काठमाडौं—नेपालको पहिलो ‘एडभान्स स्ट्रोक सेन्टर’को मान्यता पाएको धापासीस्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा विश्व स्ट्रोक दिवस मनाइएको छ । बिहीबार विश्व स्ट्रोक दिवसको अवसरमा ग्राण्डी अस्पतालमा एक कार्यक्रमको आयोजना गरी विश्व स्ट्रोक दिवस मनाइएको हो ।
कार्यक्रममा अस्पतालका वरिष्ठ न्यूरोलोजिष्ट तथा मस्तिष्कघात उपचारका निर्देशक डा. राजु पौडेलले विश्वभर स्ट्रोकबाट प्रत्येक वर्ष करिब १ करोड २० लाख मानिस प्रभावित हुने गरेको बताए ।
नेपालमा भने वर्षेनी स्ट्रोकबाट ५० देखि ७५ हजार मानिस प्रभावित हुने गरेको डा. पौडेलको भनाइ छ । उनले स्ट्रोक नसर्ने रोगहरुमध्ये विश्वको दोस्रो मृत्युको कारण बनेको बताए ।
डा. पौडेलले स्ट्रोकलाई नियन्त्रण गर्न रक्तचाप र सुगरको मात्रा नियन्त्रण गर्नुपर्ने, कोलेस्ट्रोललाई नियन्त्रणमा राख्नुपर्ने, धुम्रपान र मदिरापानलाई त्याग्नुपर्ने, दैनिक कम्तिमा ४५ मिनेट हिँड्नुपर्ने बताए ।
यस्तै, चिल्लो पदार्थ कम खाने, सागसब्जीको मात्रा बढाउने, नुनको प्रयोगमा ध्यान दिनुपर्ने डा. पौडेलको भनाइ थियो । स्ट्रोक भएका बिरामीलाई साढे चार घण्टाभित्र अस्पताल लैजान सकिए पक्षघात हुनबाट बचाउन सकिने उनले जानकारी दिए ।
स्ट्रोकको समयमै उपचार भएमा बिरामीको जीवन बचाउनको साथै, अपांगताबाट बचाउन सकिने उबताउँदैं डा. पौडेलले नेपालमा मुटुको समस्या भएर त्यसपछि रगतको ढिक्का गएर मस्तिष्कमा असर गर्ने समस्याहरु धेरै देखिने बताए । ‘सरकारले हरेक प्रदेशमा स्ट्रोक उपचारको लागि अस्पतालको राम्रो व्यवस्था गर्नुपर्नेछ,’ उनले भने ।
ग्राण्डीले गत वर्ष विश्व स्ट्रोक संगठन (डब्लुएसओ) बाट उच्च प्रविधिको मस्तिष्कघात सम्बन्धी उपचार केन्द्र ‘एडभान्स स्ट्रोक सेन्टर’का रुपमा मान्यता प्राप्त गरेको थियो ।
डब्लुएसओले ग्राण्डी अस्पतालको गुणस्तरीय सेवाको मूल्यांकन गरी अन्तर्राष्ट्रियस्तरको मापदण्डका आधारमा ‘एडभान्स स्ट्रोक सेन्टर’को मान्यता प्रदान गरेको थियो । विश्व स्ट्रोक दिवसका अवसरमा आज ग्राण्डी अस्पतालमा हाजिरीजवाफ प्रतियोगिता आयोजना गरिएको थियो ।