काठमाडौं— मिनभवनस्थित निजामती कर्मचारी अस्पतालमा पहिलोपटक एक्स्ट्राकर्पोरियल मेम्ब्रेन अक्सिजेनेसन (ईक्मो) सेवा सफलतापूर्वक सञ्चालनमा आएको छ । हालैमात्र निजामती कर्मचारी अस्पतालले उक्त सेवा सञ्चालनमा ल्याएको हो ।
अस्पतालकाअनुसार इन्फ्लुएन्जा भाइरसको संक्रमणका कारण गम्भीर प्रकारको एक्युट रेस्पिरेटरी डिस्ट्रेस सिन्ड्रोम (एआरडीएस) बाट पीडित ४३ वर्षीय पुरुष बिरामी ईक्मोसहितको उपचारपछि स्वास्थ्य लाभ गरी अस्पतालबाट डिस्चार्ज भएका छन् ।
बिरामीको उपचारमा सिभिल अस्पतालका सघन उपचार सेवाका प्रमुख डा. प्रदीप तिवारी, सघन उपचार विशेषज्ञहरू डा. आनन्द ठाकुर, डा. सन्तोष आचार्य र डा. वीरेन्द्र राउत, कार्डियोथोरासिक तथा भास्कुलर सर्जन डा. सम्पूर्ण तुलाधर, पर्फ्युजनिस्ट इशान जोशी तथा एनेस्थेसियोलोजिस्ट डा. दीपक भण्डारीलगायत चिकित्सक र नर्सिङ स्टाफ संलग्न थिए ।
अस्पतालका आईसीयू विभाग प्रमुख डा. प्रदीप तिवारीका अनुसार ईक्मो अत्याधुनिक जीवनरक्षक प्रणाली हो । यसले मुटु र फोक्सोमा गम्भीर समस्या भएका बिरामीमा आवश्यकताअनुसार ती अंगको काम अस्थायी रूपमा गर्छ । यस प्रणालीमार्फत शरीरबाट रगत बाहिर निकालेर त्यसमा अक्सिजन थपिन्छ र कार्बन डाइअक्साइड हटाइन्छ । त्यसपछि प्रशोधित रगत पुनः शरीरमा पठाइन्छ ।
‘भाइरल संक्रमणपछि बिरामीको फोक्सोमा गम्भीर समस्या देखिएकाले उपचारका क्रममा फोक्सोलाई आराम दिन विशेष प्रकारको ईक्मो मेसिनको सहायता आवश्यक परेको थियो,’ डा. तिवारीले भने, ‘उहाँलाई ईक्मो मेसिनमा जोडिएपछि फोक्सोलाई मेसिनले सहयोग गर्न थालेको थियो ।’
बिरामीलाई ११ दिनसम्म ईसीएमओ र १४ दिनसम्म भेन्टिलेटरको सहायतामा उपचार गरिएको थियो । उपचारपछि १७ असोजमा उनलाई सघन उपचार कक्ष (आईसीयू) बाट डिस्चार्ज गरी घर पठाइएको अस्पतालले जनाएको छ ।
उपचारमा संलग्न ईक्मो विशेषज्ञ तथा क्रिटिकल केयर विशेषज्ञ डा. आनन्द ठाकुरका अनुसार एआरडीएस, पल्मोनरी इम्बोलिजम, गम्भीर हृदयाघात तथा मुटु र फोक्सो प्रत्यारोपणजस्ता अवस्थामा ईक्मो प्रणाली प्रयोग गरिन्छ ।