विराटनगर—सेतो एप्रोन, स्टेथस्कोप र बिरामी जाँचको दैनिक दौडधुपलाई केही समय थाती राख्दै कोशी प्रदेशका चिकित्सकहरू फरक शैलीमा पर्वोत्सवमा रमाएका छन् । नेपाल चिकित्सक संघ (एनएमए), कोशी शाखाले दशैँ, तिहार, नेपाल संवत् तथा छठपर्वको अवसर पारेर आयोजना गरेको संयुक्त उत्सवमा २०५ जना चिकित्सक एउटै थलोमा भेला भएर सद्भाव र आत्मीयता साटासाट गरेका हुन्।
‘प्रोफेसनल्स विथ अनलिमिटेड फन’ मूल भाव दिइएको कार्यक्रमको उद्घाटन परम्परागत औपचारिकताभन्दा भिन्न शैलीमा गरिएको थियो । मञ्चमा उपस्थित अतिथिहरूले रिबन काट्ने वा दीप प्रज्वलन गर्नुको साटो एकसाथ ‘हट लेमन चियर्स’ गरेर कार्यक्रमको शुभारम्भ गरेका थिए ।
संघका कोशी शाखा अध्यक्ष डा. राजेन्द्र चौधरी, कोशी प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव डा. कीर्तिपाल सुवेदी, कोशी अस्पताल विकास समितिका अध्यक्ष डा. सुमित घिमिरे, कोशी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चन्द्रभाल झा, बुढीगंगा अस्पतालका मेसु डा. सुरज थापा मगर, विराट मेडिकल कलेजका प्रिन्सिपल डा. सन्तोष उपाध्याय काफ्ले, संघका पूर्वअध्यक्ष तथा सल्लाहकारहरू डा. यज्ञराज पाठक, डा. वीरेन्द्र विष्ट, डा. विश्वनाथ अधिकारी र डा. आलोक भण्डारीलगायतले संयुक्त रूपमा तातो कागती पानीको चुस्की लिँदै उत्सव सुरु गरेका थिए ।

समारोहलाई सम्बोधन गर्दै स्वास्थ्य सचिव डा. सुवेदीले व्यस्त चिकित्सकीय जीवनबीच यस्ता जमघटले आपसी सम्बन्ध प्रगाढ बनाउने बताए । प्रदेशमा आएदेखि नै चिकित्सक समुदायसँग खुला अन्तरक्रिया गर्ने चाहना रहेको उल्लेख गर्दै उनले स्वास्थ्य क्षेत्रको सुधारका लागि चिकित्सकहरूसँग सधैँ सहकार्य रहने प्रतिबद्धता जनाए ।
कार्यक्रममा नोबेल मेडिकल कलेजका प्रिन्सिपल डा. राजेश नेपाल, निर्देशक डा. अशोक कोइराला, डा. रोहित यादव, सह–प्राचार्य डा. मनोज भट्टराई लगायत विभिन्न स्वास्थ्य संस्थाका प्रतिनिधिहरूको बाक्लो उपस्थिति थियो।
मञ्चमा देखियो चिकित्सकको प्रतिभा
लामो समय अस्पतालको शल्यक्रिया कक्ष र ओपीडीमा व्यस्त रहने चिकित्सकहरूले कार्यक्रममा आफ्नो सांगीतिक प्रतिभासमेत प्रस्तुत गरे । एनेस्थेसियोलोजिस्ट डा. मञ्जिल श्रेष्ठ र डा. सुमन थापाले सुमधुर गीत प्रस्तुत गरेर सहकर्मीहरूलाई मन्त्रमुग्ध बनाए । त्यस्तै, विराट मेडिकल कलेजमा इन्टर्नसीप गरिरहेका डा. सानु यादव, डा. स्तुति श्रेष्ठ, डा. भावया रञ्जन र डा. सोहिनी घोषको सामूहिक नृत्यले माहोल थप उत्साही बनाएको थियो ।

कार्यक्रममा सहभागी चिकित्सकहरूले छोटो औपचारिक सत्र र आपसी भेटघाटलाई प्राथमिकता दिइएको शैलीको प्रशंसा गरे। विभिन्न विधा, विशेषज्ञता र अस्पतालका चिकित्सक एकै ठाउँमा भेला हुँदा अनुभव आदानप्रदानसँगै पेशागत सम्बन्ध विस्तारमा मद्दत पुग्ने भन्दै उनीहरूले यस्ता कार्यक्रम वर्षमा कम्तीमा दुई पटक आयोजना गर्न सुझाव दिए ।
कार्यक्रममा लक्की ड्रमार्फत सहभागी तीन जना चिकित्सकलाई ‘हेयर एण्ड स्किन केयर लेजर अस्पताल’ इटहरीले प्रायोजन गरेको उपहार प्रदान गरिएको थियो । संघका महासचिव डा. बालकृष्ण साह र डा. प्राची भगतले सञ्चालन गरेको उक्त पर्वोत्सवले अस्पतालको तनावपूर्ण जिम्मेवारीबाट केही समय भए पनि चिकित्सकहरूलाई ताजगी प्रदान गरेको सहभागीहरूले बताए ।