२०८३ कात्तिक १६, सोमवार
Health Aawaj logo
गृहपृष्ठ ∕ अन्य ∕ नर्सिङ दक्षता अभिवृद्धिमा नेपाल मेडिकल कलेजमा एक दिने नर्सिङ वर्कशप

नर्सिङ दक्षता अभिवृद्धिमा नेपाल मेडिकल कलेजमा एक दिने नर्सिङ वर्कशप

नियमित सीपीडी सञ्चालन गरिने


काठमाडौं—केमोथेरापी उपचारका क्रममा औषधि रक्तनलीबाट बाहिर निस्किएर छालामुनिको तन्तु (Subcutaneous Tissue) मा चुहिने अवस्थालाई एक्स्ट्राभेसेसन भनिन्छ । यस्तो समस्या समयमै पहिचान र उचित व्यवस्थापन गर्न नसक्दा बिरामीको तन्तुमा गम्भीर क्षति पुग्न सक्ने भएकाले यसको रोकथाम तथा प्रभावकारी व्यवस्थापनबारे स्वास्थ्यकर्मीलाई प्रशिक्षित गर्ने उद्देश्यले नेपाल मेडिकल कलेजले एकदिने नर्सिङ वर्कशप आयोजना गरेको छ ।

‘Management of Extravasation of Chemotherapeutic Drugs’ विषयमा आयोजित उक्त वर्कशप नेपाल मेडिकल कलेजको नर्सिङ विभागको आयोजनामा सम्पन्न भएको हो ।

वर्कशपमा लेक्चरर पूजा प्रकाशले सहजीकरण गरेकी थिइन् । कार्यक्रममा केमोथेरापीका क्रममा हुने औषधि चुहावटका कारण, जोखिम, लक्षणको पहिचान, रोकथामका उपाय तथा यस्तो अवस्था सिर्जना भएमा अपनाउनुपर्ने तत्कालीन व्यवस्थापन प्रक्रियाबारे विषयगत प्रस्तुति र व्यावहारिक अभ्याससहित छलफल गरिएको थियो ।

विशेषगरी केमोथेरापी सेवा प्रदान गर्ने क्रममा नर्सिङ जनशक्तिले अपनाउनुपर्ने सावधानी, बिरामीको नियमित निगरानी, एक्स्ट्राभेसेसनको प्रारम्भिक पहिचान र समयमै आवश्यक उपचार तथा व्यवस्थापनका उपायबारे सहभागीहरूलाई जानकारी दिइएको थियो ।

यस किसिमका तालिम तथा कार्यशालाले नर्सिङ जनशक्तिको व्यावसायिक दक्षता अभिवृद्धि गर्नुका साथै बिरामीको उपचारलाई थप सुरक्षित र प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास कलेजले लिएको छ ।

कार्यक्रमका क्रममा नर्सिङ डाइरेक्टर सिर्जना पाण्डेले नर्सिङ विभागले अब नियमित रूपमा सीपीडी कार्यक्रम सञ्चालन गर्ने घोषणा गरिन् । उनले नर्सिङ जनशक्तिको ज्ञान, सीप र कार्यक्षमता निरन्तर अभिवृद्धि गर्न यस्ता व्यावसायिक विकाससम्बन्धी कार्यक्रमलाई प्राथमिकताका साथ अगाडि बढाइने बताइन् ।

नेपाल मेडिकल कलेजले स्वास्थ्य सेवाको गुणस्तर सुधार, बिरामीको सुरक्षा र स्वास्थ्यकर्मीको व्यावसायिक क्षमता विकासलाई केन्द्रमा राख्दै नियमित तालिम तथा शैक्षिक गतिविधिलाई निरन्तरता दिने जनाएको छ ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ