काठमाडौं—रुपन्देहीको सिद्धार्थनगर नगरपालिका—८ अञ्चलपुरमा २०० शय्याको लुम्बिनी क्यान्सर अस्पताल प्रा.लि. बन्ने भएको छ । विशेषज्ञ सेवा प्रदान गर्ने विशिष्टीकृत अस्पतालका रुपमा तीन विगाहा क्षेत्रफलमा निर्माण हुने उक्त अस्पताल एलवाई पाएको तीन वर्षभित्र सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ ।
लुम्बिनी क्यान्सर अस्पतालका सञ्चालक कमल भण्डारीकाअनुसार अत्याधुनिक क्यान्सर अस्पतालका रुपम स्थापना गर्न लागिएको लुम्बिनी क्यान्सर अस्पतालको प्रोजेक्टमा झण्डै ३ अर्ब ८२ करोड रुपैयाँ खर्च हुने अनुमान छ । ‘टोटल प्रोजेक्ट कष्ट झण्डै ३ अर्ब ८२ करोड रुपैयाँ खर्च हुने अनुमान गरेका छौं,’ भण्डारीले भने, ‘अब ईआई स्वीकृत भएर एलवाई प्राप्त भएपछि हामी निर्माणको काम अगाडि बढाउँछौं ।’
अस्पतालको वातावरणीय प्रभाव मुल्यांकन (ईआई) प्रतिवेदनअनुसार १९ हजार ६१६.०४ वर्गमिटर क्षेत्रफलमा बन्ने लुम्बिनी क्यान्सर अस्पतालका अस्पताल भवनको क्षेत्रफल मात्रै १ हजार ४५८.८८ वर्ग मिटर क्षेत्रफल हुनेछ भने ९०० वर्ग मिटरको बंकर हाउस बन्नेछ ।
३५ मिटर अग्लो अस्पताल भवनमा बेसमेन्ट र भुँइतलाबाहेक आठ तलाको हुनेछन् । जसमा बेसमेन्टमा क्याफे तथा क्यान्टिन, पार्किङ, भूमिगत पानी टंयाकी, जेनेरेटर कोठा, एसी प्लान्ट आदि रहनेछन् । यस्तै, भुँइतलामा इर्मेजेन्सी, रेडियोलोजी, फार्मेसी र २४ शय्या रहनेछ । पहिलो तलामा ब्लड ड्र सेवा, प्रयोगशाला, अंकोलोजी ओपीडीसहित ३४ शय्या रहनेछन् भने दोस्रो तलामा शल्यक्रिया कक्ष, सिएसएसडी, पोष्ट अपरेटिभ वार्ड, पेट स्क्यान मेसिनसहित ३४ शय्या रहनेछन् ।
अस्पतालको चौथो तलामा प्याथोलोजी, सर्जिकल वार्ड, आईसीयु, क्रिटिकल केयर युनिट, एचडियुसहित ५० शय्या, पाँचौ तलामा पेलियाटिभ केयर वार्ड, पेडियाट्रिक अंकोलोजीसहित २५ शय्या, छैटौं तलामा वल्ड एज डे केयर रुम, मिटिङ हल, कन्फ्रेन्स हल, अस्पताल प्रशासन, लेखा शाखा र स्टोर, सातौं तलामा मेडिटेसन तथा योगा, थेरापी एण्ड पुनस्थापना सेवा, ओपन क्याफे, बैंठक कक्ष र मुख्य स्टोर तथा आठौं तहलामा भवन छोप्ने संरचना र ओपन टेरेस रहने उल्लेख छ । अपांगमैत्री र बिरामीमैत्री रुपमा भौतिक पूर्वाधार तयार पारिने लुम्बिनी क्यान्सर अस्पतालमा ७ वटा लिफ्ट, ह्वीलचेयर मैत्री संरचना र अपांगमैत्री शौचालय, एम्बुलेन्स आदि रहनेछन् ।
सेवाहरु प्रयोगशाला, रेडियोलोजी, अल्ट्रासाउण्ड, इसिजी, प्याथोलोजी, २४ सै घण्टा इमर्जेन्सी सेवा, सर्जरी, आईसीयु, ओपीडी, अंकोलोजी, रेडियसन थेरापी, केमोथेरापी, बोनम्यारो ट्रान्सप्लान्ट, अन्य क्यान्सरसँग सम्बन्धित उपचार, फार्मेसी, रक्त संचार र एम्बुलेन्स सेवा रहनेछ ।
क्यान्सर अस्पताल भण्डारीको एकल स्वामित्वमा बन्न लागेको हो । उनीसहितको टिमले रुपन्देहीको भैरहवा सिद्धार्थनगर नगरपालिका—८ भैरहवामा १५० शय्याको एडभान्स अस्पताल समेत निर्माण गरेर सञ्चालनको तयारीमा छ । उक्त अस्पतालमा जनरल क्यान्सरबाहेका अन्य रोगहरुको उपचार हुनेछ । लुम्बिनी क्यान्सर र एडभान्स इन्टरनेशनल अस्पतालको दूरी ५०० मिटर रहेको छ ।
लुम्बिनी क्यान्सर अस्पताल सञ्चालनमा आउँदा २२० जना प्राविधिक जनशक्ति र ६५ जना प्रशासनिक तथा अप्राविधिक जनशक्ति गरी २८५ जनाले रोजगारी पाउनेछन् । नेपालमा गुणस्तरीय क्यान्सर सेवा प्रदान गर्ने उद्देश्यरले गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका वासिन्दाको सुविधालाई मध्यनजर गर्दै भैरहवामा उक्त अस्पताल निर्माण गर्न लागिएको भण्डारीले जानकारी दिए ।