२०८३ भदौ ३, बुधबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यमिर्गौला स्वास्थ्यका लागि किन आवश्यक छ पिसाबको नियमित परीक्षण

मिर्गौला स्वास्थ्यका लागि किन आवश्यक छ पिसाबको नियमित परीक्षण


हाम्रो शरीर एक आश्चर्यजनक यन्त्र हो, जसले निरन्तर विभिन्न रसायनिक क्रियाकलापहरू गरिरहेको हुन्छ । यी आन्तरिक क्रियाकलापहरूमार्फत उत्पादित फोहरमैला र अन्य अवशेषहरूलाई बाहिर फ्याँक्ने काम मिर्गौला (Kidney) ले गर्छ ।

मिर्गौलाले रगतलाई छानेर पिसाब को रूपमा शरीरबाट विकारहरू बाहिर पठाउँछ । यसरी बाहिरिने पिसाब सामान्य तरल पदार्थ मात्र होइन, यो त हाम्रो समग्र स्वास्थ्यको अवस्था बुझाउने एउटा महत्त्वपूर्ण दस्तावेज वा दर्पण हो ।

चिकित्सा विज्ञानमा स्वास्थ्य परीक्षणको आधारभूत तरिका मानिने पिसाबको नियमित परिक्षण  (Routine Urine Examination – Urine R/E) ले यही पिसाब को अध्ययन गरेर शरीरभित्रका धेरै लुकेका रहस्यहरू बाहिर ल्याउँछ ।

पिसाबको नियमित परिक्षण वा Urine Routine Examination (Urine R/E) भनेको के हो?

पिसाबको नियमित परीक्षण वा Urine Routine Examination (Urine R/E)  एउटा सामान्य, छिटो र सरल प्रयोगशाला परीक्षण (Laboratory test) हो । यस परीक्षणमा बिरामीको पिसाब को नमूना संकलन गरेर त्यसको भौतिक (Physical), रसायनिक (Chemical) र सूक्ष्मदर्शक यन्त्रद्वारा गरिने (Microscopic) परीक्षण गरिन्छ ।

सामान्यतया: पेट दुख्दा, पिसाब फेर्दा पोल्दा वा नियमित स्वास्थ्य जाँच (Routine check-up) का क्रममा चिकित्सकहरूले यो परीक्षण गराउने सल्लाह दिन्छन् । यसले मूत्रनलीको संक्रमण (UTI), मिर्गौलाको कार्यप्रणाली र शरीरका अन्य दीर्घरोगहरूको सुरुवाती संकेत दिन ठूलो मद्दत गर्छ।

Urine R/E का तीन प्रमुख चरणहरू

प्रयोगशालामा पिसाब को नमुना पुगेपछि त्यसलाई मुख्यतया तीन चरणमा विभाजन गरेर परीक्षण गरिन्छ:

१. भौतिक परीक्षण (Physical Examination)

यस चरणमा प्रयोगशालाका प्राविधिकले आँखाले हेरेर र साधारण तरिकाबाट पिसाब को बाहिरी गुणहरूको मूल्यांकन गर्छन्:

  • रंग (Color): सामान्य पिसाब को रंग हलुका पहेँलो(Light Yellow) वा कागतीको जस्तो सफा पहेँलो हुन्छ । तर, पानी कम पिउँदा यो गाढा पहेँलो हुन सक्छ भने कतिपय खानेकुरा, औषधि, कमलपित्त (Jaundice) आदि वा मिर्गौला अथवा मूत्रनलीमा चोटपटक, पत्थरी वा संक्रमण भएका  कारण पनि  यसको रंगमा फेरबदल आउन सक्छ ।
  • स्पष्टता वा पारदर्शिता (Appearance/Clarity): सामान्य पिसाब सफा र पारदर्शी हुन्छ । यदि पिसाब धमिलो आएको छ भने त्यसमा मिर्गौलाको पत्थरी, संक्रमण वा पिप उपस्थित भएको बुझ्न सकिन्छ ।
  • गन्ध (Odor): सामान्य पिसाब मा हल्का बास्नादार वा सामान्य गन्ध हुन्छ। कडा र अमोनियाजस्तो कुरुप गन्ध आएमा संक्रमणको संकेत हुन सक्छ ।
  • विशिष्ट गुरुत्व (Specific Gravity): यसले पिसाब कति बाक्लो वा पातलो छ भन्ने मापन गर्छ, जसले मिर्गौलाले पिसाबलाई सही तरिकाले छान्न वा पातलो बनाउन सकेको छ कि छैन भनी देखाउँछ ।

२. रसायनिक परीक्षण (Chemical Examination)

यो परीक्षण साधारणतया: पिसाब परीक्षण गर्ने विशेष स्ट्रिप (Dipstick) को सहायताले गरिन्छ । स्ट्रिपलाई पिसाब मा डुबाउँदा यसको रंग परिवर्तन हुन्छ र विभिन्न रासायनिक तत्त्वहरूको उपस्थिति पत्ता लाग्छ:

  • pH (अम्लीय वा क्षारीयपन): पिसाबको अम्लीय वा क्षारीयपन नाप्न यसको pH हेरिन्छ । सामान्य पिसाब को pH ४.५ देखि ८.० सम्म हुन्छ । यसको असन्तुलनले खानपान वा मूत्रनलीको संक्रमणतर्फ इङ्गित गर्छ।साथै रगत मा Acidosis वा Alkalosis भएको बुझाउछ ।
  • प्रोटीन वा अल्बुमिन (Protein/Albumin): सामान्य अवस्थामा पिसाब मा प्रोटीन देखिनु हुँदैन् । यदि पिसाब मा प्रोटीन भेटिएमा मिर्गौलाको छान्ने क्षमतामा ह्रास आएको बुझ्न सकिन्छ ।
  • ग्लुकोज (Glucose): स्वस्थ व्यक्तिको पिसाबमा चिनीको मात्रा शून्य हुनुपर्छ । पिसाब मा चिनी भेटिनु भनेको शरीरमा रगतमा चिनीको मात्रा अत्यधिक बढेको (मधुमेह) हुन सक्छ अथवा मिर्गौलाको काम गर्ने क्षमता घटेको (Renal Glucosuria due to a decreased Renal Threshold)हुन सक्छ ।
  • केटोन बडीज (Ketone Bodies): बोसोको मेटाबोलिजम बिग्रँदा वा अनियन्त्रित मधुमेह हुँदा पिसाब मा केटोन देखिन्छ ।
  • ब्लड वा हेमोग्लोबिन (Blood): पिसाबमा रगतको अंश पाइएमा मूत्रनलीमा चोटपटक, पत्थरी वा संक्रमण भएको आशंका गरिन्छ ।
  • बिलिरुबिन (Bilirubin & Urobilinogen): यसले कलेजो वा पित्तथैलीको अवस्था देखाउँछ ।
  • नाइट्राइट र ल्युकोसाइट एस्टेरेज (Nitrites & Leukocyte Esterase): यी दुई तत्त्व पिसाब मा ब्याक्टेरिया र सेतो रक्तकोष (पिप सेल) को उपस्थितिका दूत हुन्, जसले संक्रमणको प्रष्ट संकेत गर्छन् ।

३. सूक्ष्मदर्शकयन्त्रद्वारा परीक्षण (Microscopic Examination)

पिसाबलाई सेन्ट्रीफ्युज गरेर त्यसको पिंधमा जम्मा भएको लेदोलाई माइक्रोस्कोपमा राखेर हेरिन्छ:

  • पस सेल वा सेतो रक्तकोष (Pus Cells / WBCs): सामान्यतया: प्रति हाइपावर फिल्ड ० देखि ४ सम्म हुनुलाई सामान्य मानिन्छ ।  यदि यसको संख्या उच्च छ भने त्यहाँ संक्रमण छ भनिन्छ ।
  • रातो रक्तकोष (RBCs): सामान्यतया: पिसाब मा रातो रक्तकोष देखिनु हुँदैन वा १-२ वटा मात्र हुन्छन् । यसको बढी उपस्थिति गम्भीर समस्याको लक्षण हो ।
  • एपिथेलियल सेल (Epithelial Cells): मूत्रनलीका भित्री पत्रहरूबाट झरेका कोषहरू हुन् ।
  • कास्ट र क्रिस्टल (Casts and Crystals): क्रिस्टलहरूले मिर्गौलामा पत्थरी बन्ने जोखिम देखाउँछन् भने कास्टहरूले मिर्गौलाको नलिकीय रोगको संकेत गर्छन् ।
  • ब्याक्टेरिया वा यिस्ट (Bacteria/Yeast): पिसाबमा कीटाणुहरू छन् कि छैनन् भनी हेरिन्छ ।

 पिसाबको नियमित परीक्षण(Urine R/E) किन महत्त्वपूर्ण छ?

१. रोगको सुरुवाती पहिचान: धेरै मिर्गौला वा मूत्रसम्बन्धी रोगहरू सुरुमा कुनै लक्षण देखाउँदैनन् । साधारण परीक्षणबाट नै ठूला रोगहरूको पहिचान गर्न यो वरदान सावित हुन्छ ।

२. संक्रमणको निदान: पिसाब फेर्दा हुने पोलाइ, पेट वा कोखा दुख्ने समस्यामा संक्रमणको यकिन गर्न यो पहिलो खुड्किलो हो ।

३. सस्तो र सुलभ: अन्य महँगा स्क्यान र रगतका परीक्षणहरूको तुलनामा यो अत्यन्तै किफायती र सजिलै उपलब्ध हुने परीक्षण हो ।

४. गर्भावस्था र नियमित जाँच: गर्भवती महिलाहरूको स्वास्थ्य अवस्था र मधुमेहका बिरामीहरूको नियमित अनुगमन गर्न यो परीक्षण अनिवार्य गर्नुपर्छ ।

 निष्कर्ष

पिसाबको नियमित परीक्षण (Urine R/E) केवल एउटा साधारण ल्याब रिपोर्ट मात्र होइन, यो हाम्रो शरीरभित्रको स्वस्थताको मौन साक्षी  हो । समयमै यो परीक्षण गराएर नतिजाको सही व्याख्या गराउनु बुद्धिमानी हुन्छ । स्वस्थ जीवनशैली अपनाउन, प्रशस्त मात्रामा पानी पिउन र शरीरले दिएका ससाना संकेतहरूलाई बुझ्न यो परीक्षणले हामीलाई सचेत गराउँछ ।

तसर्थ, स्वास्थ्यमा कुनै पनि असाधारण परिवर्तन देखिएमा चिकित्सकको सल्लाह बमोजिम समयमै पिसाब जाँच गराउँदा अनावश्यक थप धनजनको क्षति हुनबाट जोगिनुका साथै रोगको सहि निदान र उपचारका लागि कम मुल्यमै अमुल्य मार्ग दर्शन प्राप्त हुने हुँदा पिसाबको नियमित परिक्षणलाई मिर्गौला र समग्र स्वास्थ्यको दर्पणका रुपमा लिन सकिन्छ ।

(ओझा प्रदेश जनस्वास्थ्य प्रयोगशाला सुदूरपश्चिम प्रदेशमा ल्याब टेक्निसियन निरीक्षक पदमा  कार्यरत छन्)


क्याटेगोरी : जनस्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ