२०८३ भदौ १३, शनिबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यप्राकृतिक विपद्को समयमा सम्भावित सरुवा रोगहरूको जोखिम तथा तिनीहरुको प्रयोगशाला निदान

प्राकृतिक विपद्को समयमा सम्भावित सरुवा रोगहरूको जोखिम तथा तिनीहरुको प्रयोगशाला निदान


जब प्रकृतिले आफ्नो लय गुमाउँछ, तब मानव सभ्यता अकस्मात स्तब्ध बन्न पुग्छ । भूकम्पको कम्पन, बाढीको विनाशकारी भेल वा पहिरोको भीषण रूपले भौतिक संरचना मात्र भत्काउँदैनन्, यसले जनस्वास्थ्यको जग समेत हल्लाइदिन्छ ।

विपद्को समयमा खानेपानीको स्रोत दूषित हुने, सरसफाइको स्तर खस्कने र मानिसहरू विस्थापित भई भीडभाडयुक्त शिविरमा बस्नुपर्ने हुन्छ । यस्तो प्रतिकूल वातावरण सूक्ष्म जीवाणुहरू (ब्याक्टेरिया, भाइरस, परजीवी)का लागि सुवर्ण अवसर बनिदिन्छ ।  संकटको यो घडीमा कुन रोगले कुन कुनाबाट महामारीको रूप लिँदैछ भनी ठम्याउनु र त्यसको प्रतिकार गर्नु जनस्वास्थ्यको सबैभन्दा ठूलो चुनौती हो ।

यस्तो परिवेशमा हैजा, डेंगु, टाइफाइडजस्ता सरुवा रोगहरूले महामारीको रूप लिन सक्छन् । प्राकृतिक विपद्को समयमा र त्यसको तुरुन्त पश्चात् हुनसक्ने सम्भावित महामारीलाई समयमै रोक्न, सही औषधि उपचार सुरु गर्न र जनस्वास्थ्य रणनीति बनाउन चिकित्सीय तथा जनस्वास्थ्य प्रयोगशाला (Laboratory) को भूमिका अति महत्वपूर्ण हुन्छ । बाढी र पहिरोका बेला देखिन सक्ने सम्भावित प्रमुख महामारीजन्य रोगहरुका कारण, लक्षण तथा प्रयोगशाला निदानका उपायहरु यसप्रकार छन् :

१. पानीजन्य रोगहरू

विपद्का बेला ढल र खानेपानीको स्रोत मिसिँदा पानीजन्य रोगहरू तीव्र रूपमा फैलन्छन्:

 हैजा (Cholera):

 कारण: भिब्रियो कोलेरी (Vibrio cholerae) ब्याक्टेरिया ।
 लक्षण: तीव्र पखाला (चामलको माडजस्तो), बान्ता र शरीरमा पानीको कमी (निर्जलीकरण) ।
 प्रयोगशाला निदान: दिसाको नमूना संकलन गरी कल्चर (Stool Culture) वा र्यापिड डाइग्नोस्टिक टेस्ट (RDT) गरिन्छ ।

 टाइफाइड (Typhoid Fever):

• कारण: सालमोनेला टाइफी (Salmonella typhi/paratyphi) ब्याक्टेरिया ।
• लक्षण: लामो समयसम्म ज्वरो आउने, टाउको दुख्ने, पेट दुख्ने ।
• प्रयोगशाला निदान:
विडाल टेस्ट (Widal Test), ब्लड कल्चर (Blood Culture) र एन्टीजेन परीक्षण ।

 हेपाटाइटिस ‘ए’ र ‘ई’ (Hepatitis A & E):

• कारण: दूषित पानी र खानाबाट सर्ने भाइरस ।
• लक्षण: मिर्गौला वा कलेजोमा असर, पिसाब पहेंलो हुने, आँखाहरू पहेँलो हुनु (जन्डिस), वाकवाकी लाग्ने।
• प्रयोगशाला निदान: रगतको माध्यमबाट लिभर फङ्सन टेस्ट (LFT) र विशेष एन्टिबडी परीक्षण (IgM anti-HAV र IgM anti-HEV)।

 आउँ र झाडापखाला (Dysentery & Diarrhea):

सिजेला, इ-कोलाई र जियर्डिया जस्ता जीवाणुहरूले सानो र ठूलो आन्द्रामा क्षतविक्षत पारी दिसामा रगत र सिंगानजस्तो पदार्थ बग्ने समस्या निम्त्याउँछन् ।प्रयोगशाला निदानका लागि दिसाको जाच (Stool R/E) गर्नुपर्ने हुन्छ ।

२. लामखुट्टे र अन्य कीराबाट सर्ने भेक्टरजन्य रोगहरू

पानी जम्ने ठाउँ र खुला आकाशमुनि बस्नु पर्दा लामखुट्टेको प्रकोप बढेर विभिन्न रोगहरू लाग्न सक्छन् ।

 डेंगु (Dengue):

• कारण: एडिस लामखुट्टेको टोकाइबाट सर्ने भाइरस।
• लक्षण: उच्च ज्वरो, टाउको र आँखा दुख्ने, शरीरमा राता दागहरू।
• प्रयोगशाला निदान: एनएसवान एन्टीजेन (NS1 Antigen) र आइजीजी/आइजीएम (IgG/IgM) एन्टिबडी परीक्षण, साथै सीबीसी (CBC) मा प्लेटलेटको कमी हेर्ने।

 लेप्टोस्पाइरोसिस (Leptospirosis):

• कारण: संक्रमित जनावरको पिसाब मिसिएको हिलो वा पानीमा काम गर्दा छालाको घाउमार्फत सर्ने ब्याक्टेरिया ।
• लक्षण: मांसपेशी दुख्ने, ज्वरो आउने, आँखा रातो हुने ।
• प्रयोगशाला निदान: माइक्रोस्कोपिक एग्लुटिनेसन टेस्ट (MAT) र एलिजा (ELISA) परीक्षण ।

 मलेरिया (Malaria):

एनोफिलिस लामखुट्टेको माध्यमबाट सर्ने प्लाज्मोडियम परजीवीले रगतका राता रक्तकोषहरू नष्ट गरी काम्ने ज्वरो ल्याउँछ । प्रयोगशालामा रक्त परिक्षण बाट यो रोग पत्ता लाग्छ ।

 स्क्रब टाइफस (Scrub Typhus):

झाडी र ओसिलो ठाउँमा पाइने सानो किर्ना (Chigger Mite) को टोकाइबाट सर्ने यो रोगले फोक्सो र मस्तिष्कमा समेत असर पुर्याउँछ। प्रयोगशालामा रक्त परिक्षण बाट यो रोग पत्ता लाग्छ ।

३. सास र सम्पर्कबाट सर्ने सरुवा रोगहरू

 श्वासप्रश्वासका संक्रमणहरू (URTI/LRTI):

इन्फ्लुएन्जा, कोभिड-१९ र एडेनोभाइरस जस्ता भाइरसहरू खोक्दा वा हाच्छिउँ गर्दा हावाको माध्यमबाट तीव्र गतिमा फैलन्छन् । प्रयोगशालामा नेजोफरिन्जियल स्वाब (Nasopharyngeal Swab)वा थ्रोअट स्वाब (Throat Swab) को नमुना लिएर आरटी–पीसीआर परीक्षण (RT-PCR Test) वा एन्टिजेन द्रुत परीक्षण (Antigen Rapid Diagnostic Test)को माध्यमबाट यिनीहरुको निदान गरिन्छ ।

 दादुरा (Measles):

• भीडभाडयुक्त शिविरमा बालबालिकाहरूमा छिटो सर्ने भाइरसजन्य रोग हो ।
• निदान: रगतमा आइजीएम एन्टिबडी (IgM Antibody) र थ्रोट स्वाब (Throat Swab) बाट पीसीआर (PCR) परीक्षण ।

 धनुषटंकार (Tetanus):

• भग्नावशेषमा काम गर्दा फलाम वा काँटीले काट्दा ब्याक्टेरिया शरीरमा प्रवेश गर्छ ।
• निदान: यो मुख्यतया क्लिनिकल लक्षणहरूको आधारमा पहिचान गरिन्छ । बिरामीको लक्षणहरू जस्तै मांसपेशी कडा हुनु, मुख खोल्न गाह्रो हुनु (Trismus) र शरीरको कमजोरी वा आकस्मिक ऐंठनका आधारमा डाक्टरले रोग पहिचान गर्छन् ।

 छालाको संक्रमण र लुतो (Scabies):

पानीको अभावमा व्यक्तिगत सरसफाइ हुन नपाउँदा लुतो र विभिन्न ब्याक्टेरियल छालाका रोगहरूले शिविरलाई आक्रान्त पार्छन् । लुतो (Scabies) को प्रयोगशाला निदानका लागि छालाको नमुना संकलन गरेर सूक्ष्मदर्शक यन्त्र (माइक्रोस्कोप) बाट जाँच गरिन्छ ।

प्रयोगशाला निदानमा आउने चुनौतीहरू

• बिजुली र उपकरणको अभाव।
• नमुना (Sample) सुरक्षित रूपमा समयमै प्रयोगशालासम्म पुर्याउन गाह्रो हुनु।
• आवश्यक अभिकर्मक (Reagents) र दक्ष जनशक्ति नपुग हुनु ।

प्राकृतिक विपद् आफैंमा एउटा गम्भीर भौतिक क्षति हो तर त्यसको आडमा निम्तिन सक्ने महामारी मानवीय सभ्यता र जनस्वास्थ्यमाथिकै अझ भयानक प्रहार हो । विपद्को समयमा सलबलाउने रोगकारक सूक्ष्मजीवहरू अदृश्य र मौन हुन्छन् ।  तिनलाई समयमै पहिचान गर्ने, तिनीहरूको संवेदनशीलता बुझ्ने र महामारीलाई परास्त गर्ने अचूक अस्त्र भनेकै प्रयोगशाला निदान हो ।

त्यसैले, प्राकृतिक विपद्को पूर्वतयारी योजना बुन्दा नै सरुवा रोगहरूको तत्काल पहिचानका लागि मोबाइल ल्याब, सुरक्षित निदान किट र दक्ष जनशक्तिलाई तयारी अवस्थामा राख्नु अति आवश्यक देखिन्छ । समयमै रोगको सही निदान भएमा मात्र महामारीलाई नियन्त्रणमा राख्न सहज हुन्छ । अन्ततः चिकित्साकर्मी,प्रयोगशालाकर्मी , जनस्वास्थ्यविद्, इन्जिनियर , नीति निर्माताहरू र नागरिक समाजको एकीकृत तथा समन्वयात्मक एवं सामुहिक प्रयासबाट मात्र हामी विपदले निम्त्याउन सक्ने सम्भावित माहामारीजन्य रोगहरुलाई समयमा नै नियन्त्रण गर्न सक्छौं ।

(ओझा प्रदेश जनस्वास्थ्य प्रयोगशाला, सुदूरपश्चिम प्रदेशमा ल्याब टेक्निसियन निरीक्षक पदमा कार्यरत छन्।)


क्याटेगोरी : जनस्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ