२०८३ असार ३१, बुधबार
Health Aawaj logo
गृहपृष्ठविशेष रिपोर्ट१०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं

१०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं


काठमाडौं—भक्तपुरको गठ्ठाघरस्थित १०० शय्याको नागरिक कम्युनिटी टिचिङ हस्पिटल लिमिटेडले आफ्नै जग्गामा अत्याधुनिक भवन निर्माण सुरु गरेको छ । हाल भाडाको भौतिक पूर्वाधारबाट सञ्चालनमा रहेको यो हस्पिटलले मध्यपुर थिमी नगरपालिका—३ स्थित आफ्नै ७ रोपनी जग्गामा ११ तले अत्याधुनिक भवन निर्माण गरी हस्पिटल स्थानान्तरण गरेर सञ्चालन गर्ने प्रक्रिया अगाडि बढाइसकेको छ ।

हस्पिटलका अध्यक्ष आरएस भण्डारीले हेलिप्याडसहित बन्न लागेको उक्त अत्याधुनिक भवन दुई तला बेसमेन्टबाहेक ११ तलाको हुने जानकारी दिए । ‘हामीले १८ असारमा शिलान्यास गर्‍यौं, ३१ असारबाट निर्माण कार्य सुरु भइसकेको छ,’ ह्याम्स अस्पतालका समेत अध्यक्ष रहेका भण्डारीले भने, ‘अब एक वर्षभित्र निर्माण सकेर भक्तपुर क्षेत्रमा रहेको स्वास्थ्य सेवाको ग्यापलाई पूरा गर्ने अठोटका साथ काम गरिरहेका छौं ।’

हेलिप्याण्डसहितको ११ तलाको १ लाख २२ हजार स्वाक्यर फिट क्षेत्रफलको भवन निर्माणका लागि मात्रै नागरिक कम्युनिटी टिचिङ हस्पिटलले झण्डै १०० करोड रुपैयाँ खर्च गर्दैछ । यो नयाँ भवनसहितको पूर्वाधारको नक्सा पासका लागि मात्रै नागरिकले ३६ लाख ५० हजार रुपैयाँ राजस्व तिरेको छ ।

आगामी तीन वर्षभित्र हस्पिटल २०० शय्यामा विस्तार गर्दै झण्डै १२०० जनालाई रोजगारी दिने योजनाका साथ आफूहरुले लगानी थपेर अत्याधुनिक संरचना बनाउन लागेको अध्यक्ष भण्डारीले बताए । उनले भने, ‘अहिलेको अवस्थामा फेज वान र फेज टुमा गरी झण्डै २ सय ५० करोड रुपैयाँ लगानी हुन्छ ।’ उनकाअनुसार एक वर्षमा फेज वान र साढे दुई वर्षमा फेज टु सक्ने गरी कामहरु अगाडि बढाइएको छ । हालसम्म हस्पिटलमा झण्डै ८६ करोड रुपैयाँ लगानी भइसकेको छ ।

अध्यक्ष आरएस भण्डारी

हाल हस्पिटलमा २७० जना कर्मचारी कार्यरत छन् । एक वर्षपछि नयाँ भवनबाट सेवा सुरु हुँदा सुरुमा ५०० सय हाराहारीमा कर्मचारीले रोजगारी पाउनेछन् भने तीन वर्षपछि फूल फेजमा हस्पिटल २०० शय्यामा सञ्चालनमा आउँदा १२०० हाराहारीमा रोजगारी सिर्जना हुनेछ । ‘आवश्यकताअनुसार हामी कर्मचारी, विशेषज्ञ जनशक्ति थप गर्छौ,’ उनले भने, ‘बिरामीको आवश्यकताका आधारमा विभागहरु एक्स्पान्सन गर्छौ ।’ भण्डारीअनुसार ह्याम्सको अनुभवका आधारमा आगामी डेढ वर्षसम्म १०० शय्यामा हस्पिटल सञ्चालन गर्ने र तीन वर्षभित्र २०० शय्यामा लैजाने योजना छ ।

नागरिक कम्युनिटी टिचिङ हस्पिटलको नयाँ भवनबाट सेवा थालनी गरेसँगै स्त्री तथा प्रसूति रोगको उत्कृष्ट एनआईसीयु, टाइमल्ली ट्रमा म्यानेजमेन्ट, क्याथल्याबसहितको मुटुको उपचार, डायलाइसिस सेवामा विशेष प्राथमिकता दिने उनले बताए । अहिले ह्याम्सले दिइरहेकै क्वालिटी र एक्पटिजअनुसारको सेवा नागरिकबाट प्रवाह हुने उनको धारणा छ । ‘अहिले नागरिकबाट रेफर गरेर मुटुलगायतका बिरामीहरु हामीले ह्याम्समा ल्याइरहेका छौं,’ उनले भने, ‘ह्याम्समा भइरहेका सेवा, एक्पटिज र सर्विसको क्वालिटी छ, त्यो लेभलको सर्विस सुरु गर्नुपर्ने त्यहाँको पहिलो आवश्यकता छ ।’

तीव्र वस्ती विकास भएको र हाइवे पर्ने भएकाले धेरै ट्रमाका केसहरुमा उत्कृष्ट ट्रिटमेन्टको आवश्यकता पर्ने अवस्थालाई मध्यनजर गर्दै सेवा प्रवाह गरिने उनको भनाइ थियो । ‘काठमाडौं र ललितपुरमा सर्विसवाइज नेपालमा उपलब्ध सबै सर्विस दिने ठूला कर्पोरेट र सरकारी हस्पिटलको उपस्थिती छ,’ उनले भने, ‘तर, यही चीज कोटेश्वरबाट उता ठूलो ग्याप छ, त्यही ग्यापलाई पूरा गर्ने उद्देश्यसहितको हुटहुटी भएकाले नागरिकमा प्रवेश गरेका हौं । त्यो दिशामा हामी निरन्तर अगाडि बढिरहेका छौं ।’

कस्तो बन्दैंछ नागरिक कम्युनिटी टिचिङ हस्पिटल ?

नागरिक कम्युनिटी टिचिङ हस्पिटल स्थानान्तरणको वातावरणीय प्रभाव मुल्यांकन प्रतिवेदनमा उल्लेख भएअनुसार हस्पिटलको तल्लो बेसमेन्टमा बाइक पार्किङ र माथिल्लो बेसमेन्टमा कार पार्किङ हुनेछ । यस्तै, भुइँतलामा क्यान्टिन, सिएसएसडी र प्रयोगशाला रहनेछ भने पहिलो तलामा इमर्जेन्सी वार्ड, स्टाफ रुम, एक्स—रे, अल्ट्रासाउण्ड, शल्यक्रिया कक्ष, ओपीडी, सिटी स्क्यान, एमआरआईलगातका सुविधा रहनेछन् । यस्तै, दोस्रो तलामा वेटिङ/लवी, ओपीडी, स्पाम्पल कलेक्सन रुम, कमन वास रुम, स्टोर र फार्मेसी, तेस्रो तलामा कार्डियो क्लिनिक, डेन्टल क्लिनिक, ओपीडी, अर्थो क्लिनिक एण्ड फिजियोथेरापी, चौथो तलामा पिआईसीयु, एनआईसीयु, गाइने, एलडिआर र वेटिङ रुम रहनेछ ।

हस्पिटलको नयाँ बन्ने भवनको पाँचौ तलामा डायलाइसिस, केमो र जनरल वार्ड, छैटौ तलामा जनरल वार्ड, सातौं तलामा पोष्ट अपरेटि बेड, आईसीयु, सीसीयु, आइसोलेसन बेड, मेजर ओटी, माइनर ओटी, इक्वीपमेन्ट स्टोर, प्रि अपरेटिभ रुम, आठौं तलामा डिलक्स क्याबिन, सिंगल बेड क्याबिन र डबल बेड क्याबिन रहनेछ । यसैगरी, नवौं तलामा पनि डिलक्स क्याबिन, सिंगल बेड क्याबिन र डबल बेड क्याबिन हुनेछ भने १० औं तलामा प्रशासन, लेखा, आईटी र अन्य आवश्यक संरचना रहनेछन् ।

३६५ दिन आकस्मिक सेवा र ३०० दिन बहिरंग सेवा हस्पिटलले प्रदान गर्नेछ । हस्पिटलले जनरल सेवाअन्तर्गत जनरल मेडिसिन, जनरल सर्जरी, स्त्री तथा प्रसूति रोग, बाल रोग, हाडजोर्नी, छाला रोग, नाक, कान, घाँटी रोग, आँखा रोग, दन्त रोग र फिजियोथेरापी सेवा प्रदान गर्नेछन् । विशिष्टीकृत सेवाअन्तर्गत युरोलोजी, स्पाइन सर्जरी, अर्थोप्लाष्टी, स्पोर्टस मेडिसिन एण्ड अर्थोस्कोपिक सर्जरी, नेफ्रोलोजी, कार्डियोलोजी, पल्मोनोलोजी, ग्यास्ट्रो सर्जरी, न्यूरोलोजी, प्लाष्टिक सर्जरी, ¥युम्याटोलोजी, हेमाटोलोजी र साइक्रयाटिक सेवा प्रदान गर्ने प्रतिवेदनमा छ । यस्तै, सिटी स्क्यानदेखि हेली रेक्स्युसम्मका सुविधा पनि हस्पिटलले प्रदान गर्नेछ ।

हस्पिटलको नयाँ भवनको शिलान्यास गरिदैं

मुनाल क्लिनिकदेखि विशेषज्ञ हस्पिटलसम्म

नागरिक कम्युनिटी टिचिङ हस्पिटल १८ वर्षअघि मुनाल क्लिनिकका रुपमा सुरु भएको थियो । पछि काठमाडौंको खुसिबुमा बिक्रीमा रहेको ५१ शय्याको अस्पताललाई किनेर गठ्ठाघर क्षेत्रका चिकित्सक र समाजसेवीहरुले नागरिक कम्युनिटी टिचिङ हस्पिटल बनाए । वि.सं. २०६६ सालबाट जसलाई जसलाई ५५ शय्याको नागरिक कम्युनिटी टिचिङ हस्पिटलमा रुपमा सञ्चालनमा ल्याइयो । अध्यक्ष भण्डारीकाअनुसार त्यतिबेला ५ सय १८ जनाले ५ हजारदेखि १ करोड ५० लाख रुपैयाँसम्म लगानी गरेर नागरिक हस्पिटल सुरु गरेका थिए ।

पछि सेवा विस्तारको दबाब रहेको नागरिक व्यवस्थापनले लगानी जुटाउन सकेन । लगानी जुटाउने सिलसिलामा स्थापनादेखि नै नागरिकको व्यवस्थापनसँग निकट रहेका ह्याम्स समूहका अध्यक्ष भण्डारीसहितको समूहले २०८१ भदौंमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल सेयर किनेर भित्रियो ।

ह्याम्स समूह नागरिक कम्युनिटी हस्पिटलमा भित्रिएसँगै सेवा प्रवाह, सेवा विस्तार, भौतिक पूर्वाधार सुधारलगायतका आक्रामक लगानी गरिरहेको छ । ‘हामीले त्यहाँ कन्स्ट्रक्सन, सिटी स्क्यान, चार रोपनी जग्गा थप, लेभल थ्री आईसीयु, युरोलोजी लेजर सेवा, इमर्जेन्सीमा २४ सैं घण्टा एमडिजिपी, कन्सल्ट्यान्ट डाक्टरलगायतका काम हामीहरुले गरेका छौं,’ उनले भने, ‘हालसम्म अस्पतालमा झण्डै ८५—८६ करोड रुपैयाँ लगानी भइसकेको छ ।’

अस्पतालको एचए, नर्सिङलगायतका कार्यक्रम चलाइरहेको नागरिक कलेज अफ हेल्थ साइन्सेज नामक पारामेडिक्स कलेज पनि सञ्चालनमा छ ।


यी पनि पढ्नुहोस्

४३ प्रतिशत शेयर किनेर नागरिक कम्युनिटी टिचिङ हस्पिटलमा भित्रियो ह्याम्स अस्पताल समूह

५० करोड लगानी थपेर ह्याम्स अस्पताललाई २०० शय्यामा स्तरोन्नती गरिदैं


क्याटेगोरी : विशेष रिपोर्ट
ट्याग : #आरएस भण्डारी, #नागरिक कम्युनिटी टिचिङ हस्पिटल लिमिटेड, #ह्याम्स हस्पिटल


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ