काठमाडौं –स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विभिन्न सरकारी स्वास्थ्य संस्था तथा विभागहरूलाई पत्राचार गर्दै पाँचौं र सातौं तहमा कार्यरत कर्मचारीहरूको विवरण उपलब्ध गराउन निर्देशन दिएको छ ।
मन्त्रालयको कर्मचारी प्रशासन शाखाले २०८३ जेठ ५ गते जारी गरेको पत्रमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पत्रअनुसार विवरण माग गरिएको उल्लेख छ ।
पत्रअनुसार आयोगले फरेन्सिक समूहमा कार्यरत पाँचौं र सातौं तहका कर्मचारीहरूको नाम, सम्पर्क नम्बर, नियुक्ति मिति तथा शैक्षिक योग्यतासहितको प्रमाणित विवरण माग गरेको हो । मन्त्रालयले सम्बन्धित निकायहरूलाई पत्र प्राप्त भएको मितिले तीन दिनभित्र विवरण उपलब्ध गराउन भनेको छ ।
मन्त्रालयले विवरण हार्डकपीसँगै soft copy पनि पठाउन निर्देशन दिएको छ ।
विवरण माग गरिएका संस्थाहरूमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, वीर अस्पताल, स्वास्थ्य सेवा विभाग, औषधि व्यवस्था विभाग, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, नारायणी अस्पताल, भरतपुर अस्पताल, मानसिक अस्पताल, कोशी अस्पताल, डडेलधुरा अस्पताललगायत विभिन्न सरकारी अस्पताल तथा निकाय रहेका छन् ।
