काठमाडौं— त्रिवि शिक्षण अस्पतालमा अब बिरामीले ओपीडी टिकट काट्न, शुल्क तिर्न वा रिपोर्ट लिन घण्टौं लाइनमा बस्नुपर्ने बाध्यता क्रमसः अन्त्य हुने भएको छ । बिहीबार काठमाडौं महानगरपालिकाले त्रिवि शिक्षण अस्पतालको सेवा व्यवस्थापनलाई थप प्रविधिमैत्री र बिरामीमैत्री बनाउन १ करोड ७० लाख रुपैयाँभन्दा बढी मूल्यका अत्याधुनिक उपकरण हस्तान्तरण गरेको छ ।
उपकरण काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले अस्पतालका प्रमुख प्रा. डा. सुवास आचार्यलाई हस्तान्तरण गरेकी हुन् ।
महानगरले अस्पताललाई १६ वटा इन्टरएक्टिभ किओस्क मेसिन उपलब्ध गराएको छ, जसबाट बिरामीले शुल्क भुक्तानी गर्न, आफ्नै रिपोर्ट प्रिन्ट गर्न तथा घरबाटै उपचारका लागि रकम जम्मा गर्न सक्नेछन्। साथै, उपचारसँग सम्बन्धित सम्पूर्ण विवरण एकै स्थानमा हेर्न मिल्ने ६५ वटा ‘अल—इन—वन डेस्कटप’ समेत जडान गरिएको छ ।
सेवाको गति र दक्षता बढाउन अस्पतालको सर्भर तथा र्याम क्षमता पनि विस्तार गरिएको छ । सार्वजनिक खरिद प्रक्रियामार्फत खरिद गरिएका यी उपकरणको कुल लागत १ करोड ७० लाख १६ हजार ६७० रुपैयाँ रहेको महानगरले जनाएको छ ।
उपकरण हस्तान्तरण कार्यक्रममा बोल्दै कार्यवाहक प्रमुख डंगोलले बिरामी र उनका आफन्तले उपचारकै क्रममा थप दुःख र सास्ती भोग्न नपरोस् भन्ने उद्देश्यले सहयोग गरिएको बताइन् । ‘बिरामी र उहाँहरुका परिवारजन पहिले नै पीडामा हुनुहुन्छ । उपचारका लागि लाइनमा घण्टौं बस्नुपर्ने अवस्था अन्त्य गरी सहज सेवा दिन प्रविधिको प्रयोग आवश्यक छ,’ डंगोलले भनिन् ।
अस्पतालका प्रमुख प्रा. डा. सुवास आचार्यले महानगरको सहयोगले अस्पतालको सेवा प्रणालीमा उल्लेखनीय परिवर्तन ल्याउन मद्दत पुगेको बताए । उनले नयाँ प्रविधिको प्रयोगबाट बिरामीमैत्री सेवा व्यवस्थापन अझ प्रभावकारी बन्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा उपनिर्देशक प्रा. डा. पवनराज चालिसे र प्रा. डा. गोपाल सेढाईंले पनि महानगरबाट प्राप्त निरन्तर सहयोगले अस्पतालको सेवा प्रवाह थप सहज र व्यवस्थित भएको धारणा राखे ।