२०८३ वैशाख १४, सोमबार
Health Aawaj logo
गृहपृष्ठमेरो स्टार्टअपअस्पतालहरूमा फैलिदैंछ व्यवसायी डा. समताको सपना ‘हेल्दी बाइट्स’

अस्पतालहरूमा फैलिदैंछ व्यवसायी डा. समताको सपना ‘हेल्दी बाइट्स’


गैरआवासीय नेपाली व्यवसायी डा. उपेन्द्र महतोले विश्वस्तरीय स्वास्थ्य सेवा स्वदेशमै उपलब्ध गराउने महत्वकांक्षी योजनाका साथ अर्बौ लगानी गरेर भैसेपाटीमा नेपाल मेडिसिटी अस्पताल बनाए । डा. महतोले मेडिसिटी सञ्चालनमा ल्याएसँगै खानामा उल्कै रुचि राख्ने उनकी श्रीमती डा. समता प्रसाद महतोको मनमा त्यही हस्पिटलभित्रबाट अर्को व्यवसायको फ्रेमवर्क तयार भइरहेको थियो ।

जब नेपाल मेडिसिटी अस्पताल सञ्चालनमा आयो । समताको मनभित्र तयार भइरहेको हस्पिटलमा स्वस्थ र गुणस्तरीय खाना सुपथ मूल्यमा उपलब्ध गराउने फ्रेमवर्कले आकार लिन थाल्यो । त्यसैको परिणामस्वरुप वि.सं. २०७३ को अन्तिममा उनले ‘हेल्दी बाइट्स सभिसेस् प्रा.लि.’ नामक चमेना गृह र रेष्टुरेष्ट चलाउने कम्पनी दर्ता गरिन् । नेपाल मेडिसिटी सञ्चालनमा आएसँगै हेल्दी बाइट्सले मेडिसिटीभित्रै क्याफ्टेरिया, कफी सप, बेकरी सप, बिरामी, कर्मचारी, बाहिरी ग्राहकका लागि छुट्टा—छुट्टै रेष्टुरेन्ट, भीआईपी लाउन्ज र बिरामीलाई रुम सर्विस दिने गरी हेल्दी बाइट्स सञ्चालनमा ल्याइन् । हेल्दी बाइट्सले नेपाल मेडिसिटीमा बिरामीहरुलाई निःशुल्क खाना खुवाउने प्रबन्धसमेत गरेको छ ।

अर्बपति व्यवसायी डा. महतोकी श्रीमती समताको खानाप्रतिको प्रेम र रुचिका कारण मेडिसिटी अस्पतालभित्रबाटै झण्डै डेढ करोड लगानी र ७५ जना स्टाफबाट हेल्दी बाइट्स सुरु भएको हो । ९ वर्षको छोटै अवधिमा अहिले हेल्दी बाइट्स नेपालकै पहिलो हस्पिटल केन्द्रीत हस्पिटालिटी चेनका रुपमा विकास भएको छ । अहिले हेल्दी बाइट्सले पाँच वटा अस्पतालका चिकित्सक, बिरामीदेखि बाहिरका ग्राहकसम्मलाई स्वस्थ र गुणस्तरीय खानेकुरा पस्किरहेको छ । बिरामीहरुलाई उनीहरुको डाइट प्लानअनुसार खाना उपलब्ध गराउने गर्छ ।

कर्पोरेट अस्पतालभित्र फैलिइरहेको ‘हेल्दी बाइट्स’ फ्रास्ट ग्रोइङ हस्पिटालिटी चेन बन्न थालिसकेको छ । मेडिसिटीपछि फूलकुमारी महतो अस्पताल सिरहा, वीरगन्जस्थित मेडिसिटी बयोधा अस्पताल, इशान बाल तथा महिला अस्पताल र ओम हस्पिटलमा पनि हेल्दी बाइट्सले शाखा चलाइरहेको छ ।

अहिले हेल्दी बाइट्समा पाँच वटा हस्पिटलमा गरेर १२० जनाभन्दा बढी कर्मचारी छन् भने महिनामै झण्डै डेढ, दुई करोड रुपैयाँको कारोबार गर्छ । अस्पतालभित्र ‘हेल्दी बाइट्स’को खाना र व्यवस्थापन राम्रो भएकाले अन्य धेरै अस्पतालहरुले पनि क्यान्टिन व्यवस्थापनका लागि प्रस्ताव पठाएका छन् । ‘अहिले धेरै हस्पिटलबाट पर्पोजल आइरहेका छन्,’ हेल्दी बाइट्सका म्यानेजर दिलिपकुमार यादवले हेल्थआवाजसँग भने, ‘व्यापारका रुपमाभन्दा पनि बिरामीलाई गुणस्तरीय खाना कसरी पुर्‍याउने भन्ने योजनामा हामी काम गरिरहेका छौं ।’

सफा र शुद्ध खाना बिरामीको कोठासम्म कसरी पुर्‍याउने, प्रक्रिया के अवलम्बन गर्ने, कुन तरिकाले खाना पकाउने, कसरी डेलिभरी गर्ने, स्पापल के हो, टेष्ट के हो लगायतका धेरै विषयमा हेल्दी बाइट्सले छुट्टै सिष्टम नै बनाएको छ । त्यही सिष्टमका कारण धेरै अस्पतालहरुबाट प्रस्ताव आएपनि हेल्दी बाइट्स व्यवस्थापनले आफ्नो लक्ष्यअनुसारको मापदण्ड काम गर्न सकिने ठाउँमा मात्रै सेवा विस्तार गर्ने योजना बनाएको छ । हेल्दी बाइट्सले अस्पतालका कर्मचारीहरुको घरमा साना पार्टीका लागि क्याटरिङ सुविधासमेत प्रदान गर्दै आएको छ । ‘हस्पिटलका डाक्टर र कर्मचारीहरुले पनि यहाँको खाना राम्रो छ, हेल्थी छ भनेर घरमा पनि लग्नुहुन्छ,’ यादवले थपे, ‘डाक्टर कर्मचारीका घरमा हुने साना—साना पार्टीहरुमा क्याटरिङको सेवासमेत उपलब्ध गराइरहेका छौं ।’

हेल्दी बाइट्ससँग राष्ट्रिय मेनुसँगै अन्तर्राष्ट्रिय मेनुहरु पनि छन् । ‘हामीसँग अन्तर्राष्ट्रिय ब्राण्डको खानाहरु पनि छन्,’ यादवले थपे, ‘चाइनिज, मेक्सिकनलगायतका विभिन्न देशका खानाहरु छन्, सेफहरु पनि त्यहीअनुसार व्यवस्था गरेका छौं ।’ संस्थापक समताले नेपालभरका हस्पिटलहरुमा स्वस्थ र गुणस्तरीय खाना पुर्‍याउने मुख्य उद्देश्यका साथ हेल्थी बाइट्स सुरु गरेकाले देशभरका थप अस्पतालमा सेवा विस्तार गर्ने योजनामा पनि व्यवस्थापनले काम गरिरहेको छ ।

भविष्यमा नेपालमा बनिरहेका कर्पोरेट अस्पतालहरुमा स्वस्थ र गुणस्तरीय खाना सुलभ शुल्कमा पुर्‍याउने लक्ष्य हेल्दी बाइट्स छ । हस्पिटलले क्यान्टिनको भाडा उच्च भएका कारण कम शुल्कमा गुणस्तरीय खाना उपलब्ध गराउन गाह्रो रहेको म्यानेजर यादवले अनुभव सुनाए । त्यसैले पनि क्यान्टिनको भाडा लिँदा सेवाभावका साथ तोक्नुपर्ने उनको तर्क छ । ‘सरकारले पनि अस्पतालका क्यान्टिनहरुमा मिनिमन मूल्यमा गुणस्तरीय खाना बिरामीले पाउने गरी नियमहरु बनाइदिनुपर्छ,’ उनले भने ।

हेल्दी बाइट्सकी संस्थापक समता देश—विदेश घुम्दा आफूलाई मन परेको खाना हेल्दी बाइट्सका मेनुमा राख्ने गरी पहल गरी हाल्छिन् । हेल्दी बाइट्सलाई कसरी ब्राण्ड बनाउने र नेपालका गाउँ—गाउँसम्मका अस्पतालहरुमा कसरी स्वस्थ्य र गुणस्तरीय खाना सुलभ मुल्यमा पुर्‍याउन सकिन्छ भन्नेमा उनको रुचि छ । ‘उहाँ कुनै ठाउँ जानुभयो, कुनै खाने कुरा मन पर्‍यो भने हेल्दी बाइट्सको मेनुमा कसरी राख्न सकिन्छ भनेर हामीसँग सल्लाह गर्नुहुन्छ,’ यादव सुनाए । खानामात्रै होइन्, पस्कने शैलीदेखि टेबल र प्लेटहरुसम्म मनपर्ने बित्तिकै महतोले हेल्दी बाइट्सका सम्झिहाल्छिन् ।

१० वर्ष लण्डन बसेर फर्किएका दिलिपकुमार यादव अहिले हेल्दी बाइट्सको सम्पूर्ण अप्रेशन सम्हालिरहेका छन् । सिरहाको भगवानपुर—मा जन्मिएर बेलायतबाट मार्केटिङमा एमबीए गरेका उनले त्यहीबाट आर्टसमा पनि माष्टर्स गरेका छन् । यादवसँग म्यारियट, र्‍याडिसन, सोल्टी, द्वारिकालगायतका होटलमा काम गरेको अनुभव पनि छ । ‘मैले पहिले सेफ थिए,’ ३७ वर्षीय हेल्दी बाइट्सका म्यानेजर यादवले सुनाए, ‘लण्डनमा पनि मैले सेफका रुपमा अनुभव संगाले ।’ ठूला ब्राण्ड र पहिलो विश्वका विकसित देशहरुमा हासिल गरेको अनुभव उनले अहिले हेल्दी बाइट्सको विकास र विस्तारमा लगाइरहेका छन् ।


क्याटेगोरी : मेरो स्टार्टअप



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ