२०८१ साउन ४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठअन्तर्वार्ता / विचारकलेजो प्रत्यारोपणपछिको जीवन

कलेजो प्रत्यारोपणपछिको जीवन

कलेजो प्रत्यारोपणपछि के काम गर्न सकिन्छ ? के खान मिल्छ के मिल्दैन् ?


कलेजो विभिन्न कारणले बिग्रन्छ । जसमध्ये प्रमुख कारण सिरोसीस हो, जुन पछि गएर कलेजो साह्रो भएर बिग्रने अवस्था हो । यसमा कलेजोले गर्ने कामको क्षमता कमजोर हुँदै जाने र त्यसका कारण शरीरमा विभिन्न लक्षणहरु देखिने हुन्छ ।

सिरोसीस विभिन्न कारणले गर्दा हुन्छ, जसको प्रमुख कारण रक्सी सेवन हो । नेपालमा पनि कलेजोको सिरोसीस हुनुकापछि रक्सी सेवन मुख्य कारणका रुपमा रहेको छ । त्यसबाहेक हेपाटाइटिस बी र सी को संक्रमणका कारणले पनि कलेजो बिग्रन्छ ।

मोटोपना, कलेजोमा बोसो जमेका कारण र कलेजोको क्यान्सरका कारण पनि कलेजो बिग्रन्छ । कहिलेकाही जेनेटिक (जन्मिदा वंशाणुगत रुपमै आउने) रोगहरुलगायतका विविध कारणले कलेजो बिग्रेर सिरोसीस हुन्छ ।

कहिलेकाहीँ अत्याधिक मात्रामा औषधि सेवन गर्दा हुने ड्रग्स पोइजनिङ, हेपाटाइटिस ई को कारण पनि एक्युट लिभर फेलियर हुने सम्भावना रहन्छ । एक्कासी धेरै रक्सी सेवन गर्दा वा सिटामोल पोइजनिङजस्ता कारणले पनि कलेजो बिग्रन्छ । बालबालिकाहरुमा जन्मजात रोगहरु, शरीरमा कुनै तत्व कम हुने वा बढी हुने कारणले पनि कलेजो बिग्रन्छ । विविध कारणले कलेजो बिग्रेपछि त्यसलाई प्रत्यारोपण गर्नुपर्छ ।

कसरी कलेजो प्रत्यारोपण गरिन्छ ? एउटा कलेजो प्रत्यारोपणका लागि बिरामीको जीवित नातागोताबाट आधादेखि दुई तिहाइ भागसम्म कलेजो झिकेर लिन्छौं । अर्को, ब्रेन डेथ (मस्तिष्क मृत्यु) भएका व्यक्तिहरुको कलेजो झिकेर प्रत्यारोपण गरिन्छ । नेपालमा हामीले धेरैजसो बिरामीका नातागोताका जीवित स्वस्थ दाताबाट कलेजो लिएर प्रत्यारोपण गर्ने गरेका छौं । नेपालमात्रै नभएर एसियाली देशहरुमा नै धेरैजसो लिभिङ डोनर (जीवित दाता)हरुबाट लिएर कलेजो प्रत्यारोपण गर्ने गरिन्छ । अमेरिका, अष्ट्रेलिया र युरोपियन देशहरुमा भने मस्तिष्क मृत्यु भएका व्यक्तिबाट बढी गरिन्छ ।

कलेजो प्रत्यारोपण गर्न औसतमा १०—१५ घण्टासम्म लाग्छ, यो प्रत्यारोपणका लागि लामो समय होइन् । कहिलेकाही जटिलता आयो भने अलि बढी लाग्न सक्छ । कलेजो प्रत्यारोण गरिसकेपछि हामीले बिरामीलाई आईसीयुमा लग्छौं, आईसीयुमा बिरामीको अवस्था हेरेर ५—७ दिनसम्म राखिन्छ । कतैकतै ३—४ दिनसम्म पनि हुन्छ । तर, हामीले सामान्यतयाः ५—७ दिनसम्म राख्छौं । आईसीयुबाट बिरामीलाई निकाल्ने बेलासम्म हामीले मेसिनबाट निकालिसकेका हुन्छौं । शरीरमा आवश्यक पर्ने रक्तचाप, पिसाब निकाल्न, अक्सिजिनेसनका सबै कुराहरु पुग्ने भइसकेपछि मुखबाट खान अथवा सुईबाट दिन मिल्ने औषधिहरु दिन सकिने भएपछि बिरामीलाई वार्डमा सार्छौ ।

वार्ड सारेपछि अर्को हप्ता १० दिनसम्म वार्डमा बिरामीका टेष्टहरु, विभिन्न जाँचहरु हुन्छन् । बिरामीको लिभरले राम्रो काम गरिरहेको, बिरामी ओभरअल इम्प्रुभ हुँदैं गएको, शरीरका अरु कामहरु राम्रो हुँदै गएको, रगत परीक्षण राम्रो हुँदैं गएको, खाना राम्ररी खाने, दिशा पिसाब राम्ररी हुनेजस्ता कुराहरु यो अवधिमा हेरिन्छ । बिरामीले सबैं औषधि मुखबाट खान सक्ने भयो, इन्फेक्सन छैन, दिशा पिसाब आफै गर्छ, आफ्नो केयर आफै गर्न सक्ने भयो, कलेजोको परीक्षण पनि सबै सामान्य आइसक्यो, औषधि पनि नियमित खाइरहेको छ भने हामीले बिरामीलाई डिस्चार्ज दिन्छौं । सामान्यतयाः कलेजो प्रत्यारोपण गरिएका बिरामी प्रायःजसो दुई हप्तादेखि तीन हप्ताभित्र डिस्चार्ज हुन्छन् । संक्रमण, रक्तस्राव, पुनः शल्यक्रिया गर्नुपर्ने अवस्था वा अन्य कुनै कम्प्लीकेसन भएमा यो अवधि लम्बिन सक्छ । तर, ८०—९० प्रतिशत केसहरुमा यही हुन्छ—५—७ दिन आईसीयुमा, अर्को हप्ता १० दिन वार्ड र त्यसपछि डिस्चार्ज । घर जाने बेलामा बिरामी आफै खान सक्ने, दिशा पिसाब, गर्न सक्ने, सबै केयर गर्न सक्ने हुन्छ ।

डिस्चार्जपछि दिइने औषधि

सबै कलेजो प्रत्यारोपण गरिएका बिरामीलाई इम्युनो सप्रेसन दिइन्छ । यो शरीरको इम्युनिटीलाई कम गर्ने औषधि हो । यसलाई हामीले ‘एन्टी रिजेक्सन’ औषधि पनि भन्छौं । शरीरमा अर्काको कलेजो राखेका हुन्छौं, त्यो कलेजोलाई हाम्रो शरीरको इम्युनिटीले अर्काको भनेर बिगार्नु भएन । नयाँ राखिएको कलेजोलाई शरीरको इम्युनिटीले रिजेक्ट नगरोस् भन्नका लागि इम्युनो सप्रेसन राख्छौं । यसमा तीन वटा फरक औषधिहरु राखिन्छ ।

त्यसबाहेक केही एन्टीबायोटिक (संक्रमण प्रतिरोधात्मक) औषधिहरु राखेका हुन्छौं । ब्याक्टेरिया, फंगल संक्रमणबाट बचाउनका लागि एन्टीबायोटिक्सहरु राखिन्छ । यो सबैलाई राखिने औषधिहरु हुन् । यसबाहेक कसैलाई ग्यास्ट्रिकको औषधि, कसैलाई एक्स्ट्रा पेनकिलर, भिटामिनहरु दिइने गरिन्छ । मुख्यतयाः इम्युनो सप्रेसन र एन्टीबायोटिक्सहरु दिइन्छ ।

कहिलेकाही रगतका नसाहरु ब्लक नहोस् भनेर रगत पातलो बनाउने औषधिहरु पनि राख्ने गरिन्छ । सामान्तयाः एउटा प्रत्यारोपण गरिएको बिरामी घर जाने बेलामा ७—८ वटा औषधिहरु हुन्छन् । त्यसमा एन्टी रिजेक्सन अथवा इम्युनो सप्रेसन अलि महंगो औषधि हो । यसका साइड इफेक्ट पनि हुन्छन्, त्यसबारेमा बिरामीलाई काउन्सिलिङ गरेर पठाएका हुन्छौं ।

घर फर्किने बेला बिरामी दिइने सल्लाह

  • हामीले दिएका औषधिहरु समयमा खाने
  • हामीलाई नसोधेर औषधिहरु बन्द नगर्ने
  • भनिएको समय र परिमाणमा औषधिहरु सेवन गर्ने
  • केही समस्या परेमा डाक्टरसँग सम्पर्क गर्ने

एन्टी रिजेक्सन वा इम्युनो सप्रेसन औषधिले शरीरको इम्युनिटी कम गर्ने भएकाले संक्रमण रिस्क बढी हुन्छ । यो बेला जुनसुकै संक्रमण हुन सक्छ । साधारण संक्रमण पनि एकदमै हानिकारक हुन सक्ने भएकाले संक्रमणबाट बच्नुपर्छ । संक्रमणबाट बच्नका लागि हामीले औषधि नै राखेर पठाएका हुन्छौं । त्यसबाहेक आफूले पनि बच्नका लागि विभिन्न उपायहरु अवलम्बन गर्नुपर्छ ।

  • सकेसम्म भिडभाडमा नजाने
  • संक्रमण भएको वा भाइरल रुघाखोकीहरु लागेको व्यक्तिबाट टाढा रहने
  • संक्रमणबाट बच्न सधैं मास्क लगाएर बस्ने
  • खानाबाट पनि संक्रमण आउन सक्ने भएकाले खाने कुरामा विशेष ख्याल गर्ने
  • पाकेको कुरा खाने, सकेसम्म काँचो खाने कुरा नखाने
  • फलफूल पनि राम्ररी धोएर मात्रै खाने
  • घाममा जाँदा पनि ख्याल गर्ने किनभने औषधिका कारण छाला पोल्न सक्ने हुन सक्छ
  • घाममा जाँदा लुगाले शरीर ढाकेर निस्कने
  • डिस्चार्ज भएको तीन महिनासम्म (साधारण कामहरुबाहेक) आराम गर्ने
  • तीन महिनासम्म गह्रौ र भारी कामहरु नगर्ने

फ्लोअप कसरी गर्ने

कलेजो प्रत्यारोपण गरेका बिरामी साधारणतयाः सुरुका दुई—तीन महिना नै हामीले हरेक हप्ता दश दिनमा फ्लोअप र रगत परीक्षणका लागि बोलाउँछौं । रगत परीक्षणमा इन्फेक्सन छ कि छैन, औषधिको लेभल ठिक मिलेको छ कि छैन, कलेजोले काम गरेको छ कि छैन, किड्नीको फंक्सन राम्रो भएको छ कि छैन, रक्तचाप, डाइबटिजलगायतका सबै कुरा हेर्छौ । सुरुमा प्रत्येक हप्ता दश दिनमा बोलाएपनि विस्तारैं दुई तीन हप्तामा बोलाउँछौं, त्यो अवधिलाई क्रमसः बढाउँदैं जान्छौं । पछि गएर ६ महिनामा एक पटक वा वर्षमा एक पटक बोलाउँदा पुग्छ । यो नियमितलाई भयो । त्यो बीचमा कुनै पनि किसिमका समस्याहरु (जस्तोः ज्वरो, खान मन नलाग्नु, संक्रमण हुनुजस्ता) भएमा तुरुन्त हस्पिटल बोलाउँछौं ।

कलेजोले काम गर्न छाड्यो भने जण्डिस हुन थाल्छ, शरीरमा आलस्य आउन थाल्छ, खान मन नलाग्ने हुन्छ, बिरामी कमजोर हुन थाल्छ, त्यस्तो कुनै पनि समस्या आइहाल्यो भने पनि हामी हस्पिटलमा आइहाल्न भन्छौं । रक्तस्राव भयो, पिसाब राम्रो भएन भनेपनि हामीले बिरामीलाई तुरुन्तै अस्पताल बोलाउँछौं । किनभने, यो कि औषधिको साइडइफेक्ट हुन सक्छ कि औषधी नखाएका कारण हुन सक्छ । तर, यस्ता कुनै पनि समस्या देखिएमा हामीले बिरामीलाई बोलाइहाल्छौं ।

दीर्घकालसम्म लिनुपर्ने औषधि

हामीले डिस्चार्जको बेला दिएका धेरैजसो औषधिहरुमध्ये मुख्य औषधिहरु एन्टी रिजेक्सन औषधिहरु हुन् । यी मुख्यतयाः तीन वटा हुन्छन्, जसमध्ये एउटा इस्टोरोयड कसैले रोगको प्रकृति हेरेर जीवनभर पनि खानुपर्ने हुन सक्छ । धेरैमा दुईदेखि तीन महिनामा त्यसलाई बन्द गर्छौ ।

त्यसबाहेक थप दुई वटा एन्टी रिजेक्सन औषधिहरु बाँकी रहन्छ । अर्को एउटा औषधि कसैलाई दुईदेखि तीन महिनासम्ममा हेरेर बन्द गर्न सक्छौंं । एउटा औषधि साधारणतयाः प्रत्यारोपण गरिएका बिरामीले जिन्दगीभर खानुपर्छ । विदेशतिर कसै—कसैलाई ५, १०, १५ वर्षपछि त्यो औषधि पनि बन्द गरेको पाइन्छ । एउटा एन्टी रिजेक्सन औषधि साधारणतयाः जिन्दगीभरी खानुपर्ने हुन सक्छ ।

एन्टीबायोटिक्सहरु, रगत पातलो बनाउने औषधिहरु दुई तीन महिनासम्मका लागि दिइएको हुन्छ । धेरैजसो औषधिहरु तीन महिनादेखि छ महिनाको बीचमा बन्द हुन्छन् । ६ महिनापछि बिरामीहरु साधारण औषधिहरुबाहेक एउटा अथवा दुई वटा मात्रै औषधि खाएर बसेका हुन्छन् ।

प्रत्यारोपणपछि घाउ हुन्छ, जुन दुई तीन हप्तासम्म दुखाइ हुने भएकाले त्यसलाई पेनकिलरले नियन्त्रण गरिन्छ । त्यो हामीले दुई तीन हप्ता दिएर बन्द गर्छौ । तीन चार महिनासम्म हल्का पीडा हुन सक्छ तर पेनकिलर औषधिहरु लिनुपर्दैन् । एन्टी रिजेक्सन औषधिले डाइबटिज र रक्तचाप गराउन सक्ने भएकाले कुनै—कुनै बिरामीलाई रक्तचाप वा डाइबटिजका औषधिहरु दिनुपर्ने हुन सक्छ ।

प्रत्यारोपणपछि देखिन सक्ने समस्या

प्रत्यारोपणपछि सबैभन्दा बढी डर हुने भाइरल, ब्याक्टेरियल वा चोटपटकलगायतका कारणले हुने जनुसुकै संक्रमण हो । साधारण मानिसमा संक्रमण हुँदा पूर्णतयाः इम्युनिटी प्रणाली काम गर्छ, जसका कारण त्यो चाँडै ठीक हुन्छ । तर, प्रत्यारोपण गरिएका बिरामीमा एन्टी रिजेक्सन औषधिले इम्युनिटीलाई कम पारिएको हुन्छ, जसका कारण साधारण इन्फेक्सन पनि ठूलो हुन सक्छ । त्यसकारण बेलैमा चिकित्सक कहाँ पुगेर जाँच गरेर उपचार गराइहाल्नुपर्छ ।

अर्को, रिजेक्सन हुन सक्छ । प्रत्यारोपण गरिएको कलेजो शरीरमा काम नगर्ने हुन सक्छ । शरीरले प्रत्यारोपण गरिएको कलेजोलाई हटाउन थाल्यो भने त्यसले शरीरमा असर गर्न थाल्छ । यसो हुँदा जण्डिस हुने, खान मन नलाग्ने, पेटमा पानी भरिने, इन्फेक्सन बढ्नेलगायतका समस्या देखिन सक्छन् ।

औषधिहरु लामो समयसम्म खाँदा त्यसका साइड इफेक्टहरु पनि देखिन सक्छन् । रक्तचाप, डाइबटिज, कोलेस्ट्रोल बढाउन सक्छन् । अक्सर लामो समयपछि कलेजोमा क्यान्सर पनि देखिन सक्छ तर यो एकदमैं रियर हुन्छ । यी सबै समस्याहरु नदेखिउन भनेर नै हामीले बिरामीलाई निरन्तर फ्लोअपमा राखिरहन्छौं । कहिलेकाहीँ कोलेस्ट्रोल र रक्तचाप बढ्दा मुटुलाई पनि असर गर्न सक्छ । त्यसकारण लामो समयपछि यस्ता असरहरु देखिन सक्छन् । यी समस्या सबैमा देखिने होइन्, केही—केही प्रत्यारोपण गरेमा मानिसहरुमा देखिन सक्छन् ।

प्रत्यारोपणपछि गर्न सक्ने काम

डिस्चार्ज भएपछि नै बिरामीहरुले घरमा हिड्डुल, तलमाथि गर्ने सामान्य मोबिलिटी गर्न सक्छन् । तर, तीन महिनासम्म पूर्णतयाः घरमा आराम गर्न र अरु क्रियाकलाप नगर्न सुझाव दिन्छौं ।

तीन महिनापछि भने बिरामी आफ्नो नियमित काममा फर्कन सक्छन् । सामान्यतयाः स्कुल, कलेज जाने, अफिस जाने, गाडी चलाउने, मोटरसाइकल हाँक्ने गर्न सक्छन् ।

६ महिनापछि बिरामीले एक्ससाइज गर्ने, दौड्ने, खेलकूदमा भाग लिने पनि गर्न सक्छन् । तर, हामीले सकेसम्म कलेजो प्रत्यारोपण गरेका बिरामीलाई ‘कन्ट्याक्ट (ठोक्किने) स्पोर्टस’मा भाग नलिन सुझाव दिन्छौं । नसक्ने होइन् तर चोटपटक लाग्न सक्ने भएकाले यस्ता खेलहरुमा भाग नलिएको राम्रो हुन्छ । तर, अरु खालको एक्ससाइजहरु दौड्ने, उफ्रने गर्न सकिन्छ । ६ महिनापछि सामान्य मान्छे र कलेजो प्रत्यारोपण गरिएको मान्छेका क्रियाकलाप छुट्टिदैन् ।

के खाने के नखाने

साधारणतयाः कलेजो प्रत्यारोपण गरेपछि सबै कुरा खान मिल्छ । तर, औषधिहरुले कोलेस्ट्रोल, डाइबटिज बढाउने, रक्तचाप बढ्न सक्ने भएकाले खानपानमा विशेष ख्याल गर्नुपर्ने हुन्छ । धेरै चिनी भएका, धेरै नुन भएका, फ्याट धेरै भएका कुरा सबैले कन्ट्रोल गर्नुपर्छ अझ प्रत्यारोपण गरिएका बिरामीले त झन विशेष रुपमा ख्याल गर्नुपर्छ ।

सबैभन्दा महत्वपूर्ण कुरा कलेजो प्रत्यारोपण गरिएका बिरामीले रक्सी खानै हुँदैन् । चाहे कलेजो प्रत्यारोपण गर्नुपर्नाको कारण रक्सी होस् वा नहोस् । तर, प्रत्यारोपण गरिएका बिरामीले रक्सी छुनु पनि हुँदैन् । रक्सी पिउन थाल्यो भने पुनः कलेजो बिग्रन्छ ।

त्यसबाहेक साधारण मानिसले खान मिल्ने सबै खान सकिन्छ । तर, पाकेको खाने कुरा हुनुपर्छ, काँचो हुनु भएन । संक्रमण हुने खालका खानाबाट बच्नुपर्छ । सफा खाने कुराहरु खानुपर्छ । चिकित्सकको सल्लाहबिना अन्य अनावश्यक औषधिहरु सेवन गर्नु हुँदैन् । केही औषधि खानै पर्नेछ भने डाक्टरलाई देखाएर मात्रै खानुपर्छ ।

प्रत्यारोपणपछि कति बाँच्छन् ?

सामान्यतयाः प्रत्यारोपण गरेका बिरामीको नर्मल लाइफ हुन सक्छ । त्यो केमा भर पर्छ ? एउटा त कति वर्षको उमेरमा प्रत्यारोपण गरियो ? जस्तो ६० वर्षको उमेरमा कलेजो प्रत्यारोपण गरियो भने कति बाँच्छ त ? १० वर्ष वा त्यो भन्दा बढी । यो उमेरमा रक्तचाप, मधुमेह, क्यान्सरलगायतका अन्य स्वास्थ्य समस्याहरु पनि आउन सक्छन् ।

युवावस्थामै प्रत्यारोपण गरिएको छ भने लामो समय बाँच्न सक्छन् । प्रत्यारोपणपछि पनि सामान्य लाइफ हुन सक्छ । कहिले प्रत्यारोपण गरिएको हो ? कुन अवस्थामा गरिएको हो ? अरु रोगहरु के—के छन् ? भन्ने कुराले पनि आयु निर्धारण हुन सक्छ ।

त्यसका अलावा आफ्नो केयर राम्रोसँग गरेको छ कि छैन ? चिकित्सकले भनेअनुसार फ्लोअपमा बसेको छ छि छैन ? औषधिहरु समयमा खाएको छ कि छैन ? अन्य रोगहरु प्रेसर, डाइबटिज, कोलेस्ट्रोल नियन्त्रण राखेको छ कि छैन ? हेल्दी लाइफस्टाइल र एक्टीभिटिज छ कि छैन ? ध्रुमपान र रक्सी सेवनबाट टाढा बसेको छ कि छैन ? जस्ता धेरै कुरा असर गर्छ । यी सबै कुराको मिक्सअप गरेको छ भने फेरि बिग्रन्छ । तर, यी सबै कुराहरु मेन्टेन गरेको छ भने नर्मल लाइफ बिताउन सक्छन् ।

कलेजो प्रत्यारोपण गरिएको बिरामीको ज्यान के कारणले जान्छ ? अन्य विभिन्न समस्याहरु आउन सक्छन् । औषधिका कारण समस्याहरु आउन सक्छन् वा पहिले जे कारणले कलेजो फेल भएको हो त्यही कारण कलेजो फेरि फेल हुन सक्छ । थोरै प्रतिशतमा त्यो समस्या हुन सक्छ । तर, सामान्यतयाः डाक्टरको सरसल्लाह मानेमा अन्य सामान्य मानिसजस्तै कलेजो प्रत्यारोपण गरेका व्यक्ति पनि सामान्य जीवन बाँच्न सक्छन् । के भुल्नु हुँदैंन भने कलेजो प्रत्यारोपण गरिएको बिरामी विभिन्न कारणले गर्दा शतप्रतिशत स्वस्थ व्यक्तिजस्तो भने होइन् । किनभने, औषधि खाएको हुन्छ, शरीरमा शल्यक्रिया गरिएको हुन्छ । जसका कारण थोरै फरक हुन्छ तर धेरैजसो सामान्य लाइफ जिउन सकिन्छ ।

अर्को महत्वपूर्ण कुरा कलेजो प्रत्यारोपण गरिएका बिरामीले आफूलाई खुसी बनाएर राख्न सक्नुपर्छ । प्रत्यारोपण गरेका मानिसहरुले समाजका अन्य व्यक्तिहरुलाई प्रेरित गर्न सक्छन् । आफ्नो कथा सुनाएर प्रेरणा दिन सक्छन् । अरुलाई कलेजो बिग्रने कारणहरुबारे सचेत गराउन सक्छन् । कलेजो बिग्रेपछि पनि यस्तो उपचार पद्धति छ, जीवनयापन सामान्य रुपमा गर्न सकिन्छ, उपचार गराउनुहोस् भनेर पनि भन्न सक्छन् । बिरामीहरुले पनि आफ्नो तरिकाले समाजलाई योगदान गर्न सक्छन् ।


क्याटेगोरी : अन्तर्वार्ता / विचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ