काठमाडौं—चिकित्सकहरूको आन्दोलनका कारण काठमाडौंका वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, निजामती कर्मचारी अस्पताल, विराटनगरस्थित कोशी, वीरगन्जस्थित नारायणी अस्पतालसहित देशभरका अस्पतालहरूको ओपीडी सेवा ठप्प भएको छ । मंगलबार नेपाल चिकित्सक संघको आह्वानमा सेवा बन्द गरिएपछि उपचारका लागि आएका सर्वसाधारण बिरामीहरू उपचारबाट वञ्चित भई अलपत्र परेका छन् ।
वीरगञ्जस्थित नारायणी अस्पतालका चिकित्सक डा. प्रमोद राममाथि भएको कुटपिटको विरोधमा चिकित्सक तथा स्वास्थ्यकर्मीहरू मंगलबार देशभर आन्दोलित भएका हुन् । उनीहरूले देशभरका स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सबै सेवा बन्द गर्ने घोषणा गरेसँगै बिहानैदेखि स्वास्थ्य जाँचका लागि अस्पताल पुगेका बिरामी र तिनका आफन्तहरू ओपीडी टिकट नपाएर सास्ती खेप्न बाध्य भएका छन् ।
काठमाडौंका ठूला सरकारी अस्पताल वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, निजामती कर्मचारी अस्पताल, विराटनगरको कोशी अस्पताल, नारायणी अस्पताल, लुम्बिनी अस्पताल, भेरी अस्पतालजस्ता ठूला सरकारी अस्पतालहरूमा ओपीडी सेवा पूर्ण रूपमा बन्द रहँदा बिरामीको बिचल्ली भएको छ । कतिपय अस्पतालको ओपीडी टिकट काउन्टरमा ‘सेवा बन्द’ को सूचना टाँसिएको छ । स्वास्थ्यजस्तो अत्यावश्यक क्षेत्रमा सेवा अवरुद्ध हुँदा टाढा–टाढाबाट आएका बिरामीहरू सबैभन्दा बढी मर्कामा परेका छन् ।
यसअघि स्वास्थ्य मन्त्रालयले स्वास्थ्य सेवा कुनै पनि अवस्थामा अवरुद्ध हुन नदिन सबै अस्पतालहरूलाई अपिल गरे तापनि अस्पतालहरूमा त्यसको पालना भएको देखिएन् ।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का उपकुलपति डा. विवेक आचार्यले वीर अस्पतालमा विहान ९ बजेसम्म नियमित ओपीडी सेवा बिरामीलाई उपलब्ध गराइएको जानकारी दिए । ‘हामीले विहान ९ बजेसम्म नियमित ओपीडी टिकट काटेर ३५६ जना बिरामीलाई हेर्यौं,’ उनले भने, ‘अहिले आएका बिरामीलाई इमर्जेन्सीमा हेर्ने प्रबन्ध मिलाएका छौं ।’
कोशी अस्पतालमा उत्पन्न समस्या र ओपीडी सेवा बन्दबारे बुझ्न खोज्दा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. चन्द्रभाल झाले कुनै प्रतिक्रिया दिन मानेनन् । सञ्चारकर्मीहरू उनको कार्यकक्षमा पुग्दा यस विषयमा बोल्न अस्वीकार गर्दै उनले सूचना अधिकारीलाई बुझ्नु भन्दै जिम्मेवारीबाट पन्छिएका छन् ।
यता नेपाल चिकित्सक संघका केन्द्रीय उपाध्यक्ष तथा कोशी प्रदेश संयोजक डा. रोशन खड्काले चिकित्सकमाथि हुने निरन्तरका आक्रमणका विरुद्ध आन्दोलनमा उत्रिनु परेको बताए ।
‘चिकित्सकमाथि कुटपिट भएको यतिका दिन भइसक्दा पनि प्रहरी प्रशासनले दोषीलाई अहिलेसम्म पक्राउ गरेको छैन,’ उनले भने, ‘हाम्रो सुरक्षाको ग्यारेन्टी नभएपछि हामी बाध्य भएर आन्दोलनमा उत्रिनु परेको हो ।’