२०८३ असोज २६, सोमबार
Health Aawaj logo
गृहपृष्ठ ∕ अन्तर्वार्ता / विचार ∕ रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ?

रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ?


‘तपाईंको रक्त समूह (Blood group) के हो ?’
‘ओ पोजिटिभ !’

यो प्रश्नको उत्तर हामीमध्ये धेरैले सजिलै दिन सक्छौँ । तर, रक्तसञ्चारको संसारमा ‘ओ पोजिटिभ’ भन्नु सम्पूर्ण परिचय होइन, सुरुवात मात्र हो ।

यो अलि त्यस्तै हो – कसैले तपाईंलाई ‘तपाईं कहाँ बस्नुहुन्छ?’ भनेर सोध्यो र तपाईंले ‘काठमाडौं’ मात्र भन्नुभयो । काठमाडौं त भयो तर कुन ठाउँ, कुन टोल ?

ए बी ओ (ABO) र आरएच डी (Rh D) मात्र पर्याप्त छैन ।

रक्त समूह निर्धारण गर्दा सामान्यतया ए, बी, एबी र ओ तथा आरएच डी पोजिटिभ वा नेगेटिभ जाँच गरिन्छ । रक्तसञ्चारका लागि यी परीक्षण अत्यन्त महत्वपूर्ण छन् । तर, हाम्रो रातो रक्तकोषको सत्तहमा यतिले मात्र कथा सकिँदैन् ।

त्यहाँ आरएच (Rh), केल (Kell), किड (Kidd), डफी (Duffy), एमएनएस (MNS) लगायतका विभिन्न रक्तसमूहसँग सम्बन्धित एन्टिजेनहरू (Antigens) पनि हुन्छन् ।

रातो रक्तकोषमा रहेका यस्ता विभिन्न एन्तिजेनको पहिचान गर्ने प्रक्रियालाई फेनोटाइपिङ (Phenotyping) भनिन्छ।
सरल भाषामा भन्नुपर्दा,
Blood grouping = सामान्य परिचयपत्र
Phenotyping = विस्तृत परिचयपत्र

नेपालमा फेनोटाइपिङ (Phenotyping) को आवश्यकता किन?

नेपालमा थालासेमिया, क्यान्सर तथा अन्य दीर्घकालीन रोग भएका केही बिरामीले पटक–पटक रगत चढाउनुपर्ने हुन्छ । उदाहरणका लागि, कुनै थालासेमिया बिरामीले वर्षौंसम्म धेरै पटक रगत चढाउँदा उसको शरीरले दाताको रातो रक्तकोषमा भएका तर आफूमा नभएका एन्टिजेन (Antigen) विरुद्ध एन्टिबडी (Antibody) बनाउन सक्छ ।

त्यसपछि अर्को पटक रगत चढाउँदा ‘ओ पोजिटिभ’ वा ‘ए पोजिटिभ’ मिल्यो भन्दैमा मात्र पुग्दैन् ।  बिरामीको शरीरमा भएको एन्टिबडी (Antibody) सँग प्रतिक्रिया गर्ने एन्टिजेन (Antigen) नभएको उपयुक्त रगत खोज्नुपर्ने हुन सक्छ । त्यसैले यस्ता बिरामीका लागि फेनोटाइपिङ (Phenotyping) को अभिलेख निकै उपयोगी हुन सक्छ ।

एउटा सजिलो उदाहरण, मानौँ काठमाडौंको कुनै अस्पतालमा उपचार गराइरहेका बिरामीको रक्त समूह ‘बी पोजिटिभ’ छ । रगतको एन्टिबडी (Antibody) परीक्षण गर्दा एउटा विशेष एन्टिबडी (Antibody) भेटियो । अब रक्त बैंकले ‘बी पोजिटिभ छ, एउटा झिकेर दिऊँ’ भन्न मात्र मिल्दैन् । बरु, उक्त एन्टिबडी (Antibody) सँग प्रतिक्रिया गर्ने एन्टिजेन (Antigen) नभएको ‘बी पोजिटिभ’ रगत खोज्नुपर्छ । यदि रक्त बैंकसँग पहिले नै रक्तदाता को विस्तृत फेनोटाइपिङ (Phenotyping) अभिलेख छ भने उपयुक्त रक्तदाता खोज्न धेरै सजिलो हुन सक्छ ।

नत्र भने सुरु हुन्छ –
‘कुन दाताको रगत मिल्छ ?’
‘फोन गरौँ त !’
‘अर्को अस्पतालमा सोधौँ !’

नेपालमा रक्तदाता को फेनोटाइपिङ (Phenotyping) अभिलेख किन आवश्यक छ?

नेपालमा धेरै नियमित रक्तदाताले निःस्वार्थ रूपमा रक्तदान गरिरहेका छन् । यदि यस्ता रक्तदाताको आरएच (Rh) र केल (Kell) जस्ता महत्वपूर्ण एन्तिजेन (Antigen) पहिचान गरेर व्यवस्थित अभिलेख राख्न सकियो भने भविष्यमा विशेष प्रकारको रगत आवश्यक पर्ने बिरामीका लागि उपयुक्त दाता खोज्न धेरै सहयोग पुग्न सक्छ ।

विशेषगरी बारम्बार रक्तसञ्चार आवश्यक पर्ने थालासेमिया तथा अन्य बिरामीका लागि यस्तो व्यवस्था महत्वपूर्ण हुन सक्छ ।

कल्पना गर्नुहोस् – रक्तसञ्चार केन्द्रमा हजारौँ दाताको अभिलेख छ र कम्प्युटरमा खोज्दा तुरुन्तै थाहा हुन्छ: ‘यो बिरामीलाई चाहिने विशेषता भएको रगत फलानो दातामा उपलब्ध छ ।’

त्यसपछि रक्त बैंकका कर्मचारीले पनि राहतको सास फेर्न सक्छन्।

सबैको फेनोटाइपिङ (Phenotyping) गर्नुपर्छ त ?

यसको अर्थ सबै व्यक्तिको फेनोटाइपिङ (Phenotyping) अनिवार्य रूपमा गर्नुपर्छ भन्ने होइन् । ए बी ओ (ABO) र आरएच डी (Rh D) रक्त समूह परीक्षण नै आधारभूत र अत्यावश्यक परीक्षण हुन् ।

तर, बारम्बार रगत चढाउनुपर्ने बिरामी, पहिले नै महत्वपूर्ण एन्टिबडी (Antibody) बनाइसकेका बिरामी तथा विशेष रक्तसञ्चार आवश्यकता भएका व्यक्तिका लागि थप एन्टिजेन (Antigen) पहिचान र मिलान उपयोगी हुन सक्छ । अब हाम्रो सोच पनि अलि विस्तृत हुनुपर्छ ।

नेपालमा रक्तसञ्चार सेवा विस्तार हुँदै जाँदा हामीले केवल ‘रक्त समूह के हो?’ भन्ने प्रश्नमा मात्र सीमित न रही, ‘यस रक्तकोषमा अरू कुन–कुन एन्टिजेन छन् ?’ भन्ने प्रश्नतर्फ पनि ध्यान दिन आवश्यक छ । रगतको सुरक्षित प्रयोग केवल रगत उपलब्ध गराउनु मात्र होइन्, आवश्यक बिरामीका लागि सकेसम्म उपयुक्त रगत उपलब्ध गराउनु पनि हो ।

त्यसैले अर्को पटक कसैले सोध्यो – ‘तपाईंको रक्त समूह के हो ?’
‘ओ पोजिटिभ’ भन्नुहोस् ।

तर, याद राख्नुहोस् – ए, बी, ओ, एबी, (A,B,O,AB) र पोजिटिभ–नेगेटिभ हाम्रो रगतको परिचयपत्रको पहिलो पाना मात्र हो । पूरा परिचयपत्र अझै धेरै लामो छ !

(भण्डारी ८ वर्षदेखि रक्त बैंकिङ क्षेत्रमा प्राविधिक विशेषज्ञका रुपमा सक्रिय छन् ।)


क्याटेगोरी : अन्तर्वार्ता / विचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ