२०८३ असार २१, आईतबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यगर्मीमा पौडी खेल्दा बालबालिकाको स्वास्थ्यमा जोखिम

गर्मीमा पौडी खेल्दा बालबालिकाको स्वास्थ्यमा जोखिम


गर्मी मौसमको सुरुवातसँगै बालबालिकालाई शितलता प्रदान गर्न अभिभावकले पौडी खेल्नका लागि ‘स्वीमिङ पुल’ लैजाने क्रम बढेको छ । पछिल्लो समय गर्मी सँगै हप्तामा दुई दिन विदा हुँदा, विदाको सदुपयोग गर्नका लागि अधिकांश बालबालिकाहरु पौडी खेल्नका लागि स्वीमिङ पुल जाने गरेका छन् । विद्यालय विदाको समयमा मनोरञ्जनका लागि पौडी खेल्न लैजाँदा बालबालिकाको स्वास्थ्यमा भने विभिन्न समस्याहरू देखिन थालेका छन् ।

पछिल्लो समय अस्पतालका ओपिडीमा पौडी खेलेपछि बिरामी भएका बालबालिकाको संख्या उल्लेख्य मात्रामा बढेको छ । पौडी खेल्ने क्रममा बालबालिकाले अन्जानमै पोखरीको पानी निल्ने गर्छन् । पोखरीलाई सफा राख्न प्रयोग गरिने ‘क्लोरिन’युक्त पानीले बालबालिकाको घाँटीमा एलर्जी गराउन सक्ने र पानी फोहोर भएमा घाँटी तथा फोक्सोमा संक्रमण हुने गरेको पाइएको छ । यसका साथै कानमा संक्रमण भई कान पाक्ने वा दुख्ने समस्या पनि उत्तिकै देखिएको छ ।

यस्तै, गर्मीका कारण पौडी पोखरीमा अत्याधिक भीड हुने गरेको छ । धेरै मानिसको उपस्थितिले गर्दा पानी फोहोर हुने र संक्रमणको जोखिम झन् बढ्ने सम्भावना रहन्छ ।

संक्रमणपछि बच्चाहरूलाई घाँटी दुख्ने, टन्सिलाइटिस, कानको संक्रमण र कहिलेकाहीँ छातीमा संक्रमण भई निमोनिया पनि हुने गरेको छ । केही बच्चाहरूलाई उच्च ज्वरो आई, छारेरोग जस्तै काम्ने र कहिलेकाहीं उनीहरूलाई अस्पताल भर्ना गर्नुपर्ने समेत हुन्छ।

धेरै भीडभाड भएको पौडी पोखरीमा बालबालिकालाई लैजानु हुँदैन् । यस्तै, बालबालिकालाई एक्लै पौडी खेल्न नछोड्ने र कसैको निगरानीमा मात्र पौडी खेलाउने, पौडी खेलिसकेपछि बालबालिकालाई सफा पानीले नुहाइदिने र कानहरू राम्रोसँग पुछिदिने र घाँटी वा कानमा समस्या देखिएमा तुरुन्त चिकित्सकसँग परामर्श लिनुपर्छ ।

गर्मीबाट बच्न पौडी खेल्नु राम्रो भएतापनि स्वास्थ्यको ख्याल नगर्दा बालबालिकाहरू लामो समयसम्म बिरामी पर्नसक्ने भएकाले सावधानी अपनाउन सबै बालबालिका र अभिभावकले ध्यान दिन जरुरी छ ।

(डा. थापा ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालका बालरोग विशेषज्ञ हुन् ।)


क्याटेगोरी : जनस्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ