चरिकोट—दोलखाको भीमेश्वर नगरपालिका–५, मेलघुम्ती नजिकै शहरी स्वास्थ्य केन्द्र सञ्चालनमा आएको छ । नागरिकलाई सहज तरिकाले आधारभूत स्वास्थ्य सेवा प्रदान गराउने उद्देश्यले निर्माण गरिएको शहरी स्वास्थ्य केन्द्र केन्द्र सञ्चालनमा आएको हो ।
बागमती प्रदेशका भौतिक पूर्वाधार तथा योजनामन्त्री भरतबहादुर केसीले नवनिर्मित स्वास्थ्य केन्द्र भवनको उद्घाटन गरेका हुन् । भवन मात्र होइन्, यस सेवा केन्द्रबाट नागरिकले सामान्य उपचारको लागि सदरमुकाम धाउनुपर्ने बाध्यात्मक अवस्था हट्न सकोस । मन्त्री केसीले भवन उद्घाटन गर्दै सो अनुरोध गरे । गुणस्तरी स्वास्थ्य पाउने नागरिकको नैसर्गिक अधिकार हो । त्यसैले स्थानीय सरकारहरुले यसतर्फ ध्यान दिनको लागि पनि अनुरोध गरे ।
कार्यक्रममा भीमेश्वर नगरपालिकाका प्रमुख ईश्वरनारायण मानन्धर, उपप्रमुख कमला बस्नेत, सरोकारवाला निकायका प्रतिनिधि तथा स्थानीयवासीको सहभागिता रहेको थियो ।
कार्यक्रममा वक्ताहरूले स्वास्थ्य सेवा लिन टाढा जानुपर्ने स्थानीयवासीको बाध्यता अन्त्य गर्दै आफ्नै बस्ती नजिकैबाट प्राथमिक स्वास्थ्य सेवा उपलब्ध गराउन केन्द्र सञ्चालनले महत्वपूर्ण भूमिका खेल्ने बताएका थिए । स्थानीय तहमा स्वास्थ्य पूर्वाधार विस्तारसँगै नागरिकलाई सहज, गुणस्तरीय र पहुँचयोग्य स्वास्थ्य सेवा उपलब्ध गराउनुपर्नेमा समेत जोड दिइएको थियो ।
कार्यक्रम भीमेश्वर नगरपालिका–५ का वडाध्यक्ष बासु श्रेष्ठको अध्यक्षता र भौतिक मन्त्री केसीको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रममा स्थानीय जनप्रतिनिधि, स्वास्थ्यकर्मी, सरोकारवाला तथा स्थानीयवासीको उपस्थिति रहेको थियो ।
शहरी स्वास्थ्य केन्द्र सञ्चालनमा आएसँगै भीमेश्वर नगरपालिका–५ स्थित धरमघर, किरातीछाप र घोक्सिलाका ४५० घरधुरीका नागरिकले सहज तरिकाले स्वास्थ्य सेवा पाउने वडाअध्यक्ष श्रेष्ठ बताए । हाल यस केन्द्रमा २ जना स्वास्थ्यकर्मीले नागरिकले सामान्य स्वास्थ्य परीक्षण, प्राथमिक उपचार तथा आधारभूत स्वास्थ्य सेवाको नियमित खोप समेत यसै केन्द्रबाट उपलब्ध गराइने छ ।