मेरुदण्ड ३३ वटा अलग–अलग हड्डीहरुको दण्डाकार संरचना हो । यी हड्डीहरुलाई आपसमा इन्टर–भट्टेब्रल डिक्स नामक लचकदार संरचनाले छुट्याएको हुन्छ भने लिगामेन्टले अलग अलग हड्डी तथा डिक्सहरूलाई बाधेर एउटै लम्वबद्ध दण्ड वनाएर राख्दछ ।
मेरुदण्डमा टाँसिएका मांशपेशीहरुले ढाडलाई मोड्न तथा चलाउनलाई सहयोग गर्दछ । यी ढाडका हड्डीहरुमा स्पाइनल क्यानल नामक लम्वबद्ध प्वाँल हुन्छ जसबाट स्पाइनल–कर्ड नामक मुख्य स्नायू नसा गुज्रिएको हुन्छ र हरेक हड्डीको दायाँ–बायाँ स्पाइनल फोरामिन नामक प्वाँल हुँदैं स्पाइनल–कर्डबाट स्पाइनल नर्भहरू (साना स्नायू नसा) निस्किएका हुन्छन् । यी नसाहरु ढाडको स्पाइनल–कर्डबाट सुरु भएर शरीरका विभिन्न भागसम्म पुग्छन् ।
यिनै नसाहरु च्यापिएमा अनेक समस्या उत्पन्न हुन्छ । नसा च्यापिने समस्या छुट्टै रोग नभई हाड–जोर्नीका कारण उत्पन्न लक्षण मात्र हो । तर, नसामा आइपर्ने समस्यामध्ये कम्मरको नसा थिचिने रोग सामान्यदेखि अति नै पीडादायक हुन्छ ।
ढाड कम्मर दुख्ने कारण
१. गलत तरिकाले चिजबिजहरु उचाल्नु
२. एक्कासी गरिने कडा व्यायाम
३. अप्ठ्यारो सिरानी र सुत्दाको पोजिसन
४. आकस्मिक दुर्घटनाहरु जस्तैः उचाइबाट खस्नु, खेलकुदमा हुने दुर्घटना, सवारी दुर्घटना आदि
५. उभिँदा वा बस्दाको अप्ठ्यारो पोजिसन
६. कडा सोल भएको र अग्लो हिल भएको जुत्ता लगाएर लामो समयसम्म उभिँदा
७. लामो समयसम्म कुप्री परिरहनु
८. धेरै गह्रौं वस्तुहरु उचाल्नु
९. गर्भवती अवस्था
१०. विभिन्न रोगव्याधि र उमेरले ल्याउने शारीरिक परिवर्तन आदि ।
रोकथामका उपायहरू
१. सामान्य व्यायाम–शरीर तन्काउने, हिँड्ने आदि
२. क्याल्सियम र भिटामिन ‘डी’ युक्त पोषण
३. पानीको प्रशस्त सेवन किनकी मेरुदण्डको हाडको बिचमा हुने ‘डिस्क’मा ७० प्रतिशत पानी हुन्छ
४. धेरै कमलो बिछ्यौनामा नसुत्ने
५. ढाडलाई सधैँ सिधा राख्ने प्रयास गर्ने
६. उकाली—ओराली गर्दा, सिढी चढदा सावधानीपूर्वक विस्तारै हिड्ने
७. ड्राइभिङ सिटमा अथवा कुर्सीमा बस्दा ‘ब्याक रेष्ट’को प्रयोग गर्ने
८. खोक्दा वा हाँच्छ्यिु गर्दा भित्ता वा टेबुलको सहायता लिने
९. शरीरको तौललाई आफ्नो उचाइअनुसार नियन्त्रणमा राख्ने । विशेषतः पेटलाई बढ्न नदिऔं यसले ढाडमा अतिरिक्त दबाब दिन्छ
१०. कम्मर वा गर्दन दुख्ने समस्य भएकाहरुले मोटरसाइकल नचलाउने । हिड्दा ढाँडको वेल्ट वा घाँटीको कलर लगाउने
ध्यान दिनुपर्ने कुरा
कतिपय नसा च्यापिने समस्यामा शल्यक्रिया आवश्यक पर्छ भनिएको हुन्छ, जुन जोखिमपूर्ण नै रहेको हुन्छ । तर, सरल विधिहरु जस्तैः योग तथा प्राकृतिक चिकित्साको वैकल्पिक उपचार प्रयोग गरी अप्रेसनबिना नसा च्यापिएको निको गर्न सकिन्छ ।
चिकित्सकलाई देखाउने र आफ्नो रोगको निदान गराई सतर्क हुनुहोस् । दुखाइ र नसामा सुन्निएको वा चोट लागेको कम गर्न चिकित्सकको निर्देशनमा प्राकृतिक चिकित्सा विधिहरुको प्रयोग गर्नुस् ।