२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारडेङ्गी सङ्क्रमण भयावह बन्दै, दुई हप्तामै ६ हजार नयाँ सङ्क्रमित थपिए

डेङ्गी सङ्क्रमण भयावह बन्दै, दुई हप्तामै ६ हजार नयाँ सङ्क्रमित थपिए


काठमाडौं– डेङ्गीको सङ्क्रमण पछिल्लो समय भयावह बन्दै गएको पाइएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)काअनुसार दश महिनामा मुलुकभर डेङ्गी सङ्क्रमितको सङ्ख्या ३५ हजार नजिक पुगेको छ ।

शुक्रवार महाशाखाले सार्वजनिक गरेको रिपोर्टअनुसार सन् २०२३ जनावरीदेखि अक्टोबर ६ अर्थात् आजसम्म देशभर कुल सङ्क्रमितको सङ्ख्या ३४ हजार ९९१ पुगेको छ । यसअघि असोजको पहिलो सातामा देशभर कुल २८ हजार ८०३ जनामा डेङ्गी सङ्क्रमित थिए । उक्त रिपोर्ट अनुसार नेपालमा दुई हप्तामै ६ हजारको हाराहारीमा नयाँ सङ्क्रमित थपिएका छन् ।

डेङ्गीबाट सबैभन्दा बढी प्रभावित १० जिल्ला

सुनसरी जिल्ला सबैभन्दा बढी प्रभावित भएको महाशाखाले जनाएको छ । त्यस लगत्तै झापा, धादिङ, तनहुँ, मोरङ, कास्की, काठमाडौं, सङ्खुवासभा, कैलाली र धनकुटा रहेका छन् । जसमध्ये सबैभन्दा बढी प्रभावित जिल्ला सुनसरीमा मात्रै १६ हजार ६८जना सङ्क्रमित भएका छन् ।

त्यसै गरी ‘टप टेन’ मध्येको अर्को जिल्ला झापामा डेंङ्गी सङ्क्रमितको सङ्ख्या तीन हजार ५४९ पुगेको छ भने, धादिङमा ३ हजार ११८, तनहुँमा ३ हजार ११५, मोरङमा २ हजार २६९ रहेका छन् ।

डेंङ्गीका मूख्य लक्षणहरू

उच्च ज्वरो आउनु ।

जोर्नी र मांशपेशीहरू बेस्सरी दुख्नु ।

आँखाको गेडी दुख्नु ।

बेस्सरी टाउको दुख्नु ।

शरीरमा राता बिमिराहरू आउनु ।

वाकवाकी लाग्नु वा वान्ता हुनु ।

डेंङ्गी संक्रमण हुनबाट कसरी बच्ने ?

  • एडिज जातको लामखुट्टेले दिनको समयमा टोक्छ । त्यसमाथि पनि बिहान र साँझको समयमा टोक्ने सम्भावना बढी भएकोले सो समयमा थप सचेत हुने।
  • आफ्नो घर वरिपरि, कार्यस्थल र सार्वजनिक ठाँउहरूमा पानी जम्न नदिने।
  • पानी राख्ने भाँडालार्ई लामखुट्टे नछिर्ने गरि राम्ररी छोपेर राख्ने दिउँसो पनि लामखुट्टे भगाउने धूप बाल्ने र लामखुट्टेको टोकाईबाट बच्ने मलम लगाउने ।
  • घरको झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली हाल्ने ।
  • बिहान, दिउँसो, राती जुनसुकै बेला झुल लगाएर मात्र सुत्ने ।
  • पूरै शरिर ढाक्ने लुगा लगाउने।
  • पानी राख्ने भाँडाहरू जस्तै ट्यांकी, ड्रम, बाटा, बाल्टिन आदिलाई लामखुट्टे नछिर्ने गरी राम्ररी छोपेर राखौं ।
  • पानी जम्न सक्ने ठाउँमा पानी जम्न नदिन नियमित सफा गरौं ।
  • काम नलाग्ने र पानी भरिन सक्ने सामानहरू जस्तै बोतल, टायर, प्लास्टिकका बस्तुहरू पानी जम्न नमिल्ने गरि विसर्जन गर्ने ।
  • घर/ विधालयको अध्याँरा कुना–काप्चा, जस्तैः पर्दा पछाडी, खाटमुनि, शौचालय भित्र, डेस्क/बेन्च मुनि आदि जस्ता ठाउँहरुमा किटनाशक औषधि छर्कने गरौं ।
  • कम्तिमा हप्ताको एक पटक ऐर कुलर, पानी ट्यांकी, फूलदानी, गमलामा राखिएको प्लेटहरु राम्ररी सफा गरौं ।

क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ