काठमाडौँ– चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षाका विभिन्न कार्यक्रममा ४१८ सिट वृद्धि गरेको छ । शुक्रबार प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा बढेको आयोगको बैंठकले शैक्षिक सत्र २०८३/८४ का लागि चिकित्सा शिक्षाका विभिन्न कार्यक्रममा ४१८ सिट वृद्धि गरेको हो ।
आयोगले एमबीबीएसमा ११०, बीएस्सी नर्सिङमा २१०, बीएमएसमा ९८ सिट वृद्धि गरेको छ । यससँगै आयोगले ८४ वटा शिक्षण संस्थाका लागि चिकित्सा शिक्षाका कार्यक्रममा ९ हजार ६९१ सिट तोकेको छ । गत शैक्षिक सत्रमा यो संख्या ९ हजार २७३ थियो ।
आयोगले एमबीबीएसमा ११० सिट वृद्धि गरेकोमा सबै सरकारी संस्थानहरुलाई मात्रै दिएको छ । बढाइएको एमबीबीएस सिटमध्ये पहिलो पटक पठनपठान सुरु गर्न लागेको कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले एमबीबीएसमा ५० सिट पाएको छ ।
यस्तै, एमबीबीएसमा नेपाली सेना स्वास्थ्य विज्ञान संस्थान र धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले ३०-३० सिट थप पाएका छन् । अन्य मेडिकल कलेजको एमबीबीएसको सिट भने यथावत राखिएको छ ।
निजी मेडिकल कलेजहरुले सिट वृद्धि गर्नुपर्ने माग गर्दै आएका पनि उनीहरु सिट भने वृद्धि गरिएको छैन ।