२०८३ असार २४, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारअख्तियारद्वारा निजामती कर्मचारी अस्पतालका अधिकृतसहित ८ जना कर्मचारी विरुद्ध मुद्धा दायर

अख्तियारद्वारा निजामती कर्मचारी अस्पतालका अधिकृतसहित ८ जना कर्मचारी विरुद्ध मुद्धा दायर

औषधि खरिदमा झण्डै ३ करोड भ्रष्टाचार गरेको आरोप


काठमाडौं—अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निजामती कर्मचारी अस्पतालको फार्मेसी शाखामा कार्यरत ८ जना कर्मचारी विरुद्ध भ्रष्टाचार मुद्धा दायर गरेको छ । बुधबार अख्तियारले एक जना फार्मेसी अधिकृत, तीन जना वरिष्ठ फार्मेसी सहायक र चार जना फार्मेसी सहायक गरी ८ जना विरुद्ध २ करोड ९१ लाख ३४ हजार बढी बिगो माग दावी गर्दै विशेष अदालतमा मुद्धा दायर गरेको हो ।

मुद्धा दायर गरिएकाहरुमा अधिकृत दिपा ढुंगाना, वरिष्ठ फार्मेसी सहायक दिनेश पन्त, विनोद पोखरेल,  शर्मिला श्रेष्ठ, फार्मेसी सहायकहरु लवेन्द्र कुँवर, दिपक सापकोटा,  केशवराज न्यौपाने र सन्दिप तिवारी रहेका छन् । ढुंगाना, पन्त, कुँवर, सापकोटा निजामती कर्मचारी अस्पतालको फार्मेसी युनिटका इञ्चार्ज हुन् भने पोखरेल, श्रेष्ठ, न्यौपाने र तिवारी युनिट स्टोर किपर हुन् ।

उनीहरुले आफ्नो पद तथा ओहोदाको दुरुपयोग गरी सार्वजनिक सम्पत्तिको हिनामिना, हानी नोक्सानी पु¥याउने बदनियतले अस्पताल फार्मेसी सेवा निर्देशिका, २०७२ को दफा १६ र उपदफा (५) मा उल्लेख भएबमोजिम प्रत्येक आर्थिक वर्षको अन्त्यमा फार्मेसीमा खरिद भएको अद्यावधिक परिणाम, बिक्री भएको परिणाम तथा बाँकी परिणामको सन्तुलन परीक्षण नगरेको, आपूर्तिककर्ता फर्म र अस्पतालबीच भएको सम्झौताको शर्तबमोजिम ४ महिनामात्र म्याद भएका तथा बिक्री नभई म्याद गुज्रिएका औषधि तथा औषधिजन्य सामाग्री प्रतिस्थापन गर्न, फार्मेसी युनिट इञ्चार्जलाई त्यस्तो औषधि तुरुन्त फिर्ता गर्ने भनी अस्पतालका कार्यकारी निर्देशकले जिम्मेवारी दिएकोमा फिर्ता नगरी शोधभर्ना नलिई अस्पतालको सम्पत्ति हिनामिना, हानी नोक्सानी गरेको पुष्टि भएको अख्तियारको आरोप छ ।

यस्तै, शर्तअनुसार म्याद सकिएका औषधि तथा औषधीजन्य सामाग्रीहरुको शोधभर्ना नगरेमा उक्त मूल्य बराबरको रकम फर्महरुको धरौटी रकमबाट कट्टा गरिने व्यवस्था भएपनि फार्मेसीमा म्याद गुज्रेका औषधि र औषधिजन्य सामाग्री हुँदाहुँदै बदनियत राखी म्याद गुज्रेका तथा फिर्ता गर्नुपर्ने औषधि तथा औषधिजन्य सामाग्री नरहेको भनी लिखित जानकारी दिने गरेको अख्तियारको दावी छ । ‘त्यस्ता औषधि तथा औषधिजन्य फर्महरुको कट्टी हुनुपर्ने/गरिनुपर्ने धरौटी कट्टी नभई फिर्ता गरे गराएको समेतका निजामती कर्मचारी अस्पतालका मेडिकल डिभिजन प्रमुखको नेतृत्वको समितिले विस्तृत विश्लेषण गरी प्रतिवेदनमा उल्लेख भएअनुसार जम्मा विगो रु. २,९१,३४,५४७.३७ बराबरको सार्वजनिक सम्पत्ति हानी नोक्सानी पु¥याएको देखिएकोले छ,’ अख्तियारले भनेको छ ।

अधिकृतसहितका फार्मेसीका ८ जना कर्मचारीहरुलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुरमा विगो दुई करोड एकानब्बे लाख चौतिस हजार पाँच सय सत्तचालिस रुपैयाँ सैतीस पैसा कायम गर्न अख्तियारले भनेको छ । यस्तै, उसले भ्रष्टाचार निवारण ऐन, २०५९ को व्यवस्थाअनुसार कैद तथा विगो असुल उपरको माग अख्तियारको मुद्धामा गरिएको छ ।

अख्तियारले निजामती कर्मचारी अस्पतालमा औषधि आपूर्तिकर्तासँग साँठगाँठ गरी अस्पतालमा औषधिको आपूर्ति नभई विल बिजक सफ्टवेयरमा इन्ट्री गरी ठूलो रकम भ्रष्टाचार गरेको, अस्पतालको स्टोर शाखा, भ¥याङमा करोडौंको औषधि म्याद गुज्रेर फालिएको अवस्थामा रहेको र कम्प्युटरमा स्टक देखाएको औषधि यथार्थमा मौज्दात नरहेको उजुरी परेपछि छानविन गरेको थियो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ