विराटनगर—रोजगारीका सिलसिलामा कतार पुगेका कोशी प्रदेशका युवाहरूले प्रदेशका १४ वटै जिल्लाका अस्पताल तथा स्वास्थ्य केन्द्रलाई निःशुल्क ह्विलचियर उपलब्ध गराएका छन् । अस्पतालमा उपचारका लागि आउने अशक्त, अपाङ्गता भएका तथा ह्वीलचेयर आवश्यक पर्ने बिरामीको सहजताका लागि युवाहरूले सामाजिक उत्तरदायित्वअन्तर्गत यो सहयोग गरेका हुन् ।
कोशी प्रदेश समन्वय परिषद्, कतार’ को आयोजना तथा त्यहाँ क्रियाशील विभिन्न जिल्ला संस्थाहरूको सहकार्यमा कुल ५ लाख ६० हजार रुपैयाँ बराबरका २८ थान ह्वीलचेयर र वितरण गरिएको हो । प्रतिथान २० हजार रुपैयाँ मूल्य पर्ने ती सामग्री प्रदेश स्वास्थ्य मन्त्रालयमार्फत सम्बन्धित अस्पतालहरूलाई हस्तान्तरण गरिएको परिषद्ले जनाएको छ ।
परिषद्का महासचिव महेन्द्र उप्रेतीका अनुसार मोरङको कोशी अस्पताल, सुनसरीको जिल्ला अस्पताल इनरुवा, झापाको बाह्रदशी अस्पताल र बनियानी प्राथमिक स्वास्थ्य केन्द्रलाई ह्वीलचेयर प्रदान गरिएको छ।
यस्तै, उदयपुरको गाईघाट, इलाम, पाँचथरको फिदिम, ताप्लेजुङको फुङलिङ, धनकुटा, ओखलढुङ्गाको रुम्जाटार र सोलुखुम्बुको फाप्लु जिल्ला अस्पताललाई पनि ह्वीलचेयर उपलब्ध गराइएको छ । त्यसैगरी, सङ्खुवासभाको खाँदबारी र चैनपुर अस्पताल, तेह्रथुमको म्याङ्लुङ र सङ्क्रान्ति बजार प्राथमिक स्वास्थ्य केन्द्र, भोजपुरको जिल्ला अस्पताल र दिङ्गला नगर अस्पताल तथा खोटाङका जन्तेढुंगा र बराहपोखरी गाउँपालिकास्थित आधारभूत अस्पतालहरूलाई ह्वीलचेयर हस्तान्तरण गरिएको उप्रेतीले जानकारी दिए ।
स्वास्थ्य मन्त्रालयमा आयोजित कार्यक्रममा कोशी प्रदेशका स्वास्थ्यमन्त्री इन्द्रमणि पराजुलीले प्रवासमा पसिना बगाइरहेका युवाहरूले मातृभूमिको स्वास्थ्य क्षेत्रमा पुर्याएको योगदानको प्रशंसा गरे ।
‘दुर्गम तथा जिल्ला अस्पतालमा आउने असहाय बिरामीका लागि यो सहयोग निकै राहतपूर्ण हुनेछ,’ मन्त्री पराजुलीले भने, ‘प्रदेश सरकार पनि जिल्ला अस्पतालहरूको भौतिक तथा प्राविधिक स्तरोन्नति र सेवा सुदृढीकरणमा निरन्तर लागिरहेको छ।’