२०८१ वैशाख ११, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनर्भिक अस्पतालले लिन्छ कोभिड आइसोलेसनमा राखेका संक्रमितसँग एक दिनको २२ हजार

नर्भिक अस्पतालले लिन्छ कोभिड आइसोलेसनमा राखेका संक्रमितसँग एक दिनको २२ हजार

एक बिरामीबाट पीपीईका नाममा दैनिक १० हजार रूपैयाँ


काठमाडौं—थापाथलीस्थित नर्भिक इन्टरनेशल हस्पिटलले कोभिड—१९ का संक्रमित तथा शंकास्पद बिरामीसँग २४ घण्टाको २२ हजार रुपैयाँ लिने गरेको पाइएको छ । एक हप्ताअघिसम्म एक दिनको १२ हजार रुपैया लिने गरेको नर्भिकले सरकारले निजी अस्पताललाई पनि २० प्रतिशत बेड छुट्याएर कोभिड—१९ बिरामीको उपचार गर्न निर्देशन दिएपछि बेड चार्ज बढाएको हो ।

अस्पतालका कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंह कोभिड—१९ का बिरामीहरुको सुरक्षाका लागि पीपीईको शुल्क जोड्दा २२ हजार पुगेको बताए । ‘बेड शुल्क बढेको होइन्,’ उनले भने, ‘पीपीई चार्ज बढेको हो ।’ उनले विस्तृत के के सामाग्रीको बढेको हो भन्ने कुरा आफू बाहिर रहेका कारण भन्न नसक्ने बताए ।

नर्भिक अस्पतालले कोभिड बेड चार्ज भन्दैं ६ वटा क्याटागोरीमा बेडहरु वर्गीकरण गरेका छ । फिभर क्लिनिक वेड भनेर ६ हजार रुपैयाँ शुल्क तोकेको छ । त्यस्तै, सेमी कोभिड बेड भनेर ११ हजार रुपैयाँ शुल्क तोकिएको छ ।

नर्भिक अस्पताल तोकेको कोरोना बेडको शुल्क । जुन बिरामीका आफन्तहरुलाई उपब्ध गराइएको थियो ।

यस्तै, कोभिड स्वीट भनेर ३६ हजार रुपैयाँ शुल्क तोकिएको छ । कोभिड डिलक्स भनेर १८ हजार शुल्क तोकिएको छ । त्यस्तै, क्रिटिकल एसटिडी भनेर २२ हजार तोकिएको छ भने क्रिटिकल डिलक्स भनेर २७ हजार रुपैयाँ शुल्क तोकिएको छ ।

यसअघि कोभिड संक्रमित र शंकास्पद बिरामीलाई क्रिटिकल एसटीडीमा राखेर १२ हजार रुपैयाँमा प्रतिदिन सेवा दिइरहेको नर्भिक अस्पतालले एक हप्तादेखि पीपीई सेटको थप १० हजार रुपैयाँ भन्दैं २२ हजार रुपैयाँ लिन थालेको छ । नर्भिकको आइसोलेसनमा उपचार गराइरहेका एक कोभिड—१९ संक्रमितले हेल्थ आवाजसँग भने, ‘मलाई हिजो जुन तरिकाले उपचार भैरहेको थियो । आज पनि त्यही छ, तर दैनिक १० हजार रुपैयाँ शुल्क थपिदिएको छ ।’

पेटको उपचार गराउन १५ दिनअघि नर्भिक अस्पताल पुगेका एक बिरामीको कोरोना परीक्षण गर्दा पोजेटिभ आएपछि आइसोलेसन वार्डमा राखिएको थियो । सुरुमा उनीबाट क्रिटिकल एसटीडीमा राखेको दैनिक शुल्क १२ हजार रुपैयाँ लिइएको थियो । तर, सरकारले निजी अस्पतालमा समेत २० प्रतिशत बेड छुट्याएर कोरोना संक्रमितको उपचार गर्नुपर्ने निर्णयसँगै त्यसमा १० हजार शुल्क वृद्धि गरी दैनिक २२ हजार रुपैयाँ लिन थालेको हो ।

सरकारले कोभिड—१९ का लक्षणबिहीन बिरामीलाई घरमै बसे स्वास्थ्यकर्मी खर्च बापत दैनिक २ सय रुपैयाँ उपलब्ध गराउने भनेको छ । यदि अस्पतालमा भर्ना भए सामान्य लक्षण भएका र नभएकाको ३ हजार ५ सय रुपैयाँ शोध भर्ना गर्ने भनेको छ । अस्पताल उपचार गर्नुपर्ने अवस्था भएका बिरामीहरुका लागि दैनिक ७ हजार रुपैयाँ सरकारले शोध भर्ना गर्छ । संक्रमित भएर गम्भीर भएमा आईसीयु तथा भेन्टिलेटरमा उपचार गर्नुपर्ने बिरामीका लागि १५ हजार रुपैयाँ शोध भर्ना गर्ने सरकारको निर्णय छ ।

सरकारले गर्ने शोध भर्नाकै आधारमा निजी अस्पतालहरुले पनि शुल्क लिनुपर्ने मन्त्रालयका कोभिड इन्सिडेन्ट कमाण्ड सिष्टमका प्रमुख डा. गुणराज लोहनी बताउँछन् । ‘कोभिड उपचारमा निजी र सरकारीले छुट्टै शुल्क लिने भन्ने हुन्न्,’ डा. लोहनीले हेल्थआवाजसँग भने, ‘सरकारले तोकेअनुसार नै शुल्क लिनुपर्छ । बढी लिनेलाई कारवाही हुन्छ ।’

हेल्थ आवाजसँग सम्पर्कमा आएका नर्भिकमा उपचारमा गराइरहेका ती संक्रमित आफू सामान्य अवस्थामा रहेको बताए । ‘आजको दिनसम्म मलाई अक्सिजन पनि दिनु परेको छैन्,’ उनले भने, ‘रिपोर्ट पोजेटिभ आएको हुँदा अरु चेकजाँच पनि भएको छैन । किन २२ हजार रुपैयाँ लिइरहेको छ अच्चममा परेको छु ।’ काठमाडौं उपत्यका बाहिरबाट आएका ती बिरामीले आफूले सुरुमा सरकारी अस्पताल गएको तर बेड नपाएपछि नर्भिक आएको बताए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ