आजको तीव्र रूपमा परिवर्तन हुँदैं गएको आधुनिक विश्वमा स्वास्थ्यसम्बन्धी चुनौतीहरूको स्वरूप पनि बदलिँदै गएको छ। संक्रामक (सरुवा) रोगहरूभन्दा बढी असंक्रामक (नसर्ने) रोगहरू जस्तै मधुमेह, उच्च रक्तचाप, मुटुरोग, क्यान्सर, मानसिक तनाव महामारीकै रूपमा फैलिरहेका छन्।
यस्तो परिस्थितिमा योग तथा प्राकृतिक चिकित्सा (Yoga & Naturopathy) केवल वैकल्पिक होइन, अपरिहार्य स्वास्थ्य प्रणालीको रूपमा स्थापित हुँदै गएको छ।नेपालमा पनि यसको आवश्यकता दिनप्रतिदिन बढिरहेको छ । तर, यसको विकास र विस्तार अपेक्षित गतिमा हुन सकेको छैन। सरकारले हरेक पटक नीति तथा कार्यक्रममा यसको उल्लेख गरे पनि व्यवहारमा ठोस पहलको अभाव स्पष्ट देखिन्छ।
१. योग तथा प्राकृतिक चिकित्सा किन आवश्यक छ?
योग तथा प्राकृतिक चिकित्सा केवल रोगको उपचार गर्ने प्रणाली मात्र होइन, यो समग्र जीवनशैली व्यवस्थापनको विज्ञान हो। यसले:
रोग लाग्न नदिने (Preventive)
स्वास्थ्य प्रवर्द्धन गर्ने (Promotive)
रोगको उपचार गर्ने (Curative)
रोगपछि पुनर्स्थापना गर्ने (Rehabilitative)
चारै पक्षमा महत्वपूर्ण भूमिका खेल्छ।
यसैले भनिन्छ: ‘रोगीलाई निरोगी र निरोगीलाई दीर्घजीवी बनाउने प्रभावकारी माध्यम योग तथा प्राकृतिक चिकित्सा हो।’
२. विश्व परिप्रेक्ष्यमा यसको महत्व
विश्वभर अहिले योग र प्राकृतिक चिकित्सा सम्बन्धि वैज्ञानिक अनुसन्धानहरू तीव्र रूपमा भइरहेका छन् । विकसित देशहरूले यसलाई इन्टीग्रेटेड हेल्थ सिस्टम मा समावेश गर्न थालेका छन् । Wellness Tourism को मुख्य आधारका रूपमा विकास भइरहेको छ । नेपाल जस्तो प्राकृतिक स्रोतले सम्पन्न देशका लागि यो ठूलो अवसर हो।
३. नेपालमा वर्तमान अवस्था
दुःखको कुरा, नेपालम न त सरकार गम्भीर रूपमा चासो लिएको देखिन्छ । न त स्वास्थ्य मन्त्रालय वा सम्बन्धित निकायले प्राथमिकतामा राखेको छ । नीति निर्माणभन्दा बढी लोकप्रियता केन्द्रित गतिविधि मात्र भइरहेका छन् ।
अक्सर देखिने प्रवृत्तिका रूपमा सरकार बन्ने बेला केही समूहको भेटघाट, निवेदन बुझाउने, फोटो खिच्ने र सामाजिक सञ्जालमा पोस्ट गर्ने तर त्यसपछि व्यवहारतः कुनै निरन्तरता वा परिणाम देखिँदैन् ।
४. सकारात्मक प्रयास तर अपर्याप्त
योग तथा प्राकृतिक चिकित्सा अभियन्ताहरू, पुराना अनुभवी व्यक्तित्वहरू, योग एण्ड नेचुरोप्याथी डक्टर्स एशोसिएसन नेपाल सबैले आफ्नो तर्फबाट निरन्तर काम गरिरहेका छन्। काम नभएको होइन, तर संस्थागत समर्थनको अभावले अपेक्षित उपलब्धि हुन सकेको छैन।
५. मुख्य चुनौतीहरू
नेपालमा यस क्षेत्रको विकासमा बाधा बनेका केही प्रमुख कारणहरू छन् । जसमा स्वघोषित विज्ञहरूको वर्चस्व, ‘मेरो संस्था ठूलो’ भन्ने मानसिकता, नीतिगत अस्पष्टता, समन्वयको अभाव, दीर्घकालीन योजना नहुनुजस्ता कारणले गर्दा वास्तविक विशेषज्ञहरू पछाडि पारिएका छन् र प्रणाली कमजोर बनेको छ।
६. सरकारले गर्नुपर्ने ठोस कदमहरू
अबको नयाँ सरकारले निम्न कदम चाल्नु अत्यन्त आवश्यक छ:
(क) विज्ञ समिति गठन
आधिकारिक, योग्य र अनुभवी विज्ञहरूको समिति गठन गरिनुपर्छ
विगतका नीति, समिति र कामहरूको समीक्षा गरिनुपर्छ
(ख) दीर्घकालीन नीति निर्माण
१०–२० वर्षको स्पष्ट रोडम्याप तयार गर्नुपर्छ
स्वास्थ्य प्रणालीमा योग तथा प्राकृतिक चिकित्सालाई समावेश गर्नुपर्छ
(ग) मन्त्रालयबीच समन्वय
स्वास्थ्य मन्त्रालय
शिक्षा मन्त्रालय
पर्यटन मन्त्रालय
यी तीन मन्त्रालयबीच समन्वय गरेर एकीकृत नीति लागू गर्नुपर्छ ।
७. Wellness Tourism: अवसर कि औपचारिकता?
पर्यटन मन्त्रालयले Wellness Tourism को अवधारणामा योग र प्राकृतिक चिकित्सा समावेश गर्ने नीति लिएको छ।
तर, यदि विज्ञहरूसँग व्यापक छलफल भएन भने यो केवल चिया–बिस्कुट बैठकमै सिमित हुने खतरा छ । त्यसैले समस्या के छन्? समाधान के हुन सक्छ?लगायतका विषयमा गहिरो राष्ट्रिय बहस आवश्यक छ।
८. शिक्षामा समावेश गर्नुपर्ने आवश्यकता
विद्यालय तहदेखि नै योग शिक्षा अनिवार्य गरिनुपर्छ । विश्वविद्यालयमा योग तथा प्राकृतिक चिकित्सा सम्बन्धी उच्च शिक्षा र अनुसन्धान विस्तार गर्नुपर्छ ।
९. अबको बाटो: एकीकृत र दिगो दृष्टिकोण
योग तथा प्राकृतिक चिकित्सा कुनै एउटा मन्त्रालयको विषय होइन्। यो राष्ट्रिय स्वास्थ्य रणनीतिको महत्वपूर्ण हिस्सा बन्नुपर्छ । जुनसुकै मन्त्रालयले उठाएपनि यदि समन्वय र दीर्घकालीन योजना छैन भने त्यो केवल फाइल थुपार्ने काम मात्र हुन्छ ।
नेपालमा योग तथा प्राकृतिक चिकित्सा क्षेत्रको भविष्य अत्यन्त उज्ज्वल छ यदि सही नीति, नेतृत्व र प्रतिबद्धता भयो भने। अब आवश्यकता छ: औपचारिक होइन, व्यवहारिक पहल, लोकप्रियता होइन, दिगो योजना र व्यक्तिवाद होइन, सामूहिक प्रयास । अन्त्यमा आशा गरौं—अबका दिनहरूमा यी विषयहरू केवल छलफलमा सीमित नहोस्, बरु ठोस परिणामका रूपमा देखिन सुरु होस्।