कोभिड–१९ पछि बालबालिकाको जीवनशैली र सिकाइ प्रक्रियामा आमूल परिवर्तन आएको छ । अनलाइन कक्षा र डिजिटल मनोरञ्जनका कारण उनीहरूको अधिकांश समय मोबाइल, ट्याब्लेट र ल्यापटपको ‘स्क्रिन’मा बित्ने गरेको छ । जसका कारण पछिल्लो समय बालबालिकामा टाढाको वस्तु धमिलो देखिने ‘मायोपिया’ (टाढाको दृष्टिदोष)को समस्या फैलिन थालेको छ । यसै सन्दर्भमा केन्द्रित रहेर हेल्थआवाजका लागि अनिल श्रेष्ठले विराटनगर आँखा अस्पतालका वरिष्ठ दृष्टि विशेषज्ञ पंकज राय अधिकारीसँग गरेको कुराकानीः
पछिल्लो समय बालबालिकामा दृष्टिदोष विशेषगरी ‘मायोपिया’को समस्या किन तीव्र रूपमा बढिरहेको छ ?
यसका दुई वटा मुख्य कारण छन् । पहिलो भनेको इलेक्ट्रोनिक ग्याजेटहरूको बढ्दो प्रयोग हो । कोभिड–१९ पछि बालबालिकाहरू मोबाइल र ट्याब्लेटमा धेरै आश्रित भए । दोस्रो, कारण तीव्र सहरीकरण हो । सहरमा बालबालिकाका लागि बाहिर खुला ठाउँमा खेल्ने वातावरण कम छ । जब बालबालिका खुला ठाउँमा जाँदैनन् र लामो समयसम्म नजिकैको स्क्रिनमा मात्र आँखा केन्द्रित गर्छन्, तब उनीहरूमा मायोपियाको जोखिम बढ्छ ।
कोशी प्रदेशको अवस्थालाई हेर्दा यो समस्या कत्तिको गम्भीर देखिन्छ ?
हामीले विराटनगर, धरान र इटहरीजस्ता सहरी क्षेत्रका विद्यालयहरूमा आँखा जाँच गर्दा डरलाग्दो तथ्यांक पाएका छौं । ती विद्यालयका करिब ६ प्रतिशत बालबालिकामा दृष्टिदोष पाइयो, जसमध्ये ५० प्रतिशतमा त मायोपिया मात्रै देखियो । गाउँको तुलनामा सहरका निजी विद्यालयमा पढ्ने बालबालिकामा यो समस्या अझ बढी छ, किनकि त्यहाँ डिजिटल मिडियाको प्रयोग धेरै हुन्छ ।
यो समस्या कुन उमेर समूहका बालबालिकामा बढी छ ?
बालबालिका जन्मिएदेखि नै आँखाको विकास सुरु हुन्छ तर ६ वर्षदेखि १८–२१ वर्षको उमेर निकै संवेदनशील हुन्छ । यो उमेरमा आँखाको गेडीको आकार बढ्ने क्रम जारी रहन्छ । यदि यो उमेरमा ग्याजेटको प्रयोग बढी भयो र बाह्य वातावरणमा घुलमिल कम भयो भने मायोपिया तीव्र गतिमा बढ्छ । कलेज पढ्ने उमेरसम्म यसले स्थायी रूप लिन सक्छ ।
विश्व स्वास्थ्य संगठनले यसबारे केही प्रक्षेपण गरेको छ ?
हो, विश्व स्वास्थ्य संगठन र आईएपीबीजस्ता अन्तर्राष्ट्रिय संस्थाहरूले अहिलेको जीवनशैली र ग्याजेटको प्रयोगलाई आधार मानेर एउटा चेतावनी दिएका छन् । यदि यही अवस्था रहिरह्यो भने सन् २०५० सम्म संसारको कुल जनसंख्याको झन्डै ५० प्रतिशत मानिसमा मायोपियाको समस्या हुनेछ । यो भनेको संसारका आधा मानिसले चस्मा वा अन्य दृष्टि उपचार पद्धति अपनाउनुपर्ने अवस्था हो ।
अभिभावकहरूले आफ्ना बालबालिकालाई मायोपियाबाट बचाउन के–के गर्न सक्छन् ?
यसका लागि हामीले लाइफस्टाइल मोडिफिकेसनमा जोड दिनुपर्छ ।
१. दैनिक दुई घण्टा आउटडोर : बालबालिकालाई दिनमा कम्तीमा दुई घण्टा बाहिर खुला ठाउँ वा घाममा खेल्न पठाउनुपर्छ । सुर्यको प्रकाशले आँखाको गेडीलाई अस्वाभाविक रूपमा बढ्नबाट रोक्न मद्दत गर्छ ।
२. स्क्रिन टाइममा ब्रेकः मोबाइल वा कम्प्युटर चलाउनैपर्ने अवस्थामा पनि बीच–बीचमा आँखालाई आराम दिनुपर्छ ।
३. नियमित जाँचः बालबालिकाले आँखा खुम्च्याएर हेर्ने, टाउको दुख्ने भन्छन् वा टेलिभिजन नजिकै गएर हेर्छन् भने तत्काल विशेषज्ञलाई देखाउनुपर्छ ।
४. नयाँ प्रविधिको प्रयोगः अहिले मायोपिया नियन्त्रणका लागि विशेष प्रकारका चश्मा, कन्ट्याक्ट लेन्स र एट्रोपिन थेरापीजस्ता उपचारहरू उपलब्ध छन्, जसले दृष्टि कमजोर हुने दरलाई कम गर्न सक्छन् ।