२०८३ असार २२, सोमबार
Health Aawaj logo
गृहपृष्ठमेरो स्टार्टअप५० लाख लगानीमा युवा डाक्टर र नर्स युवतीले सञ्चालनमा ल्याए ‘निको डेन्टल एण्ड एस्थेटिक’

५० लाख लगानीमा युवा डाक्टर र नर्स युवतीले सञ्चालनमा ल्याए ‘निको डेन्टल एण्ड एस्थेटिक’


काठमाडौं—डेन्टल सर्जन डा. विजया आचार्य र नर्स तुलसी उप्रेतीको भेट करिब ७ महिनाअघि भएको हो । उनीहरुको पहिलो भेटघाटको संयोग उनीहरुका श्रीमानहरु डा. हरिशचन्द्र विष्ट र डा. सुवास बन्जाडेको मित्रताले काठमाडौंमा जुराइदिएको थियो । त्यही एउटा भेट उनीहरुलाई ‘विजनेश वुमन’ बनाउने बलियो आधार बन्यो ।

विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका सहपाठी दार्चुलाका डा. विष्ट र अर्घाखाँचीका डा. बन्जाडे क्रमसः धनगढी र शंखमूलमा डेन्टल क्लिनिक सञ्चालन गरिरहेका छन् । विपी प्रतिष्ठानमा विकास भएको श्रीमानहरुबीचको अटुट मित्रताकै बीचमा ७ महिनाअघि भेटिएका डा. विजया र तुलसीको मित्रता पनि झाँगिदैं गयो ।

त्यहीबीच उनीहरुको एउटा स्टार्टअप व्यवसाय सुरु गर्ने योजना बन्यो । ‘म काठमाडौंमा एक्लै थिएँ, श्रीमान धनगढीमा हुनुहुन्थ्यो,’ तुलसी भन्छिन्, ‘त्यही कारण डा. विजयासँग भेट भएपछि हामीले स्टार्टअपका रुपमा डेन्टल तथा एस्थेटिक क्लिनिक सुरु गर्न योजना बनायौं ।’ त्यसमा उनीहरुका श्रीमानहरुको साथ नहरने कुरै भएन् ।

उमेरले २७ वर्षको उकालो हिडिरहेका दुई युवती डा. विजया र तुलसीले व्यवसायी यात्रा सुरु गर्ने उद्देश्यका साथ काठमाडौंका विभिन्न ठाउँ घुमे । तीन महिनाअघि सबै कुराले पायक पर्ने र बाक्लो जनसंख्या भएका कारण काठमाडौं—३२ कोटेश्वरस्थित सेतोओपी मार्गमा क्लिनिक खोल्नका लागि उपयुक्त ठाउँ भेटाए । नाम राखे—‘निको डेन्टल एण्ड एस्थेटिक’ । ‘दुवै जना मिलेर एडभान्स खालको राम्रो स्टार्टअप गर्ने योजनाअनुरुप हामीले तीन महिनाअघि क्लिनिक निर्माणको काम अगाडि बढायौं,’ डा. विजया भन्छिन् ।

तीन महिनामा क्लिनिकको कन्स्ट्रक्सन र अन्य व्यवस्थापनका काम सकिएपछि २२ असारबाट ‘निको डेन्टल एण्ड एस्थेटिक’ औपचारिक रुपमा सञ्चालनमा आएको छ । सोमबार युवा उद्यमीद्वय डा. विजया र तुलसीले रिबन काटेर क्लिनिकको औपचारिक रुपमा उद्घाटन गरेका हुन् । ‘अत्याधुनिक सेटअप र हाइजिनलाई उच्च प्राथमिकतामा राखेर बेस्ट ट्रिटमेन्ट दिनका लागि क्लिनिकमा सबै आवश्यक प्रबन्ध गरेका छौं,’ तुलसी सुनाउँछिन्, ‘हामीसँग क्वालिफाइड चिकित्कसहरुको टिम छ ।’

दाँत तथा मुख स्वास्थ्यका विभिन्न विद्यासँग सम्बन्धि ९ जना विशेषज्ञ चिकित्सकले निको डेन्टल एण्ड एस्थेटिकबाट सेवा दिनेछन् । डा. विजयाकाअनुसार अर्थोडोन्टीष्ट, आरसीटी विशेषज्ञ , गिँजारोग विशेषज्ञ , इम्प्लान्ट, ओरल एण्ड म्याक्जिलोफेसियल, पेडियान्ट्रिक डेंटिस्टलगायतका विधाका विशेषज्ञहरुले क्लिनिकबाट सेवा दिनेछन् । त्यसबाहेक क्लिनिकमा पाँच जना थप कर्मचारीहरु छन् । ‘पूर्ण रुपमा सञ्चालनमा आउँदा झण्डै १२ जना जतिले रोजगारी पाउनेछन्,’ डा. विजया भन्छिन् ।

झण्डै ५० लाख लगानीमा सुरु भएको क्लिनिकमा आरसीटी गर्ने अत्याधुनिक मेसिन इण्डोमोटर अपेक्स लोकेटर , प्रयोगमा आएका मेडिकल सामाग्री स्ट्रेरीलाइज गर्न क्लास बी अटोक्लेभ, (आरभिजी) डिजिटल एक्स—रे लगायतका उपकरणहरु छन् । क्लिनिकबाट अनुहारको सौन्दर्य सम्बन्धि सेवाहरु पनि प्रदान गरिने डा. विजयाले जानकारी दिइन् ।

‘बोल्दा अगाडि दाँतमा ग्याप आयो भने हामीले सिमेन्टले नै बिल्डअप गरेर नेचुरल लुकहरु ल्याउने सेवा पनि दिन्छौं,’ उनले भनिन्, ‘दाँत नभएका मान्छेले नयाँ दाँतहरु राम्रोसँग लगाएर नयाँ जीवन पाएजस्तो अनुभूति गराउने जिम्मेवारी हाम्रो हुनेछ ।’ बुढाबुढी वा कसैको एउटा पनि दाँत नभएकोले हाँस्न, बोल्न र खान पनि गाह्रो भएको अवस्थामा ‘फूल माउथ रिह्याब’ गरेर फिक्स दाँतहरु लगाउने प्रविधि पनि क्लिनिकमा उपलब्ध छ ।

‘निको डेन्टल एण्ड एस्थेटिकलाई ब्राण्डका रुपमा अगाडि लैजाने योजना छ,’ डा. विजयाले भावि योजना सुनाइन् । क्लिनिकमा सुलभ मुल्यमा अत्याधुनिक सुबिधा सहित सेवा दिने योजना सञ्चालकहरुको छ । ‘यो हाम्रो पहिलो ब्रान्च हो, यसबाट अत्याधिक मान्छेहरुलाई सुलभ रेटमा क्वालिफाइड डेन्टल ट्रिटमेन्ट प्रवाह गर्ने लक्ष्य छ,’ तुलसाले थपिन् । उनका अनुसार मान्छेहरुमा रहेको दन्त उपचार महंगो हुन्छ भन्ने भ्रमलाई चिर्ने प्रयास पनि निकोले गर्नेछ ।

एक वर्षभित्रै निको डेन्टल एण्ड एस्थेटिकको अर्को शाखा खोल्ने योजनामा पनि उनीहरुको छ । ‘यसले रोजगारी पनि सिर्जना हुनेछ, उपचारमा बिरामीको पहुँच पनि बढाउनेछ,’ कुरा विट मार्दै डा. विजयाले भनिन् ।


क्याटेगोरी : मेरो स्टार्टअप



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ