भन्दै आगामी दिनमा उपलब्धिमूलक र नागरिकले प्रत्यक्ष अनुभूति गर्ने खालका कार्यक्रम सञ्चालन गर्न सुझाव दिइएको छ ।

स्थानीय तह र जनस्वास्थ्य कार्यालयको स्वास्थ्यसम्बन्धी तथ्यांकमा समेत यथार्थता र एकरूपता नरहेको विषय कार्यक्रममा उठाइएको थियो । सामान्य स्वास्थ्य समस्याका लागि समेत बिरामीले काठमाडौं धाउनुपर्ने अवस्था, स्वास्थ्य संस्थामा पर्याप्त औषधि तथा जनशक्ति नहुनु र त्यसकै कारण बिरामी निजी अस्पतालमा जान बाध्य हुनुपरेको सरोकारवालाको भनाइ थियो। स्वास्थ्य संस्था तथा अस्पतालको नियमित अनुगमन नहुँदा सेवा प्रवाहमा लापरबाही हुने गरेको विषयसमेत उठाइएको थियो ।

जिल्ला समन्वय समिति दोलखाका प्रमुख बर्जुराम घतानीले जिल्लाको स्वास्थ्य क्षेत्रमा सुधार ल्याउन आफूले प्रयास गरे पनि अपेक्षाअनुसार उपलब्धि हासिल गर्न नसकेको बताए । नागरिकले निःशुल्क र गुणस्तरीय स्वास्थ्य सेवा पाउनुपर्ने भए पनि राज्यले आफ्नो दायित्व बिर्सिएको उनको भनाइ थियो । कार्यक्रम तथा गतिविधि संख्या बढेको देखिए पनि त्यसको परिणाम नदेखिएको भन्दै उनले स्थानीय तह, प्रदेश र संघबाट उस्तै प्रकृतिका कार्यक्रम सञ्चालन हुँदा कतिपय अवस्थामा दोहोरोपन देखिएको बताए । जिल्लामा सुविधासम्पन्न अस्पतालको अभाव रहेको, अस्पतालमा आवश्यक उपकरण भए पनि दक्ष जनशक्ति नहुँदा त्यसको उपयोग हुन नसकेको उनको भनाइ थियो । स्वास्थ्य संस्थामा म्याद गुज्रिएका औषधि खरिद गर्ने र आर्थिक वर्षको अन्त्यमा फाल्नुपर्ने अवस्था आउन नदिन सम्बन्धित निकाय गम्भीर हुनुपर्ने प्रमुख घतानीले बताए । विशेषज्ञ चिकित्सकको अभावमा सामान्य बिरामीलाई समेत काठमाडौं रिफर गर्ने प्रवृत्तिको अन्त्य गर्नुपर्ने उनको भनाइ थियो ।

समीक्षा कार्यक्रममा जनस्वास्थ्य कार्यालय दोलखाका प्रमुख डिलेन्द्र बुढा मगर, पशुपति चौलागाईं स्मृति अस्पताल चरिकोटका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. अच्युत पौडेल तथा जिल्लाका नौवटै स्थानीय तहका स्वास्थ्य शाखा प्रमुखलगायतले आर्थिक वर्ष २०८२÷८३ मा सम्पादित स्वास्थ्य कार्यक्रम, उपलब्धि र चुनौतीबारे प्रस्तुति दिएका थिए ।

जनस्वास्थ्य कार्यालय दोलखाले गत आर्थिक वर्षमा केही नवीन कार्यक्रम तथा अभ्याससमेत सुरु गरेको प्रमुख बुढा मगरले बताए । विद्यालयमा सुरक्षित महिनावारी व्यवस्थापन प्रवद्र्धनका लागि महिनावारी सरसफाइ सामग्रीको सहज पहुँच बढाउने, किशोरकिशोरीको यौन तथा प्रजनन स्वास्थ्य अधिकारसम्बन्धी इन्फोग्राफिक फ्लेक्स वितरण गर्ने तथा सुरक्षित व्यवहार र स्वास्थ्य सेवाबारे जनचेतना अभिवृद्धि गर्ने कार्यक्रम सञ्चालन गरिएको उनले जानकारी दिए ।

विद्यालय केन्द्रित एचपीभी खोप अभियान ९६ प्रतिशत सम्पन्न भएको, एचपीभी डीएनए विधिबाट पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ सुरु गरिएको तथा ‘एक स्थानीय तह, एक नमुना स्वास्थ्य संस्था’ कार्यक्रम अघि बढाइएको उनले बताए । त्यस्तै, कात्तिक महिनादेखि जनस्वास्थ्य बुलेटिन प्रकाशन सुरु गरिएको र स्वास्थ्यसम्बन्धी सूचना स्थानीय भाषामा समेत प्रवाह गर्न थालिएको उनको भनाइ छ । पाम्स भी–२ सम्बन्धी कार्यक्रम सबै स्थानीय तहमा स्वास्थ्य संस्था तहसम्म अभिमुखीकरण गरिएको जनस्वास्थ्य कार्यालयले जनाएको छ । जिल्लामा जिरेल, नेवारी, थामी र तामाङ भाषामा स्वास्थ्यसम्बन्धी सूचना प्रसारणसमेत भइरहेको बुढा मगरले बताए ।

संघीय सरकारबाट सञ्चालित कार्यक्रमअन्तर्गत एनएचएफआर र एनएचडब्लुएआईसम्बन्धी तालिम, क्षयरोग तथा पोषणसम्बन्धी तालिम, एचपीभी, डीएनए स्क्रिनिङ, पाम्स भी–२ अभिमुखीकरण तथा औषधि र स्वास्थ्य सामग्रीको आपूर्ति तथा व्यवस्थापनसम्बन्धी कार्यक्रम सञ्चालन गरिएको उनले जानकारी दिए । त्यस्तै, प्रदेश सरकारको कार्यक्रमअन्तर्गत ‘एक स्थानीय तह, एक नमुना स्वास्थ्य संस्था’, सामुदायिक स्वास्थ्य स्वयंसेवक तथा प्रदेश स्वास्थ्य सहजकर्ता कार्यक्रम, एकीकृत जनस्वास्थ्य शिविर, पोषण प्रवद्र्धन कार्यक्रम, विद्यालयस्तरमा श्रवण, दृष्टि, दन्त, रक्त समूह तथा बाथ र मुटुरोगसम्बन्धी स्क्रिनिङ गरिएको जनस्वास्थ्य कार्यालयले जनाएको छ । ज्येष्ठ नागरिकका लागि ‘हेल्दी एजिङ’ कार्यक्रम तथा प्रजनन रुग्णतासम्बन्धी शिविरसमेत सञ्चालन गरिएको जनस्वास्थ्य कार्यालयका प्रमुख बुढा मगरले बताए ।


क्याटेगोरी : बाग्मती प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ