काठमाडौं—सरकारले ६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपतिहरु नियुक्त गरेको छ । बिहीबार प्रधानमन्त्री बालेन्द्र शाहले ६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपतिहरु नियुक्त गरेका हुन् ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय निकट स्रोतकाअनुसार चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)मा प्रा. डा. विवेक आचार्य उपकुलपति नियुक्त भएका छन् । वीर अस्पतालमै कार्यरत उनी रेडियसन अंकोलोजिष्ट हुन् ।
यस्तै, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रा. डा. स्मृति कार्की उपकुलपति नियुक्त भएकी छन् । यसअघि विभागीय प्रमुख समेत रहिसकेकी उनी वरिष्ठ प्याथोलोजिष्ट हुन् ।
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा प्रा. डा. नविसमान सिंह प्रधान नियुक्त भएका छन् । उनी हाडजोर्नी विशेषज्ञ हुन् । यसअघि उनी पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्कुल अफ मेडिकलका डिन थिए ।
यस्तै, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा प्रा.डा. नारायणसिंह गुरुङ नियुक्त भएका छन् । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमै कार्यरत प्रा.डा. गुरुङ एमडिजीपी चिकित्सक हुन् । उनी यसअघि इमर्जेन्सी विभागका विभागीय प्रमुखका रुपमा कार्यरत थिए ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा प्रा.डा. सुर्यमान मेन्याङबो नियुक्त भएका छन् । यसअघि राप्तीमा कार्यरत उनी जनरल सर्जन हुन् ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा प्रा. डा. अजयकुमार मिश्र नियुक्त भएका छन् । यसअघि जनकपुरस्थित जानकी मेडिकल कलेजमा कार्यरत उनी कार्डियोलोजिष्ट हुन् ।