काठमाडौं—बसुन्धरास्थित एमएन हस्पिटल र काठमाडौं महानगरपालिका वडा नं. ३ बीच उपचारमा छुट सम्बन्धि सम्झौता भएको छ । शुक्रबार हस्पिटल र काठमाडौं महानगरपालिका वडा नं. ३ बीच वडावासीको उपचारमा सेवामा छुट दिने सम्बन्धित सम्झौता भएको हो ।
सम्झौताअनुसार एमएन हस्पिटलले काठमाडौं महानगरपालिका वडा नं. ३ का जेष्ठ नागरिक, एकल महिला र सम्पूर्ण वडावासीलाई विभिन्न सेवाहरुमा छुट दिनेछ । हस्पिटलले वडाका ७० वर्षमाथिका जेष्ठ नागरिक तथा एकल महिलालाई ओपीडी टिकट निःशुल्क, सम्पूर्ण बेडमा चार्जमा २० प्रतिशत, ल्याब परीक्षणमा २० प्रतिशत, शल्यक्रियामा १० प्रतिशत र औषधिमा १० प्रतिशत छुट दिनेछ ।
यस्तै, काठमाडौं महानगरपालिका वडा नं. ३ का सम्पूर्ण स्थानीयलाई सम्पूर्ण बेड चार्जमा २० प्रतिशत, परीक्षणमा १५ प्रतिशत, शल्यक्रियामा ७ प्रतिशत, औषधिमा १० प्रतिशत र ओपीडि टिकट शुल्कमा २० प्रतिशत छुट हुनेछ ।
काठमाडौं महानगरपालिका वडा नं. ३ का वडाध्यक्ष प्रेम थापाले एमएन हस्पिटलले सम्पूर्ण वडावासीलाई स्वास्थ्य उपचार सरल र सुलभ तरिकाले उपलब्ध गराउने विश्वास व्यक्त गरे । ‘एमएन अस्पताल व्यवस्थापन सम्झौतापत्र बाहेकका सेवामा पनि वडाले सिफारिस गरेका वडावासीलाई सहुलियतपूर्ण सेवा दिने विश्वास लिएको छु,’ वडाध्यक्ष थापाले भने, ‘सम्पूर्ण वडावासीलाई यो सम्झौताअनुरुप उपचार सेवाको लाभ लिन अनुरोध गर्दछु ।’