मुटु रोग भन्नासाथ जन्मजात तथा जन्मपछि लाग्ने रोगहरूलाई बुझिन्छ । नेपालमा जन्मजात मुटु रोगका बिरामीको संख्या बढ्दो क्रममा छ भने जन्मपछि देखिने मुटु रोगमध्ये उच्च रक्तचाप र मुटुको धमनी सम्बन्धी रोग पनि तीव्र रूपमा बढिरहेका छन् ।
विश्वको तथ्यांकअनुसार प्रत्येक तीन जनामध्ये एक जनामा उच्च रक्तचापको समस्या देखिन्छ । नेपालका सहरी क्षेत्रमा यसको प्रकोप झन् तीव्र छ । उच्च रक्तचापसँगै मुटुको धमनीमा हुने अवरोध (कोरोनरी आर्टरी डिजिज) पनि बढिरहेको छ, जसका कारण हृदयघातका घटना बढ्दै गएका छन् । विशेषगरी कम उमेरमै हुने हृदयघात ग्रामीण क्षेत्रको तुलनामा सहरी क्षेत्रमा धेरै देखिन थालेको छ ।
मुटुको अर्को प्रमुख समस्या भनेको मुटुको भल्ब सम्बन्धी रोग हो । यसलाई बाथ मुटु रोग पनि भनिन्छ । विद्यालय जाने उमेरका बालबालिकामा घाँटीको संक्रमण समयमै उपचार नगर्दा पछि गएर मुटुको भल्बमा समस्या देखिन सक्छ । समयमै पहिचान र औषधि उपचार भएमा रोकथाम गर्न सकिने यो रोग ढिलो निदान हुँदा भल्ब नै फेर्नुपर्ने अवस्था आउन सक्छ ।
युवा उमेरमै मुटु रोग बढ्नुका मुख्य कारण अस्वस्थकर खानपान, अव्यवस्थित जीवनशैली र मानसिक तनाव हुन् । पहिले विशेष अवसरमा मात्र मासु खाने चलन थियो भने अहिले दैनिक रूपमा मासु सेवन गर्ने प्रवृत्ति बढेको छ । सहरी क्षेत्रमा मद्यपान र धूम्रपानको प्रयोग पनि उल्लेखनीय रूपमा बढेको छ ।
आधुनिक जीवनशैलीमा मानिस पैसा कमाउने दौडमा व्यस्त छ । नियमित व्यायाम गर्ने, आराम गर्ने र पैदल हिँड्ने बानी घट्दै गएको छ । यसले मुटुको धमनी सम्बन्धी रोग बढाउन ठूलो भूमिका खेलेको छ । त्यसैगरी, ट्रान्स फ्याटयुक्त तथा धेरै तेलमा तारेका परिकारको अत्यधिक सेवनले पनि मुटुको स्वास्थ्यमा प्रतिकूल असर पारिरहेको छ । धूम्रपान र ट्रान्स फ्याटको संयुक्त प्रभावका कारण सानै उमेरमा हृदयघात हुने जोखिम उल्लेखनीय रूपमा बढेको छ ।
पहिले धुम्रपानले मुख्यतः क्यान्सर गराउँछ भन्ने धारणा थियो । तर, धूम्रपान मुटु रोग र हृदयघातको पनि प्रमुख जोखिम कारक हो । धूम्रपानका कारण मुटुको धमनीमा कोलेस्ट्रोल जमेर अवरोध सिर्जना हुन्छ, जसले हृदयघात निम्त्याउन सक्छ ।
नेपालमा धेरै मानिसले समयमै स्वास्थ्य परीक्षण नगर्ने भएकाले रोग ढिलो पहिचान हुने समस्या छ । २५ वर्ष उमेरपछि प्रत्येक व्यक्तिले वर्षमा कम्तीमा एकपटक मुटु सम्बन्धी स्वास्थ्य परीक्षण गराउनु आवश्यक छ । साथै मधुमेह, उच्च रक्तचाप, कोलेस्ट्रोलको नियमित परीक्षण गर्नुपर्छ ।
मानसिक तनाव नियन्त्रण, नियमित ध्यान, दैनिक कम्तीमा ३० मिनेट शारीरिक व्यायाम तथा स्वस्थ जीवनशैली अपनाउन सके हृदयघातको जोखिम उल्लेखनीय रूपमा घटाउन सकिन्छ । नियमित हिँड्ने बानी बसाल्नुपर्छ । समथर सडकमा मात्र होइन, वर्षमा केही पटक उकालो हिँड्ने अभ्यास पनि लाभदायक हुन्छ । रातो मासुको सेवन कम गर्ने, धूम्रपान र मद्यपान त्याग्ने तथा समयमै स्वास्थ्य परीक्षण गराउने बानीले मुटु रोगबाट जोगिन महत्वपूर्ण योगदान पुर्याउँछ ।
(डा. वैद्य किष्ट अस्पतालमा कार्यरत छन् ।)