चरिकोट—एक शिक्षकलाई कोभिड–१९ पुष्टि भएको छ । दोलखाको जिरी नगरपालिका–९ का एक जना महिला शिक्षकलाई कोभिड—१९ संक्रमण पुष्टि भएको हो ।
काठमाडौँबाट केही दिन अघि घर फर्किएको उनलाई रुघाखोकी, ज्वरो, जीउ दुख्ने लगायतका लक्षण देखिएपछि अस्पतालमा स्वाब परीक्षण गर्दा कोभिड—१९ संक्रमण पुष्टि भएको थियो । जिरी नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख वरिष्ठ जनस्वास्थ्य अधिकृत केशव दाहालका अनुसार स्कुलको होस्टलको आइसोलेसनमा राखिएको छ । उनलाई लक्षण देखिएको १३ दिन भइसकेको र अब एक हप्ता आइसोलेसनमा बस्न आग्रह गरिएको छ ।
जिरी नगरपालिका ठूलोपातलस्थित एक विद्यालयमा गत भदौ २७ गते दुई जना शिक्षकलाई रुघाखोकी, ज्वरोजस्ता समस्या देखिएको र त्यो समस्या विद्यार्थी तथा अभिभावकहरुमा समेत देखिएपछि असोज ४ गतेबाट उक्त विद्यालय बन्द गरिएको थियो ।
ल्याव परीक्षणमा इन्फ्लुएन्जा देखिएको जानकारीपछि जिरी नगरपालिकाबाट चिकित्सकसहितको टोलीले त्यस विद्यालयका शिक्षक, विद्यार्थी र अभिभावकसहित ७ जनाको स्वाब परिक्षण गर्दा एक जना महिला शिक्षकमा कोभिड—१९ भाइरस संक्रमण पुष्टि भएको नगरपालिकाको जनस्वास्थ्य अधिकृत सुस्मिता रिमालले बताइन् ।
७ जनाको स्वाव परिक्षण गरिएकोमा ५ जनामा भने इन्फ्लुएन्जा देखिएको थियो । ७ जना बिरामीको स्वाब संकलन गरी असोज ६ गते राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाइएकोमा असोज ९ गते शुक्रबार एक जनामा कोभिड—१९ भाइरस संक्रमण देखिएको जानकारी प्राप्त भएको उनले बताइन् ।
महिला शिक्षकमा अहिले कुनै लक्षण नदेखिएको र उनी पूर्णरुपमा स्वस्थ रहेको जनस्वास्थ्य अधिकृत रिमालले बताइन । जिरी नगरपालिका–९ को ठूलोपातल, लेकखर्क र सल्लेमा डेंगु, स्क्रफ टाईफस र इन्फ्लुएन्जाको लक्षण भएका बिरामी देखिएको तर कसैलाई पनि अस्पतालमै राखेर उपचार गर्नुपर्ने अवस्था भने नरहेको जनस्वास्थ्य अधिकृत रिमालले बताइन् । नगरपालिकाको अन्य केही ठाँउमा भने डेंगु र स्क्रब टाइफसका बिरामी मात्र देखिएको उनको भनाइ छ ।